टेक्सास गोलीकाण्ड : १९ बालबालिकासहित २१ जनाको हत्याअघि हजुरआमालाई समेत गोली हानेका थिए आक्रमणकारीले

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा एक १८ वर्षीय युवकले अन्धाधुन्द गोली प्रहार गरी १९ बालबालिका र २ कर्मचारीको हत्या गरेका छन्। युभाल्डे सहरको रब प्राथमिक विद्यालयमा उक्त घटना भएको हो। हत्यामा संलग्न साल्भाडोर रामोस नाम गरेका व्यक्तिसमेत प्रहरी कारबाहीमा मारिएका छन्।

मारिने बालबालिकाहरु ५ देखि ११ वर्ष उमेरका रहेको बताइएको छ। उनीहरु अधिकांश २, ३ र ४ कक्षाका विद्यार्थी थिए।

स्थानीय समयअनुसार मंगलबार बिहान गोलीबारी सुरु हुँदा अमेरिकी सीमा गस्तीका सुरक्षाकर्मी घटनास्थलमै थिए। उनीहरु तत्काल विद्यालय पुगेर कारबाही गर्दै आक्रमणकारीलाई मारेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी युभाल्डे हाइस्कुलका विद्यार्थी थिए। उनले सैनिक ग्रेडका दुई राइफल किनेर स्कुल आउनुअघि आफ्नै हजुरआमामाथि गोली प्रहार गरेका थिए। हजुरआमाको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

हजुरआमालाई गोली प्रहार गरेपछि साल्भाडोरले ब्यारियर तोड्दै कार स्कुलमा प्रवेश गराएपछि बुलेटप्रुफ ज्याकेट लगाएर कक्षाकोठामा गएका थिए।

सन् २०१२ पछि विद्यालयमा भएको गोलीकाण्डपछिको यो भयानक हत्याकाण्ड भएको बताइएको छ। २०१२ मा कनेक्टिकटको स्याण्डी हुक प्राथमिक विद्यालयमा भएको आक्रमणमा २० बालबालिका र ६ कर्मचारी मारिएका थिए।

आक्रमण बिहान साढे ११ बजे सुरु भएको थियो । अधिकारीहरुले आक्रमणमा साल्भाडोर एक्लै संलग्न भएको बताएका छन्। उक्त स्कुलमा ५ सय बालबालिका पढ्थे। युभाल्डे मेमोरियल अस्पतालले आफ्नो फेसबुक पेजमा जनाएअनुसार एम्बुलेन्स तथा बसमार्फत् अस्पतालमा १३ बालबालिकालाई पुर्‍याइएको थियो।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

बाइडेनले अब हतियारसम्बन्धी कानुन बदल्ने बेला आइसकेको बताएका छन्। घटनाको निन्दा गर्दै उनले हतियारसम्बन्धी नयाँ कानुनलाई अवरोध गर्नेहरूलाई जवाफ दिनेबेला भएको पनि बताए।

‘हामीले यस्तो किन हुन दिइरहेका छौं। अब यो पीडालाई हामीले शक्तिमा बदल्नेबेला भइसकेको छ। हरेक आमाबुवाका लागि अनि यो देशका हरेक नागरिकका लागि’ उनले भनेका छन् ‘यो देशका लागि हामीले चुनेका हरेक नेतृत्वले अब सोच्ने बेला भइसकेको छ कि अब कदम चाल्ने बेला भइसक्यो।’

 



Leave a Reply

Your email address will not be published.