अस्पतालबाट डिस्चार्ज भएपछि दीपकराज जोशीले भने–अब दमौली फर्कन्छु, मलाई ढुंगा हान्नेहरुका लागि वृद्धाश्रम बनाउनुछ

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्थानीय तह निर्वाचनका दिन तनहुँमा आक्रमणबाट घाइते भएका व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। ढुंगा प्रहारबाट टाउकोमा चोट लागी घाइते भएका उनलाई तत्काल दमौली अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौंको फ्रन्टलाइन अस्पताल ल्याइएको थियो। एक साताको उपचारपछि उनी डिस्चार्ज भएका हुन्।

डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जालमा यस्तो लेखे–
स्वास्थ्यमा क्रमिक सुधार आए पनि केही नेपालमा नहुने परीक्षणको रिपोर्टहरु भारतबाट आउन बाँकी छ। आज फ्रन्टलाइन अस्पतालबाट झन्डै एक हप्ताको बसाईपछि १ हप्ताको होम रेस्टका लागि डिस्चार्ज भइयो। केही दिन काठमाडौंमा रेस्ट गरेपछि दमौली फर्कने छु। व्यासमा धरै काम गर्नु पर्ने छ। फेरि अरू कसैको हत्याको प्रयास नहुने सुन्दर शान्त व्यास बनाउनु छ। मलाई टाउकोमा ढुंगा हान्नेहरु पनि एकदिन वृद्ध हुनेछन्। उनीहरूका लागि एउटा राम्रो वृद्धाश्रम बनाउनुपर्नेछ। मारपीट र ढुङ्गा हान्नेका छोरा नातिका लागि राम्रो स्कूल बनाउनुपर्नेछ। बिरामीलाई उपचारका लागि पोखरा, काठमाडौँ दौडाउन नपर्ने वातावरण बनाउनु छ। व्यास नगरपालिकाभित्र चौबिसै घण्टा सुरक्षित हिँडडुल गर्न सक्ने त्रास मुक्त शान्त वातावरण सृजना गर्नु छ।

अस्पतालमा मलाई रेखदेख गर्ने सबै डाक्टर, नर्स, सहयोगी र व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु। म अस्पतालमा रहँदा भेट्न आउनु हुने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

संसारमा सबैभन्दा ठूलो मानवीयता हो। त्यसैले यस्तो समाजको सृजना गरौं जहाँ रिस(राग, काम, क्रोध, घृणा, छटपटी, भ्रम र लोभ नरहोस्, भए पनि हटोस्। मनमा आउने सबै नकारात्मक कारणले गर्दा हामीहरूले सत्यलाई बिस्तारै छोड्दै छौ। एउटा कुरा सदैव मनमा राख्नु होस्। सत्यबाट प्राप्त हुने खुसी स्थायी हुन्छ र असत्यबाट प्राप्त हुने आनन्द क्षणिक हुन्छ।

जीवनमा जित, हार, सुख, दुःख, हाँसो, रुवाई सबै हुन्छ तर सबै भन्दा महत्वपूर्ण कुरा कसैको मन नदुखाउनु होला।बाँचुन्जेल तन, मन , वचन लाई शुद्ध बनाउनु होस्। मन वचन कर्मले कसैलाई पनि दुःख नदिनुहोस्।



Leave a Reply

Your email address will not be published.