‘मङकीपक्स’ भाइरस फैलिएपछि अमेरिका तथा युरोपमा अलर्ट जारी, कति खतरनाक हो यो?

हेल्थपोस्ट नेपाल

काठमाडौं–‘मङकीपक्स’ भाइरसको संक्रमण फेला परेपछि अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, अस्ट्रेलियालगायतका मुलुकमा ‘अलर्ट’ जारी गरिएको छ। गत साता युरोप तथा उत्तरी अमेरिकाका केही मुलुकमा मङकीपक्स भाइरसका संक्रमित फेला परेका थिए। कोरोना महामारी जारी रहेको अवस्थामा यो भाइरसको पनि महामारी फैलने आशंका वैज्ञानिकहरुले गरेका छन्।

यो भाइरसलाई हालसम्म पश्चिमी अफ्रिकाका केही क्षेत्रमा ‘इण्डेमिक’ को रुपमा लिइने गरिएको थियो। अब अन्य मुलुकमा समेत यसका संक्रमितहरु भेटिन थालेपछि अलर्ट जारी गर्न थालिएको हो।

सुरुमा अफ्रिका भ्रमणबाट फर्किएकाहरुमा यो भाइरस देखा परेको थियो। तर पछिल्लो समय अफ्रिका नगएका मानिसमा पनि संक्रमण देखा परेको जनाइएको छ। यद्यपि स्वास्थ्य अधिकारीहरुले यसको खतरा कम नै रहेको बताएका छन्।

कोरोना भाइरसको महामारी फैलिइरहेकै बेला ‘ब्ल्याक फंगस’ र ‘एमआइएस–सी’ जस्ता रोग फैलिएका कारण यो भाइरस पनि फैलने चिन्ता व्यक्त गरिएको हो।

गत मंगलबारको प्रेस ब्रिफिङमा डब्लुएचओका अधिकारीहरुले यो भाइरस आफ्नो ‘राडार’ मा रहेको र यसप्रति निकै सतर्क रहेको जनाएका थिए। आगामी दिनमा यो भाइरस पनि महामारीको कारक बन्न सक्ने डब्लुएचओकी मारिया वान केरखोवकाे भनाइ छ। यो भाइरस यौनजन्य सम्पर्कमार्फत् फैलिन सक्ने बताइएको छ।

हाल बेलायतमा यो भाइरसबाट प्रभावितको संख्या ७ रहेको जनाइएको छ। बेलायतमा गत ७ मेमा पहिलोपटक नाइजेरियाबाट फर्केका व्यक्तिमा मंकीपक्स रहेको पुष्टि स्वास्थ्य अधिकारीहरुले गरेका थिए। बेलायतको स्वास्थ्य सुरक्षा निकायले मंकीपक्सका बिरामीहरु बढ्दै जाँदा समलैंगिक र यौन सम्बन्ध राख्ने समलिंगी समुदायलाई सचेत गराएको छ। निकायले यदि आफू र आफ्नो यौन साथीको शरीरमा अस्वाभाविक रुपमा रातो धब्बा देखिएमा तत्काल चिकित्सकको सम्पर्कमा जान आग्रह गरेको छ।

के हुन् लक्षण?
पहिलोपटक सन् १९५८मा पत्ता लगाइएको यो रोग एक खालको जुनोसिस अर्थात् जनावरबाट सर्ने भाइरसका कारण हुने संक्रमण हो। यो अफ्रिकाका जंगली जनावरमार्फत् मानिसमा सरेको थियो।

कुनै संक्रमित जनावरले टोक्दा, उसको रगत या शरीरको तरल पदार्थलाई छुँदा या संक्रमित जनावरको मासु खाँदा यो संक्रमण हुने बताइएको छ। सामान्य यो रोगमा ज्वरो, शरीरमा डाबरहरु देखिने, लिम्फ नोड्स सुन्निने, टाउको दुख्ने, थकावट हुनेजस्ता लक्षण देखापर्छन्। यद्यपि संक्रमित भएको १४ देखि २१ दिनमा यो आफैं ठीक हुने बताइन्छ। तर घाउ चिलाउने वा दुख्ने भने भइरहन सक्छ। यो भाइरस संक्रमितसंँगको सम्पर्कबाट घाउ, श्वास तथा आँखा, नाक र मुखमार्फत् शरीरमा प्रवेश गर्नसक्छ।

यसअघि सन् २०२१ मा अमेरिकामा दुई जनामा यो संक्रमण देखिएको थियो भने सन् २०१७ को सेम्टेम्बरदेखि २०२२ को अप्रिलसम्म पश्चिमी अफ्रिकी मुलुकमा ५५८ संदिग्ध बिरामी देखिएका थिए। जसमा २४१ जनामा संक्रमण पुष्टि भएको थियो भने ८ जनाको मृत्यु भएको थियो।



Leave a Reply

Your email address will not be published.