नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकतामा स्वास्थ्य : कहाँ, के निर्णय भए?

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुले कार्यभार सम्हालेपछि आफ्नो पहिलो निर्णयमा स्वास्थ्यका विषयलाई समेटेका छन्। एम्बुलेन्स तथा शववाहनको व्यवस्था, अस्पताल निर्माण, सुत्केरी तथा गर्भवतीकेन्द्रित कार्यक्रम, उपचार खर्च, स्वास्थ्य बिमालगायतका विषयमा उनीहरुले निर्णय गरेका हुन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका– सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण सामग्रीसहित सुत्केरी भेटघाट कार्यक्रमलाई प्राथमिकता, सुत्केरी अवस्थामा अधिकांश महिलाको पोसिलो खाना र स्वास्थ्यमा उचित ध्यान नपुग्दा शिशु र आमाको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै सुत्केरी महिलालाई पोषणयुक्त खानाका लागि प्रेरित गर्न नगद नभई पोषण सामग्रीसहित भेटघाट कार्यक्रम सञ्चालन गरिने।

ललितपुरको बागमती गाउँपालिका–सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी स्याहार बापत रु दुई हजार दिइने।

ललितपुरको कोञ्ज्येसोम गाउँपालिका–ज्येष्ठ नागरिक, असहाय र सुत्केरी महिलालाई निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराइने।

लमजुङको सुन्दरबजार नगरपालिका–नगरपालिकामा रहेका दुई वटा नगरबसमध्ये एउटा बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिने।

कास्कीको मादी गाउँपालिका–जटिल रोगका बिरामीहरूलाई उपचार खर्च २० हजारका दरले दिइने। आर्थिक अवस्था कमजोर भएका मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी तथा सिकलसेल एनिमिया, कडा मानसिक रोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई दीर्घ रोगको पहिचान भएको डाक्टरको सिफारिसकाआधारमा एक पटकका लागि २० हजार उपलब्ध गराइने। पालिकाभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी तथा सुत्केरी महिलाको लागि पालिकाबाट संचालित एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय। पालिकाभित्रका ज्येष्ठ नगारिक र अपांगता भएका नागरिकको पहिचान गर्न क्यूआर कोडसहितको परिचयपत्र वितरण गरिने।

हेटौंडा उपमहानगरपालिका–हेटौंडाका १ हजार ५४१ अति विपन्न घर परिवारलाई निस्शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय।

कास्कीको अन्नपूर्ण गाउँपालिका–पालिकाभरिका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिने।

जुम्लाको सिंजा गाउँपालिका–घरमै हुने सुत्केरी दर शून्यमा झार्ने लक्ष्य, सबै शिशु सुरक्षित बर्थिङ सेन्टरमा जन्माउन प्रोत्साहन गर्ने।

गुल्मीको चन्द्रकोट गाउँपालिका–विपन्न नागरिकका लागि स्वास्थ्य बिमामा ५० प्रतिशत छुट दिने निर्णय। पालिकामै प्रसूति हुन नसक्नेलाई पालिका बाहिर लैजानुपरेमा त्यसको यातायात खर्च दिइने।

गुल्मीको छत्रकोट गाउँपालिका–वडा नम्बर ४ मा रहेको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर ५ खज्र्याङको लागि दुई वटा एम्बुलेन्स खरिद गरिने।

गुल्मीको मदाने गाउँपालिका–पालिकाभित्रको एक जना बिरामीका लागि कार्यविधिअनुसारको आर्थिक सहयोग गर्ने निर्णय।

कैलालीको लम्कीचुहा नगरपालिका–छोरी जन्माउने आमालाई रु दुई हजार प्रोत्साहन भत्ता दिने निर्णय।

कैलालीको भजनी नगरपालिका–भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय।

कञ्चनपुरको बेलौरी नगरपालिका–नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने।

स्याङ्जाको पुतलीबजार नगरपालिका–सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गरिने। स्याङ्जा जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तार र ‘ब्लड बैंक’ स्थापनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय। डायलासिस सेवालाई विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधार निर्माण गरिने। जिल्ला अस्पतालमा हाल नियमितरुपमा १२ मिर्गौलाका बिरामीलाई डायलासिस गरिँदै आएकामा त्यसलाई विस्तार गरी ४५ जनालाई सेवा उपलब्ध गराउने गरी आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरिने।

गोरखाको सहिद लखन गाउँपालिका–बैंकसँगको सहकार्यमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने।

 



Leave a Reply

Your email address will not be published.