के-के समेटिए नीति तथा कार्यक्रममा स्वास्थ्यका कुरा?[पूर्णपाठसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं-सरकारले ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त घाेषणा गरिएकाे हाे।

नेपालमा हालसम्म कुल जनसंख्याको ७६ दशमलव ६ प्रतिशतले कम्तीमा एक र ६७ दशमलव ७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

यस्तै सरकारले ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक आधारभूत स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने भएको छ। रक्तचाप, पिसाब, अल्बुमिन, सुगर लगायतका जाँचसहित महिलामा हुने पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिने भएकाे छ। ईएचआर भनिने याे प्रणाली लागू भएपछि बिरामीले कागजपत्र बोकेर विभिन्न स्थानमा भौतारिइरहनु पर्नेछैन।

यस्तै सरकारी अस्पतालहरुमा जडित इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइने घाेषणाा पनि गरिएकाे छ।

प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज तथा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति पनि सरकारले लिएको छ। सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गरिनेछ। चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताको आधारमा विद्यार्थी संख्या वृद्धि गर्ने सरकारको नीति रहेकाे पनि राष्ट्रपति भण्डारीले बताइन्।

यस्तै उपचारको क्रममा अस्पतालमा हुने मृत्युको अभिलेख अनिवार्य रुपमा राख्ने व्यवस्था गरिने भएको छ। राष्ट्रपति भण्डारीले भनिन्, ‘औषधि उपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइनेछ।’



Leave a Reply

Your email address will not be published.