गुल्मीको चन्द्रकोट तथा छत्रकोट गाउँपालिकाको निर्णय: स्वास्थ्य बिमामा छुटदेखि एम्बुलेन्स खरिदसम्म

हेल्थपोस्ट नेपाल

गुल्मी–गुल्मीको चन्द्रकोट तथा छत्रकोट गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीले स्वास्थ्य बिमामा ५० प्रतिशतसम्म छुट दिनेदेखि एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णय गरेका छन्।

चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकका लागि स्वास्थ्य बिमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । आर्थिक विपन्नताकै कारणले नागरिकले स्वास्थ्य बिमा गर्न नसकेकाले छुट दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिए। चन्द्रकोटले पालिकामै प्रसूति हुन नसक्ने गम्भीर प्रकारका बिरामीलाई पालिका बाहिर लैजानुपरेमा त्यसको यातायात खर्च दिने निर्णय गरिएको छ। अस्पतालले रिफर गरेको कागजपत्रका आधारमा आवश्यक यातायात खर्च दिने निर्णय गरिएको अध्यक्ष खत्रीले जानकारी दिए।

छत्रकोट गाउँपालिकाले वडा नम्बर ४ मा रहेको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर ५ खज्र्याङको लागि दुई वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ। अहिले एउटा पुरानो एम्बुलेन्स भएको र त्यो पर्याप्त नभएकाले नयाँ एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए। त्यस्तै नागरिकको सेवा सहजताका लागि पालिकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ।

मालिका गाउँपालिकाले वृद्ध, अपाङ्ग र अशक्तको लागि टोल–टोलमा सामाजिक भत्ता वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलले जानकारी दिए।

मदाने गाउँपालिकाले पालिकाभित्रको एक जना बिरामीका लागि कार्यविधिअनुसारको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।



Leave a Reply

Your email address will not be published.