भ्रष्टाचारको आरोपमा पञ्जाबका स्वास्थ्यमन्त्री बर्खास्त, एसीबीद्वारा पक्राउ

काठमाडौं–भ्रष्टाचारको आरोपमा पञ्जाबका स्वास्थ्यमन्त्री बर्खास्त भएका छन्। मन्त्री विजय सिंगलालाई मंगलबार मुख्यमन्त्री भगवन्त मानले बर्खास्त गरेका हुन्। उनको बर्खास्तीपछि भ्रष्टाचारविरुद्धको निकाय एन्टिकरप्सन ब्युरो (एसीबी) ले सिंगलालाई गिरफ्तार गरेको छ।
सिंगलामाथि ठेक्कामा एक प्रतिशत कमिसन मागेको र भ्रष्टाचारमा संलग्न भएको आरोप छ। भ्रष्टाचार गरेको प्रमाण प्राप्त भएपछि मुख्यमन्त्री मानले उनलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्रीले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘आम आदमी पार्टीको जन्म इमान्दार प्रणाली कायम राख्न भएको हो। अरविन्द केजरीवालले सधैं भ्रष्टाचार सह्य नभएको बताउने गरेका छन्, चाहे त्यो आफ्नो होस् या पराई। स्वास्थ्यमन्त्रीविरुद्ध भ्रष्टाचारको प्रमाण प्राप्त हुनेबित्तिकै तत्काल बर्खास्त गरिएको छ। साथै एफआइआरको पनि आदेश दिइएको छ।’
केजरीवालले पनि भगवन्तको कदमको सराहना गर्दै गर्धन काटिए पनि देशसँग गद्दारी नगर्ने कुरा आम आदमी पार्टीले प्रमाणित गरेको टिप्पणी गरेका छन्।