कोरोनाको दीर्घकालीन प्रभाव : लाखौं मानिसमा हुनसक्नेछ पार्किन्सन्स

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोना संकटले पार्ने दीर्घकालीन प्रभावका बारेमा विज्ञहरुले अनुसन्धान गरिरहेका छन्। यसबारे हालै थोमस जेफर्सन विश्वविद्यालय र न्युयोर्क विश्वविद्यालयका वैज्ञानिकहरुले पनि अध्ययन गरेका छन्। उक्त अध्ययनमा अबका केही वर्ष लाखौं मानिसमा पार्किन्सन्स रोग हुनसक्ने देखिएको उल्लेख छ।

रिपोर्टका अनुसार सन् १९१८ मा पनि स्पेनिस फ्लु महामारीको केही वर्षपछि विश्वमा पार्किन्सन्स रोगका व्यापक वृद्धि देखिएको थियो।

त्यतिबेला पार्किन्सन्स रोग तीन गुणा बढेको तथ्यांक छ। यसका साथै जापानी इन्सेफलाइटिसदेखि लिएर एचआइभीसम्मका अन्य भाइरल संक्रमणलाई पनि पार्किन्सन्ससँग जोडिएको थियो। सन् २०२० मा कोरोना भाइरस महामारी सुरु भएका बेलामा पनि वैज्ञानिकहरुले भविष्यमा न्युरोडिजेनेरेटिभ रोग बढ्ने चेतावनी दिएका थिए।यसैले कोरोना महामारीपछि लाखौं मानिसमा पार्किन्सन्स हुनसक्ने अनुमान गरिएको छ।

अध्ययनका लेखक रिचर्ड स्माइनका अनुसार एक भाइरल संक्रमण सिधै न्यूरोडिजेनेरेटिभ रोगको कारण बन्दैन। तर यो मस्तिष्कको अन्य जोखिम कारकप्रति बढी संवेदनशील बन्छ र रोग बढाउनसक्छ। यसैले पार्किन्सन्सका लागि यसलाई एक ‘मल्टी हिट’ का रुपमा देखिएको हो, जसले लामो समयसम्म मानिसलाई प्रभावित बनाउने रोगको कारक बन्छ।

अध्ययनका अनुसार भाइरसले सिधै मानिसको न्यूरोन्सलाई हानी पुर्‍याउँदैन। तर यो अरु रोगका लागि बढी संवेदनशील बन्छ। अध्ययनका क्रममा कोरोना भाइरसको सम्पर्कमा आएका केही जनावरमा अध्ययन गरिएको थियो, जसमा न्युरोनको क्षतिको एक ‘प्याट्रन’ लाई पनि हेरियो। यही न्युरोन क्षतिका कारण मानिसमा पार्किन्सन्सजस्ता रोग देखिएको पाइयो।

यसका अलावा केही वैज्ञानिकले मानव मस्तिष्कमा सार्स कोभ–२ को संकेत पाए। तर यो ब्रेन स्मोग हो या कोभिड १९ सँग सम्बन्धित संज्ञानात्मक गिरावटजस्ता विषयका कारण हुन् भनेर स्पष्ट छैन। वैज्ञानिकहरुले कोरोना भाइरससंक्रमित मुसामा ‘माइक्रोग्लिया’ को बढी मात्रा भएको पाएका थिए। यो एक प्रकारको मस्तिष्क प्रतिरक्षा कोशिका हो, जो असामान्य रुपमा सक्रिय हुँदा मस्तिष्कलाई हानी पुर्‍याउँछ। त्यसैले कोरोना समाप्त भए पनि यसले दीर्घकालीन रुपमा असर पुर्‍याउनसक्ने देखिएको छ।

 



Leave a Reply

Your email address will not be published.