अमेरिकामा डा. कोइरालाको प्रण–’सातै प्रदेशमा बाल अस्पताल बनाएरै छाड्छु’

क्यालिफोर्निया राज्यको हेवर्डस्थित एउटा मध्यम आकारको हलका सबै कुर्सी भरिभराउ छन्। विदेशी भूमिमा नेपालीत्वले बाँधेर उपस्थित भएका विभिन्न पृष्ठभूमिका सहभागीका जिज्ञासासँग जोडिनु थियो डा भगवान कोइरालालाई।

कार्यक्रम सञ्चालकले कोइरालाको सामाजिक र सफल व्यवस्थापकीय नेतृत्वको पृष्ठभूमिसहित अग्रभागमा बोलाए र हातमा माइक थमाए। कक्षाकोठा, क्यामेरा वा ठूलो हल उनका लागि नौलो थिएन। ‘आइ एम रियल्ली एक्साइटेड एण्ड लिटल नर्भस’, उनले भने, ‘मैले हजारौं कार्यक्रममा प्रस्तुतिकरण दिएँ, तर फरक उद्देश्यका लागि यो ढाँचाको कार्यक्रममा प्रस्तुति दिएको पहिलो पटक हो।’

बन्द छालाजुत्ता कारखानाकाे खण्डहरमा मुटुरोग अस्पतालको सपनालाई वास्तविकतामा परिणत गरेर नाम कमाएका कोइरालाले सरकारी अवकासको संघारमा बहुविशिष्टिकृत बाल अस्पताल स्थापनाको घोषणा गरेका छन्।

सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा बहुविशिष्टिकृत बाल अस्पताल बनाउन कति खर्च लाग्ला भन्नेसमेत यकिन छैन।

त्यसका लागि जग्गाको उपलब्धता, अन्य आवश्यकता र परिस्थितिले निर्धारण गर्नेछ । तर पनि कसरी र कहाँबाट काम सुरु गर्ने भन्नेमा कुनै सन्देह छैन।

झट्ट हेर्दा निकै महत्वाकांक्षी लाग्ने परियोजनामा सहयोग जुटाउन डा. कोइराला अमेरिका भ्रमणमा छन्।

नेपाली समुदायको बाहुल्यता रहेको १२ भन्दा बढी अमेरिकी राज्यमा पुगेर उनले बाल अस्पतालको सपनाबारे अमेरिकामा बसोबास गर्ने नेपालीलाई बताउनेछन् र साथ माग्नेछन्। क्यालिफोर्नियामा अभियानको पहिलो कार्यक्रम थियो।

प्रस्तुतिकरणको मध्यतिरै डा. कोइरालाले बाल अस्पताल निर्माण परियोजनालाई लिएर व्यक्त गरिने संशय एवं प्रश्नबारे प्रसंग उप्काए।

सायद, ती प्रश्नको जवाफविना अभियानबारेको प्रस्तुतिकरण अपूरो नहोस् भन्नेमा उनी सचेत थिए।

डा. कोइरालाले सबैभन्दा बढी मानिसहरुले आफूलाई यो काम किन सरकारी तहबाट नगरेको भनेर प्रश्न उठाएको बताए।

आफ्ने अधिकांश व्यावसायिक करिअर सरकारीमै बिताएका कोइरालालाई सरकारी प्रणालीमात्रै खराब छ भनि आरोप लगाउनु कठीन काम थियो।

उनले घुमाउरो तरिकाले सरकारी सिस्टममा बसेर काम गर्दा सधँ नचाहेका र नसोचेका झन्झट व्यहोर्नुपर्ने बताए।

‘आठ वर्ष गंगालाल हृदय केन्द्रको नेतृत्व गरेँ, त्यसपछि मनमोहन कार्डियो सेन्टर बनायौं’ उनले भने, ‘म अहिले पनि सरकारीमै काम गर्छु, तर म जुन उमेरसम्म सक्रिय रहनसक्छु र चाहन्छु, त्यो समयसम्म त सरकारीमा काम गर्न मिल्दैन’

सरकारीमा काम गर्दा सरकारी मोडलमा नेतृत्वको निरन्तरता अभाव, राजनीतिक हस्तक्षेपलगायतका थुप्रै सीमितता रहेको समेत खुलाए।

ती कुराबाट सिकेर स्थायी नेतृत्व, राजनीतिक हस्पक्षेपमुक्त हुनेगरी गैरनाफामूलक र कामयावी मोडलको परिकल्पना गरेको उनले बताए।

‘यो सरकारसँगको सहकार्यमा सरकारकै कामलाई सघाउने अभियान हो, न कि सरकारसँग प्रतिस्पर्धा’ डा. कोइरालाले भने, ‘सरकारका थुप्रै र भिन्न प्राथमिकता छन्। नेतृत्वमा बसेको मान्छे चार वर्ष कुहिरोको कागजसरी घुमेर, कुनै इम्प्याक्ट र लिगेसीविनै हिड्नुपर्छ’

यति भनिरहँदा उनले फरक कालमा सुरुदेखि नै साख जोगाएर काम गरिरहेको संस्था गंगालाल हृदय केन्द्र भएको भन्दै त्यसको एउटा अंग हुनुमा गर्व महसुस हुने बताए। उनले पटक–पटक गंगालाल आज पनि राम्रो सेवा दिने बेरुजुशून्य संस्थाको रुपमा रहेको भन्दै प्रशंसा गरे।

बाल अस्पताल अभियानबारेका छलफलमा यो परियोजना पनि धुर्मुस—सुन्तलीले निर्माण सुरुवात गरेको क्रिकेट रंगशालाजस्तै अलपत्र पर्ने हो कि ! भनेर संशय व्यक्त गरिने गरेको कोइराला आफँैले स्विकारे।

‘धुर्मुस–सुन्तली! सबैले त्यही भनिरहनुभएको छ,’ उनले थपे, ‘म उनीहरुलाई राम्रोसँग चिन्छु, भेटेको छु, उनीहरुको उद्देश्य पवित्र थियो, नियत राम्रो थियो, सायद रणनीति कमजाेर भयो, लक्ष्य र क्याल्कुलेसन गलत भयो।’

कतिपय सहभागीले सातै प्रदेशमा अस्पताल बनाउँन, साधनस्रोत समय धेरै लाग्ने भन्दै अवकासपछिको जीवनमा सक्रियता र निरन्तरामा पनि संशय जनाएका थिए। जवाफमा कोइरालाले जीवनमा लामो आयुका लागि पनि केही गरिरहनुपर्ने भन्दै शरिरले सक्दासम्म अस्पतालकै लागि काम गर्ने र परियोजना सफल पारेरै छाड्ने प्रण गरे।

उनले अस्पताल निर्माण विशिष्ट प्रकारको काम भएकाले सेवा दिन थालेसँगै कमाउन थाल्ने र सञ्चालनमा कठिनाइ नभई दीगो हुने कोइरालाको भनाइ थियो।

‘नसक्नेलाई निःशुल्क सेवा दिने र तिर्नसक्नेसँग लिने हो,’ उनले थपे, ‘तिर्दा पनि यो कुनै सरकारी अस्पतालको सेवाभन्दा महंगो हुन्न।’

उनले सेवा निरन्तरताका लागि सरकारी तहमा स्वास्थ्य बिमा, अन्य निःशुल्क स्वास्थ्य सेवाअन्तर्गतका सहुलियत कार्यक्रम पनि जोडिने भएकाले सहज हुने विश्वास लिए।

अन्तरक्रियात्मक सत्रमा थुपै सहभागीले परियोजनाको दीगोपन, स्रोत परिचालन, व्यवस्थापकीय पक्षका सन्दर्भमा प्रश्न उठाएका थिए।

बालबालिका वयस्क होइनन्, विशेषज्ञ र तालिमप्राप्त जनशक्तिबाट विशिष्टिकृत सेवा दिनुपर्छ

२ दशकभन्दा लामो समय मुटु सर्जनको रुपमा काम गरेका कोइरालाले फेरि बाल स्वास्थ्यका क्षेत्रमा यति ठूलो काम थालेर किन जोखिम लिएको भन्ने प्रश्न सहभागीले उठाएका थिए।

जवाफमा उनले बाल स्वास्थ्यमा काम गर्ने आफ्नो सपना १९९३ देखिकै भएको भन्दै आफूले करिअरको आधाभन्दा बढी मुटुको शल्यक्रिया बालबालिकाकै गरेको खुलाए।

‘मुटु सर्जनले चिर्नमात्रै छोडेर किन अस्पतालको व्यवस्थापनमा लागेको भनेर कसैले किन नसोधेको?’ कोइरालाले प्रतिप्रश्न गरे।

उनले नेपालमा बाल अस्पताल स्थापना गर्नुपर्ने औचित्य प्रस्ट्याउन अधिकांश समय खर्चिए। १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या करिब १ करोड २० लाख भए पनि विशिष्टिकृत अस्पताल एक मात्रै (कान्तिबाल) छ।

विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्या बराबर ५ अस्पताल शय्या हुनुपर्ने भनि सिफारिस गरे पनि नेपालमा प्रतिहजार जनसंख्याका लागि शून्य दशमलव ९ शय्यामात्रै उपलब्ध छ। बालबालिकाका लागि यो संख्या झनै कम अर्थात् २ हजार भन्दा कम छ।

अहिले पनि कुनै बालबालिका बिरामी पर्दा सम्पूर्ण रोगको उपचार एउटै छानामुनि हुनसक्ने विशिष्टिकृत स्वास्थ्य संस्थाको अभाव छ।

मुलुकभर ६ सयको हाराहारीमा बालरोग विशेषज्ञ कार्यरत भए पनि अधिकांश काठमाडौंका सहरी क्षेत्रमा कार्यरत छन्।

यो खाडललाई ध्यानमा राखेर काठमाडौंमा केन्द्रीय अस्पतालसहित सातै प्रदेशमा स्याटेलाइट सेन्टरको योजना बनाएको कोइरालाको भनाइ थियो । ‘बालबालिका वयस्क होइनन्, विशेषज्ञ र तालिमप्राप्त जनशक्तिबाट विशिष्टिकृत सेवा दिनुपर्छ,’ बाल स्वास्थ्यको महत्व प्रस्ट्याउँदै उनले भने।

अधिकतम उपचार सेवा प्रदेश अस्पतालबाट उपलब्ध गराउने केन्द्रीय अस्पतालमा उपलब्ध विशेषज्ञता र आधुनिक सुविधाबाट काठमाडौंबाहिरका बालबालिकाले पनि लाभ लिनसक्ने गरी दक्ष जनशक्तिको व्यवस्थापन गर्ने र सञ्चार प्रविधिको सहायता लिएर दूरपरामर्श तथा उपचार सेवा दिन योजना संस्थाले लिएको छ।

उनले विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संस्थासँग मिलेर रोकथामका कार्यक्रम सञ्चालन गर्ने सम्झौता भइसकेको उल्लेख गरे।

पहिलो चरणमा काठमाडौंमा केन्द्रीय अस्पतालका लागि सरकारले उपलब्ध गराएको ४२ रोपनी जग्गामा भवन निर्माण तयारी भइरहेको र स्याटेलाइट सेन्टरको रुपमा पहिलोपटक प्रदेश १ मा तीन महिनाभित्र सेवा सुरु गर्ने तयारी भइरहेको छ।

प्रदेश १ मा दमक नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन इन्स्टिच्युटलाई उपलब्ध भइसकेको छ।

स्वास्थ्य मन्त्रालयबाट किओच दमक बाल अस्पतालको स्वीकृति लिएर अस्पताल सञ्चालन तयारी भइरहेको छ। अस्पताल सञ्चालनका लागि केन्द्र र स्थानीय सरकारले पनि निश्चित रकम उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन्।

त्यसका लागि कम्तिमा २ वर्षको सञ्चालन खर्च जोहो गर्नु अमेरिका अभियानको उद्देश्य रहेको भनाइ कोइरालाको थियो।

इन्स्टिच्युट अफ चाइल्ड हेल्थमार्फत् उपचारात्मक सेवासँगै रोकथाममूलक कार्यक्रमसमेत सञ्चालन गर्ने र त्यसमार्फत् बाल मृत्युदर र बिरामी हुने दरमा कमी ल्याउने उद्देश्यसमेत संस्थाको छ।

संघ संस्था उद्योगका सिएसआरको पैसा ल्याउँन पहल गर्ने र प्राप्त गर्नसक्ने विश्वास लिए।

 



Leave a Reply

Your email address will not be published.