दैनिक कति खानुपर्छ नुन? स्वास्थ्यका लागि के छन् यसका फाइदा-बेफाइदा?

हेल्थपोस्ट नेपाल

स्वास्थ्यकर्मीहरुको चेतावनीका बावजूद विश्वभर नुनको अत्यधिक प्रयोग जारी छ। अत्यधिक नुनको प्रयोगले स्वास्थ्यमा विभिन्न किसिमका समस्या सिर्जना गर्छ भनेर बताइने गरिन्छ।

तर केही समयअघि गरिएको एक अध्ययनमा नुन स्वास्थ्यका लागि ‘भिलेन’ नभई स्वास्थ्यका लागि निकै जरुरी भएको औंल्याइएको छ।
नुनमा पाइने सबैभन्दा महत्वपूर्ण तत्व हो सोडियम। यो हाम्रो शरीरका लागि निकै जरुरी मानिन्छ। सोडियमले मानिसको शरीरमा पानीको सही स्तर कायम गर्नेदेखि लिएर अक्सिजन र अन्य पोषक तत्व सबै अंगमा पुर्‍याउन सहयोग गर्छ। यतिमात्र नभई, सोडियमले स्नायु प्रणालीमा स्फूर्ति ल्याउने काम गर्छ।

भारत तथा नेपालका हिन्दु समाजमा व्रतका बेला नुन नखाने चलन छ। कतिपय समाजमा नुनविना पनि खाना खाने गरिन्छ। तर, आजकाल विश्व स्वास्थ्य संगठनले निर्धारण गरेभन्दा पनि कैयौं गुणा बढी नुन खाने गरिन्छ। दैनिक नुन खपत कम गराउने सरकारी प्रयासहरु असफलजस्तै भइरहेका छन्।

डब्लुएचओको मापदण्डअनुसार मानिसले दैनिक ६ ग्रामभन्दा बढी नुन खानु हुन्न। बेलायतमा हरेक नागरिकले औसत ८ ग्राम नुन प्रयोग गर्ने गर्छन् भने अमेरिकामा यो परिमाण ८.५ ग्राम छ। अस्ट्रेलियाको जर्ज इन्सिच्युट अफ ग्लोबल हेल्थका अनुसार भारतीयहरु औसन दैनिक करिब ११ ग्राम नुन प्रयोग गर्छन्, जो डब्लुएचओको मापदण्डभन्दा करिब दुई गुणा बढी हो।

बजारमा पाइने ब्रेड, सुपलगायतका खाद्यपदार्थमा पनि मापदण्डभन्दा बढी नुन पाइन्छ। बट्टामा बन्द उत्पादनमा नुनको साटो सोडियमको परिमाण उल्लेख गरिएको पाइन्छ। यसले नुन कम खाएजस्तो लाग्छ। तर वास्तविकता योभन्दा फरक छ। नुनमा सोडियम र क्लोराइड दुवै हुन्छन्। २.५ ग्राम नुनमा पनि १ ग्राम सोडियम पाइन्छ।

के हो अनुसन्धान?
अनुसन्धानबाट बढी नुन खानाले रक्तचाप बढ्ने पुष्टि भइसकेको छ। यसबाट हृदयाघात हुने र मुटुका अन्य रोग सिर्जना हुने खतरा हुन्छ। यसैले अधिकांश मानिस नुनले गर्ने हानीका बारेमा एकमत छन्। बढी नुन खाँदा शरीरमा पानी जम्मा हुन्छ। यसको दबाब मिर्गौलामा पर्छ। लामो समयसम्म यसो भइरह्यो भने रक्तचाप बढ्छ, जसलाई हाइपरटेन्सन भनिन्छ।

हृदयघातको ६२ प्रतिशत कारक हाइपरटेन्सन नै हो। मुटुका नली अवरुद्ध हुने ४९ प्रतिशत कारण पनि हाइपरटेन्सन हुन्छ। डब्लुएचओका अनुसार भारतमा २३ प्रतिशत मानिसहरु मुटु र धमनीका समस्याले मृत्युको मुखमा पुग्छन्।

विज्ञका अनुसार डब्लुएचओको मापदण्डभन्दा ५ ग्राम बढी नुन खानाले मुटु र धमनीको रोगको खतरा १७ प्रतिशत बढ्छ भने हृदयघात हुने आशंका २३ प्रतिशत बढ्छ।

नुनको मात्रा कम गर्नेबित्तिकै रक्तचापको समस्या पनि कम हुने अनुसन्धानले देखाएका छन्। दैनिक १.४ ग्राम नुन कम खानाले रक्तचापको समस्या ४२ प्रतिशतसम्म कम हुन्छ र खतरनाक हृदयघातको समस्या पनि ४० प्रतिशतसम्म कम हुन्छ।

अनुसन्धानमा मतभेद
तर केही अनुसन्धानकर्ताहरु भने शरीरमा नुनको सिधा असरको आँकलन गर्न सम्भव नभएको बताउँछन्। नुन कम गर्दैमा रक्तचाप या मुटुको रोगमा कमी आउछ भनेर यकिनसाथ भन्न नसकिने अनुसन्धानकर्ताहरु बताउँछन्।

बेलायतको वार्विक विश्वविद्यालयका फ्रान्सेस्को क्याप्पुचिओको पनि यस्तै मत छ।

१९६० को दशकमा जापान सरकारले नुनको उपभोगमा कमी ल्याउन एउटा ठूलो अभियान चलायो। अभियानपछि जापानीहरुको दैनिक नुन उपभोग १३.५ ग्रामबाट घटेर १२ ग्राम प्रतिदिनमा झ¥यो। यसक्रममा हृदयघातबाट हुने मृत्यु र उच्च रक्तचापको समस्यामा पनि ८० प्रतिशतले कमी आयो।

फिनल्याण्डमा दैनिक नुनको खपत १९७० को दशकमा १२ ग्राम थियो, जो सन् २००२ मा घटेर ९ ग्राममा सीमित भयो। यसको परिणामस्वरुप हृदयघात र मुटुका अन्य रोगमा ८० प्रतिशतसम्म कमी आयो।

विज्ञका अनुसार जाति, सम्प्रदाय, उमेर र बडीमास इन्डेक्सको हिसाबले हरेक मानिसमा नुनको प्रभाव अलग–अलग हुन्छ। यसमा हाइपरटेन्सनको पारिवारिक इतिहासले पनि प्रमुख भूमिका निर्वाह गर्छ।

नुन कम खाँदा के हुन्छ?
नुन कम खाँदा पनि स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ। १ लाख ७० हजार मानिसका गरिएको एक अनुसन्धानमा दैनिक ७.५ ग्रामभन्दा कम नुन खानेहरुमा मुटुको रोग लाग्ने आशंका बढ्छ। कम नुन खपतको अभियानमा संलग्न अनुसन्धानकर्ता एन्ड्रयु मेन्टेका अनुसार कम नुन खाँदा उच्च रक्तचाप हुने खतरा कम त हुन्छ, तर यसबाट स्वास्थ्यमा सिधा कुनै फाइदा हुँदैन। उनका अनुसार बढी नुन विष बराबर त हुन्छ नै कम नुन पनि हानिकारक हुन्छ। यसैले बीचको बाटो चयन गर्नु जरुरी हुन्छ।

यो सामग्री बीबीसी फ्युचरको लेखबाट भावानुवाद गरिएको हो।



Leave a Reply

Your email address will not be published.