श्रीलंकालाई भारत र जापानको औषधि सहयोग, पारासिटामोल र एन्टिबायोटिक्ससमेत छैन बजारमा

हेल्थपोस्ट नेपाल

काठमाडौं–आर्थिक संकटका कारण औषधि अभाव भएपछि श्रीलंकालाई भारत र जापानले औषधिलगायतका सामग्री सहयोग गरेका छन्।

जापानले आपतकालीन सहयोगअन्तर्गत युनिसेफमार्फत् औषधिका लागि १५ लाख डलर सहयोग गरेको छ। उक्त रकम तत्काल औषधि आवश्यक भएका १ लाख २२ हजार बालबालिका र ५३ हजार गर्भवतीसहित १२ लाख मानिसका लागि औषधि किन्न उपयोग गरिने बताइएको छ।

यसका साथै स्वास्थ्य मन्त्रालयको समन्वयमा औषधिहरु स्वास्थ्य केन्द्रमा वितरण गरिनेछ। विशेषगरी यो रकमले तत्काल आवश्यक परेका २५ प्रकारका औषधि खरिद गरिनेछ।

आर्थिक संकटले संवेदनशील मानिएको स्वास्थ्य क्षेत्र बढी प्रभावित भएको छ। स्वास्थ्य मन्त्रालयक अधिकारीहरुले बालबालिका र गर्भवतीका लागि अत्यावश्यक औषधिको स्टक २ महिनामा सकिने बताइसकेका छन्।

यस्तै, भारतले पनि २ अर्ब बराबरका औषधि, चामल, दुध पाउडरलगायतका सामग्री सहयोग गरेको छ। ९ हजार टन चामल, २ सय टन दुध पाउडर र २४ टन अत्यावश्यक औषधि तमिलनाडुबाट जहाजमार्फत् कोलम्बो पठाइएको हो।

श्रीलंकामा अहिले औषधि अभावमा फार्मेसीहरु रित्तिन थालेका छन् भने बिरामी तथा आफन्तहरु रित्तै हात फर्कन बाध्य भइरहेका छन्।

स्थानीय एक फार्मेसी सञ्चालकले पारासिटामोल, एन्टिबायोटिक्स र मुटुका औषधिहरु अभाव भएको बताए। औषधि अभावमा महत्वपूर्ण शल्यक्रियासमेत रोकिएका छन् भने पाइने औषधि पनि चर्को मूल्यमा किन्नुपर्ने बाध्यता छ। सामान्य औषधि किन्न पनि लामो यात्रा तय गर्नुपर्ने अवस्था रहेको बताइन्छ।



Leave a Reply

Your email address will not be published.