उच्च रक्तचाप : कारण र जीवनशैली व्यवस्थापन

उच्च रक्तचाप आजकाल जनस्वास्थ्यको प्रमुख समस्या बनेकाे छ। मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचाप र त्यसका जटिलताहरू विश्वका विकसित, विकासोन्मुख र अल्पविकसित सबै देशको साझा चुनौती बनेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हाल एक अर्ब मानिसमा उच्च रक्तचापको समस्या छ, जसमा दुईतिहाइ विकासोन्मुख देशका नागरिक छन्।

सन् २०२५ सम्म यो संख्या बढेर १ अर्ब ५६ करोड पुग्ने आँकलन गरिएको छ। दक्षिणपूर्वी एसियाका एकतिहाइ युवा उच्च रक्तचापबाट पीडित छन्।

उच्च रक्तचापबाट बर्सेनि ८० लाख मानिसको मृत्यु हुन्छ । दक्षिणपूर्वी एसियामा मात्र प्रतिवर्ष १५ लाख मानिसले उच्च रक्तचापबाट जीवन गुमाउँछन्।

विश्वमा मुटु एवं मुटुको रक्तनलीजन्य रोग मृत्युको प्रमुख कारण बनेको छ। सन् २०१७ मा १ करोड ७९ लाख मानिसको मृत्यु मुटु एवम् मुटुको रक्तनलीजन्य रोगबाट भएकाे थियो, जुन कुल मृत्युको ३१ प्रतिशत हो।

त्यसमा पनि ८५ प्रतिशतको मृत्यु हृदयाघात र मस्तिष्काघातबाट भएको छ। हृदयाघात र मस्तिष्काघातको प्रमुख कारण उच्च रक्तचाप हो।

हृदयाघातबाट हुने मृत्युका लागि ४५ प्रतिशत र मस्तिष्काघातबाट हुने मृत्युका लागि ५१ प्रतिशत उच्च रक्तचापमात्र जिम्मेवार मानिन्छ।

यसका अतिरिक्त उच्च रक्तचापले मुटुरोग, मिर्गौलारोग, मधुमेह आदि पनि गराउँछ । विश्वमा तीनमध्ये एक वयस्कमा उच्च रक्तचाप रहेको, तीनमध्ये एकलाई उच्च रक्तचाप भएको थाहा नभएको र तीनमध्ये एकको उच्च रक्तचाप नियन्त्रणमा नरहेको बताइन्छ।

नेपालमा पनि नसर्ने रोगको महामारी बढ्दै गएको छ। सन् २०१७ मा कुल मृत्युको ६६ प्रतिशत नसर्ने रागबाट भयो । मुटु एवम् मुटुको रक्तनलीजन्य रोगबाट मात्र ३० प्रतिशतको मृत्यु भयो। नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१७ अनुसार १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या छ। त्यस्तै, २४ प्रतिशत महिला र ३१ प्रतिशत पुरुषमा पूर्व–उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) छ।

ननकम्युनिकेबल डिजिज रिक्स प्याक्टर सर्वे २०१३ का अनुसार २५.७ प्रतिशत मानिसमा उच्च रक्तचाप छ। पाँच वर्षका विभिन्न अनुसन्धानहरूबाट सिन्धुलीको ग्रामीण क्षेत्रमा १२.३ प्रतिशत, धुलिखेलमा २७.७ प्रतिशत, पोखरामा २८ प्रतिशत, सुर्खेतमा ३८.९ प्रतिशत र काठमाडौंमा ३२.५ प्रतिशत मानिसमा उच्च रक्तचाप रहेको पाइएको छ।

उच्च रक्तचाप अस्वस्थकर आहार, विहार, विचार र व्यवहारको नतिजा हो । विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत एक मोडेलअनुसार विभिन्न सामाजिक चालक एवम् कारकतत्वहरू, जस्तै, औद्योगीकरण, सहरीकरण, आर्थिक अवस्था, शिक्षा, पेसागत संलग्नता एवम् कार्यशैली, बसाइ आदिले बानीव्यहोरालाई प्रभाव पार्छ अर्थात् अस्वस्थकर बानीउन्मुख बनाउँछ ।

के हाे उच्च रक्तचाप
मुटुको नियमित खुम्चिने र फैलिने क्रियाबाट शुद्ध रगत शरीरभरि पुग्दछ । रगतको वहावबाट रक्तनलीको भित्तामा पर्ने दबाब नै रक्तचाप हो । मुटु खुम्चिने अवधिको दबाबलाई सिस्टोलिक र मुटु फैलिने अवस्थाको दबाबलाई डायस्टोलिक प्रेसर भनिन्छ । बोलिचालीको भाषामा सिस्टोलिक प्रेसरलाई माथिको र डायस्टोलिक प्रेसरलाई तलको प्रेसर भन्ने गरिएको पाइन्छ।

सामान्यतः सिस्टोलिक प्रेसर १०० देखि १४० एमएम एचजी र डायस्टोलिक प्रेसर ६० देखि ९० एमएम एचजीसम्म हुन्छ । सिस्टोलिक प्रेसर १४० र डायस्टोलिक प्रेसर ९० एमएम एचजीभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ।

उच्च रक्तचाप प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी हाइपरटेन्सनको निश्चित कारण थाहा छैन अथवा विभिन्न मिश्रित कारणहरूबाट रक्तचाप बढ्छ। ९० देखि ९५ प्रतिशत उच्च रक्तचापमा प्राइमरी हाइपरटेन्सन पाइन्छ। ५ देखि १० प्रतिशत उच्च रक्तचाप मुटुरोग, मिर्गौलारोग, हर्मोनल समस्या, औषधिको पाश्र्व प्रभाव आदिका कारण हुन्छ, जसलाई सेकेन्डरी हाइपरटेसन भनिन्छ।

अमेरिकाको नेसनल हार्ट, लंग्स एन्ड ब्लड इन्स्टिच्युटको प्रिभेन्सन, डिटेक्सन, इभालुएसन एन्ड ट्रिटमेन्ट अफ हाई ब्लड प्रेसरसम्बन्धी सातौँ रिपोर्टअनुसार सिस्टोलिक ब्लड प्रेसर १२० भन्दा कम र डायस्टोलिक प्रेसर ८० भन्दा कमलाई सामान्य मानिएको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १२० देखि १३९ र डायस्टोलिक ८० देखि ८९ एमएम एचजीलाई प्रि–हाइपरटेन्सन भनिएको छ।

सिस्टोलिक १४० देखि १५९ र डायस्टोलिक ९० देखि ९९ एमएम एचजीलाई स्टेज फस्ट हाइपरटेन्सन र सोभन्दा बढी भएमा स्टेज सेकेन्ड हाइपरटेन्सन भनिएको छ।

यो गाइडलाइन २०१७ मा अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले संशोधन गरेको छ, जसअनुसार सिस्टोलिक ब्लड प्रेसर १२० र डायस्टोलिक ब्लड प्रेसर ८० भन्दा कमलाई सामान्य रक्तचाप मानेको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १२० देखि १२९ र डायस्टोलिक प्रेसर ८० भन्दा कमलाई इलिभेटेड ब्लडप्रेसर (बढ्दो रक्तचाप) भनिएको छ ।

सिस्टोलिक प्रेसर १३० देखि १३९ र डायस्टोलिक प्रेसर ८० देखि ८९ लाई स्टेज फस्ट हाइपरटेन्सन र सोभन्दा बढी भएमा स्टेज सेकेन्ड हाइपरटेन्सन भनिएको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १८० र डायस्टोलिक प्रेसर १२० भन्दा बढी भएमा हाइपरटेन्सिभ अरजेन्सी र यसको साथमा लक्षित अंगहरूमा क्षति पुगेमा हाइपरटेन्सिभ इमर्जेन्सी भनिएको छ ।

यो पछिल्लो गाइडलाइनलाई आधार मान्ने हो भने पुरानो गाइडलाइनलाई आधार मानेर विश्लेषण गरिएको तथ्यांकमा ठूलो अन्तर आउँछ ।

नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वे २०१६ मा उल्लेखित उच्च रक्तचापको २१.२ प्रतिशत बढेर ४४.२ प्रतिशत हुन्छ ।

उच्च रक्तचापको कारण
प्राइमरी हाइपरटेन्सन विविध कारणको संयुक्त नतिजा हो, जसलाई अपरिवर्तनीय र परिवर्तनीय कारण गरी वर्गीकरण गर्न सकिन्छ ।

अपरिवर्तनीय कारण
क) उमेर : सामान्यतया उमेर बढ्दै जाँदा रक्तनलीमा आउने संरचनागत परिवर्तन (साँघुरो र कडापन)ले रक्तचाप पनि बढ्ने गर्दछ।
ख) आनुवंशिकता :रक्तचाप निर्धारणमा जिनको भूमिका रहने विश्वास गरिन्छ । एउटै जाइगोटबाट जन्मिएका जुम्ल्याहा बच्चामध्ये एकलाई उच्च रक्तचाप भएमा अर्कोलाई पनि भएको पाइएको छ । त्यस्तै, सामान्य रक्तचाप भएका आमाबुबाबाट जन्मेका बच्चाहरूमा पछि उच्च रक्तचाप हुने सम्भावना ३ प्रतिशत मात्र हुन्छ, तर आमाबुबा दुवैमा उच्च रक्तचाप भएमा बच्चामा उच्च रक्तचाप हुने सम्भावना ४५ प्रतिशत हुन्छ।
ग) जातीयता : तुलनात्मक रूपमा काला(अफ्रिकन–अमेरिकन)हरूमा अरूभन्दा रक्तचाप बढी पाइएको छ।

परिवर्तनीय कारण
उच्च रक्तचाप अस्वस्थकर आहार, विहार, विचार र व्यवहारको नतिजा हो । विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत एक मोडेलअनुसार विभिन्न सामाजिक चालक एवम् कारकतत्वहरू, जस्तै, औद्योगीकरण, सहरीकरण, आर्थिक अवस्था, शिक्षा, पेसागत संलग्नता एवम् कार्यशैली, बसाइ आदिले बानीव्यहोरालाई प्रभाव पार्छ अर्थात् अस्वस्थकर बानीउन्मुख बनाउँछ।

अस्वस्थकर आहार, शारीरिक निष्क्रियता, सुर्ती र रक्सीजन्य पदार्थको सेवन (बानीव्यवहारजन्य रिक्स)ले उच्च रक्तचाप, मोटोपन, मधुमेह र उच्च लिपिड (मोटाबोलिक रिक्स) गराउँछ, जसबाट मुटु एवम् रक्तनलीजन्य रोग र मिर्गौला रोग गराउँछ ।

१) धूमपान : सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बनमोनोअक्साइडजस्ता २५० भन्दा बढी घातक रसायनहरू पाइन्छन्, जसमध्ये कम्तीमा ५० वटाले फोक्सोलगायतको क्यान्सर गराउँछन् । यसका अलावा मुटुरोग, स्ट्रोक, दीर्घ श्वास–प्रश्वास, मधुमेह आदिको जोखिम बढाउँछ । विश्वमा बर्सेनि ७० लाख मानिसले धूमपानका कारण मृत्युवरण गर्छन । १० मध्ये १ मृत्युका लागि धूमपान जिम्मेवार मानिन्छ ।

सन् २०१३ को तथ्यांकअनुसार नेपालमा १७.६ प्रतिशत मानिसले धूमपान गर्दछन् । ३६ प्रतिशत मानिस सेकेन्ड हेन्ड स्मोकर (अरूले गरेको धूमपानबाट प्रभावित) छन् । निकोटिनले मुटु एवम् रक्तनलीमा संरचनागत र क्रियागत परिवर्तन गराउँछ । अध्ययनहरूबाट धूमपानले रगतको तरलतामा परिवर्तन ल्याउने, एथेरोमा प्लेग बन्न सघाउने, रक्तनली साँघुरो र कडा बनाई रक्तप्रवाहमा कमी ल्याउने गर्दछ ।

धूमपान नगर्ने व्यक्तिमा समेत सेकेन्ड हेन्ड स्मोकका कारण एक्युट कोरोनरी डिजिज हुने सम्भावना २५ देखि ३५ प्रतिशत बढ्ने बताइन्छ । धूमपान गरिरहेको समयमा सिम्पेथेटिक नर्भस सिस्टम सक्रिय भई मुटुको चाल र रक्तचाप बढ्छ, जुन सामान्य हुन २० मिनेट लाग्छ । धूमपान छोडेको एक वर्षमा हृदयाघात हुने सम्भावना आधा कम हुन्छ भने पक्षाघात हुने सम्भावना धूमपान नगर्नेजतिको अवस्थामा पुग्न पाँच वर्ष लाग्छ ।

२) मद्यपान : विश्वमा मध्यपानका कारण २०१७ मा ३० लाख मानिसको मृत्यु भयो, जसमा १९ प्रतिशतको मृत्यु अत्यधिक मद्यपानका कारण भएको मुटु एवम् रक्तनलीको रोगबाट भएको छ । मद्यपानले सडक दुर्घटना, कलेजो एवम् पेटको रोग, क्यान्सर, मानसिकरोग निम्त्याउँछ ।

नेपालमा २०१३ को तथ्यांकअनुसार १७.४ प्रतिशत मानिसले रक्सीजन्य पदार्थ सेवन गर्छन् र औसत ४.४ स्टान्डर्ड ड्रि«न्क्स प्रतिपटक सेवन गर्छन् । ४० प्रतिशतले एक हप्तामा चार वा बढी दिन रक्सीजन्य पदार्थको सेवन गर्छन् । अमेरिकी पोषण निर्देशिका २०१५ दखि २०२० ले रक्सीजन्य पदार्थको सेवनलाई सिफारिस गरेको छैन ।

रक्सी सेवन गर्ने पुरुषलाई प्रतिदिन २ स्टान्डर्ड ड्रिन्क्स र महिलालाई १ स्टान्डर्ड ड्रिन्क्स (१ स्टान्डर्ड ड्रिन्क्सबराबर बियर, जाँड २५० मिली, वाइन १०० मिली, लोकल रक्सी ४५ मिली र ह्विस्की, रम, भोडका ३० मिली)भन्दा बढी सेवन नगर्न सुझाएको छ ।

रक्सीजन्य पदार्थहरूले रक्तचाप एवम् मुटुमा पार्ने प्रभाव सेवन मात्रा, समय आदिमा निर्भर गर्छ । एक अध्ययनले रक्सी सेवनको एक घण्टापछि रक्तचाप बढ्ने र अर्को सात घण्टामा पूर्ववत् अवस्थामा आउने देखाएको छ । रक्सी सेवनबाट मुटुको चाल र कार्डियक आउटपुट बढ्छ भने रक्तनली फैलिएर पेरिफेरल रेसिस्टेन्ट केही कम हुन्छ ।

थोरै मात्रामा रेड वाइन सेवनले कोरोनरी हार्ट डिजिजको रिक्स घटाउने मान्यता पनि केहिले राख्ने गरेको पाइन्छ । तर, त्यो रेड वाइनमा प्रयोग हुने फलफूलमा भएको पोलिफिनोल, एन्टिअक्सिडेन्ट एवम् फाइटोकेमिकल्सहरूको असरले गर्दा हो भन्ने मत पनि छ ।

अल्कोहल बढी मात्रामा लामो समयसम्म सेवन गरेमा कार्डियोमायोप्याथी, हार्ट फेलर, मुटुको चाल अनियमित हुने समस्या गराउँछ । बढी मात्रामा रक्सी सेवन गर्ने उच्च रक्तचापका रोगीहरूलाई रक्सी छुटाउँदा रक्तचाप पनि कम भएको अनुसन्धानहरूले देखाएका छन् । यसका अलावा अल्कोहलले शरीरको मेटाबोलिज्म, लिपिड प्रोफाइल, मोटोपन, कलेजोको सक्रियता आदिमा असर गर्छ । सन् २०१८ मा ल्यान्सेट जर्नलमा प्रकाशित एक अनुसन्धानले मद्यपानको कुनै सुरक्षित मात्रा नरहेको निष्कर्ष निकालेको छ ।

अध्ययनअनुसार हाल अमेरिकनहरूले दैनिक ३४०० मिग्रा सोडियम प्राप्त गर्दछन्, जसको ७० प्रतिशत तयारी परिकार र रेस्टुरेन्टको खानाबाट प्राप्त गर्छन् । खानेनुन सोडियम क्लोराइड हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोरिन हुन्छ । दैनिक ५०० मिग्रा सोडियमले शरीरको नर्मल फिजियोलोजी मेन्टेन गर्ने बताइन्छ ।

३) अस्वस्थकर आहार: मुटुस्वास्थ्यसँग नुन (सोडियम)को मात्रा, स्याचुरेटेड फ्याट र फाइवरयुक्त आहारको सेवन सम्बन्धित हुन्छन् । नुन सेवन बढी हुँदा प्रेसर बढ्छ । विश्व स्वास्थ्य संगठनले दैनिक ५ ग्राम नुनको सेवन शरीरका लागि पर्याप्त मानेको छ । तर, अध्ययनहरूले ९ देखि १२ ग्राम नुन दैनिक सेवन भइरहेको देखाएको छ ।

भान्छामा प्रयोग गरिने तयारी नुनका अतिरिक्त मासु, दूध, सागपात, फलफूलमा पनि नुनको मात्रा हुन्छ । झनै प्रशोधित एवम् तयारी (पत्रु) खानाहरूमा नुनको मात्रा अत्यधिक हुन्छ, जसले मानिसले प्राप्त गर्ने नुनको ७५ देखि ८० प्रतिशत हिस्सा ओगट्छ । मानव जातिको विकासक्रम हेर्दा कृषि पेसा सुरु गर्नु (५, ००० देखि १०, ००० वर्ष )अघि एक व्यक्तिले प्रतिदिन १ ग्राम नुन प्राप्त गर्ने गरेको देखिन्छ, जुन आजको भन्दा १० गुणा कम हो।

अहिले पनि अफ्रिका एवम् दक्षिण अमेरिकाको जंगल वा आसपास बस्ने आदिवासीहरूले दैनिक ३ ग्रामभन्दा कम (कतिले त ५०० मिग्रा) नुन सेवन गर्छन्। उनीहरूको रक्तचाप उमेरअनुसारसमेत बढेको पाइँदैन र जीवनभर सामान्य रक्तचाप रहने पाइएको छ।

त्यस्तै, नुन न्यून मात्रामा सेवन गर्ने जापानको अलस्सकन स्किमोे जातिमा उच्च रक्तचापको समस्या छैन, जब कि नुन बढी सेवन गर्ने उत्तरी क्षेत्रमा बस्ने करिब ३९ प्रतिशत जापनिजहरूमा उच्च रक्तचापको समस्या छ । हाल नुन व्यापारिक स्वार्थबाट प्रेरित भई प्रयोगमा ल्याइएको र यौगिक स्वरूपको सोडियमले शरीरमा हानि गर्ने भएकाले प्राकृतिक स्रोतबाट आवश्यक सोडियम पुर्ती गर्नुपर्छ भन्ने मत राख्नेहरू पनि छन् ।

प्राकृतिक चिकित्सामा नुनलाई सेतो विष भनिन्छ । यद्यपि, पसिना निस्कने शाकाहारीहरूलाई सोडियम आवश्यक हुन्छ । अमेरिकन हार्ट एसोसिएसनले दैनिक २३०० मिग्राभन्दा कम सोडियम सेवन सिफारिस गरको छ भने १५०० मिग्राभन्दा कम मात्रालाई उपयुक्त(आइडियल) मात्रा भनेको छ ।

अध्ययनअनुसार हाल अमेरिकनहरूले दैनिक ३४०० मिग्रा सोडियम प्राप्त गर्दछन्, जसको ७० प्रतिशत तयारी परिकार र रेस्टुरेन्टको खानाबाट प्राप्त गर्छन् । खानेनुन सोडियम क्लोराइड हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोरिन हुन्छ । दैनिक ५०० मिग्रा सोडियमले शरीरको नर्मल फिजियोलोजी मेन्टेन गर्ने बताइन्छ ।

शरीरमा सोडियमको मात्रा निर्धारण गर्न मिर्गौलाले भूमिका खेल्छ र बढी सोडियम पिसाब र पसिनाबाट बाहिर जान्छ । मिर्गौलाको सोडियम छान्ने क्षमता ३० वर्षपछि बिस्तारै कम हुँदै जान्छ, जुन ८० वर्ष पुग्दा ४० प्रतिशतमा सीमित रहन्छ । अन्ततोगत्वा उमेर ढल्दै जाँदा सोडियम बढी भइरहेमा प्लाज्मा सोडियम र फ्लुड भोलुम बढेर ब्लड प्रेसर बढ्छ ।

एक अध्ययनमा दैनिक ८ ग्राम नुन सेवन गरिरहेका व्यक्तिहरूलाई ४ हप्तासम्म ४ ग्राम नुन सेवन गराउँदा सिस्टोलिक प्रेसर ८ र डायस्टोलिक प्रेसर ४ एमएम एजजी कम भएको पाइएको छ ।

त्यस्तै, स्याचुरेटेड फ्याटको अत्यधिक सेवन पनि मुटुका लागि प्रतिकूल हुन्छ । शरीरलाई आवश्यक जम्मा क्यालोरीको १० प्रतिशतभन्दा कम क्यालोरीको स्रोत स्याचुरेटेड फ्याट हुनुपर्छ । अझै अमेरिकन हार्ट एसोसिएसनले यसलाई ५ दखि ६ प्रतिशतमा सीमित राख्न सुझाएको छ ।

अध्ययनहरूले स्याचुरेटेड फ्याटको सेवनले कोलेस्टेरोल र लो डेन्सिटी लिपोप्रोटिन बढ्ने देखिएको छ, जसले मुटुरोगको सम्भावना बढाउँछ । स्याचुरेटेड फ्याटको मुख्य स्रोत जनावरजन्य आहार हुन् । कोकोनट र पाम तैलजन्य वनस्पति भए पनि स्याचुरेटेड फ्याटका स्रोत हुन् । सागपात एवम् फलफूल मुटुका लागि हितकर छन् । सागपात एवम् फलफूल फाइबर, भिटामिन, मिनरल्सका स्रोत हुन् ।

यिनीहरूले लो डेन्सिटी लिपोप्रोटिन घटाउँछन् । फलफूल पोटासियमको राम्रो स्रोत हो । यसले सोडियमको निष्कासनमा सहयोग गर्दछ, रक्तनलीहरूलाई फैलाउँछ र रक्तचाप कम गर्न सहयोग गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक ५ मात्रा (४०० ग्राम) सागपात र फलफूल सेवन गर्नुपर्छ । विभिन्न अध्ययनले नेपालमा ९८ प्रतिशत मानिसले मापदण्डभन्दा कम फलफूल एवम् सागपात सेवन गर्ने गरेको देखाएको छ।

४) शारीरिक निष्क्रियता : सक्रिय शारीरिक गतिविधि मुटुस्वास्थ्यका लागि महत्वपूर्ण छ । विश्व स्वास्थ्य संगठनले हप्तामा १५० मिनेट मध्यम व्यायाम (पसिना आउने र अलिअलि स्याँ–स्याँ हुने) गर्न सुझाएको छ । दैनिक कामसँग सम्बन्धित (घर वा कार्यालय वा पेसागत), यातायातसँग सम्बन्धित (हिँडडुल, दौड, साइक्लिङ, सवारीसाधनको प्रयोग), मनोरञ्जनात्मक शारीरिक व्यायाम (योग, प्राणायाम, नृत्य, जगिङ, खेलकुद आदि) नै शारीरिक गतिविधिका घटक हुन् ।

ननकम्युनिकेबल डिजिज रिक्स फ्याक्टर स्टेप सर्भे २०१३ अनुसार नेपालमा करिब ४ प्रतिशत मानिसले न्यून व्यायाम गर्छन् । ४५ देखि ६९ वर्षका ६ प्रतिशत मानिसले मापदण्डबमोजिम व्यायाम गर्दैनन् । व्यायाममा शारीरिक श्रमको हिस्सा ६२.७ प्रतिशत, यातायातसँग सम्बन्धित क्रियाकलापको हिस्सा ३३.६ प्रतिशत र मनोरञ्जनात्मक व्यायामको हिस्सा ३.७ प्रतिशत मात्र छ ।

९.३ प्रतिशत मानिसले श्रमसँग सम्बन्धित क्रियाकलाप, ६.७ मानिसले यातायातसँग सम्बन्धित क्रियाकलाप र ८७.९ प्रतिशत मानिसले मनोरञ्जनात्मक व्यायाम न्यूनतम मापदण्ड (१०/१० मिनेट) पूरा नगर्ने गरेको देखिएको छ । व्यायामले स्वयम् मुटुको रक्तसञ्चार सुदृढ बनाउँछ । विभिन्न केमिकल मेडिएटरहरूले रक्तनलीहरूको लचकता र फैलावट बढाउँछन्, शरीरको तौल घटाउन सहयोग गर्छन्, नराम्रा कोलेस्टेरोल घटाउँछन् र राम्रा कोलेस्टेरोल बढाउँछन् ।

मनोरञ्जनात्मक व्यायामले सिम्पाथेटिक नर्भस सिस्टमको सक्रियता घटाउँछ र रक्तचाप कम गर्न सहयोग गर्छ । केही कडाखालका व्यायामलगत्तै भने रक्तचाप बढ्छ (पोस्ट एक्सरसाइज हाइपरटेन्सन), जुन केही समयमा स्वतः घट्छ ।

उच्च रक्तचापका लक्षण
उच्च रक्तचापले खासै लक्षण नदेखाई मृत्युको मुखसम्म पुर्याउने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । केहीलाई टाउको दुख्ने, चक्कर लाग्ने, हेर्न असहज हुने, क्षणिक बेहोस हुने आदि हुन सक्छ ।

उपचार एवम् जीवनशैली व्यवस्थापन
अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले रक्तचाप सामान्य (१२०/८० भन्दा कम) रहेको अवस्थामा वार्षिक रूपमा रक्तचाप मापन गर्न र स्वस्थ जीवनशैली अपनाउन सुझाएको छ । त्यस्तै, बढ्दो रक्तचाप (सिस्टोलिक १२० देखि १२९ र डायस्टोलिक ८० भन्दा कम)को अवस्थामा ३ देखि ६ महिनामा पुनः परीक्षण गर्न र जीवनशैली व्यवस्थापन गर्न भनेको छ ।

फस्ट स्टेज हाइपरटेन्सनमा कार्डियोभास्कुलर रिस्क १० प्रतिशतभन्दा कम भएमा जीवनशैली व्यवस्थापन र ३ देखि ६ महिनामा पुनः रक्तचाप परीक्षण गर्नुपर्छ । तर, कार्डियोभास्कुलर रिक्स १० प्रतिशतभन्दा बढी भएमा औषधि सेवनका साथै जीवनशैली परिवर्तन गर्नुपर्छ । एक महिनामा रक्तचाप नियन्त्रणमा आएमा पुनः ३ देखि ६ महिनामा रक्तचाप परीक्षण गर्नुपर्छ र नियन्त्रण नभएमा औषधि पुनरावलोकन गर्नुपर्छ ।

सेकेन्ड स्टेज हाइपरटेन्सनमा औषधि र जीवनशैली व्यवस्थापन सँगसँगै गर्नुपर्छ र १ महिनामा पुनः परीक्षण गर्नुपर्छ ।

औषधि
आधुनिक चिकित्सापद्धतिमा थाइजाइड (हाइपोक्लोरोथाइजाइड), एन्जिओटेन्सिन कन्भर्टिङ इन्जाइम इन्हिबिटर (लिसिनोप्रिल, क्याप्टोप्रिल), एन्जिओटेन्सिन सेकेन्ड ब्लकर (लोसार्टन), क्याल्सियम च्यानल ब्लकर (एम्लोडिपिन), बिटा ब्लकर (एटेनोलोल) आदि औषधि उपलब्ध छन् । त्यस्तै, आयुर्वेद चिकित्सापद्धतिमा सर्पगन्धा, जटामसी, अर्जुन, प्रभाकर वटी, सर्पगन्धा घनवटी, गुगुल योगलगायत विभिन्न प्याटेन्ट औषधिहरू उपलब्ध छन् ।

तौल सामान्य राख्नुपर्छ अर्थात् बिएमआई (तौल/उचाइ (मि.) स्क्वायर) १८.५ देखि २४.९ सम्म हुनुपर्छ । दैनिक खाने आहारमा पाइने जम्मा क्यालोरी र शरीरलाई आवश्यक क्यालोरी हिसाब गरी सन्तुलित आहारको मेनु बनाउनुपर्छ । शरीरलाई आवश्यक क्यालोरीको ५० देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट, १० दखि १५ प्रतिशत प्रोटिनबाट र २० देखि ३० प्रतिशत चिल्लोबाट पूर्ति गर्नुपर्छ ।

जीवनशैली व्यवस्थापन
विभिन्न अनुसन्धानले उच्च रक्तचापको रोकथाम, व्यवस्थापन एवम् नियन्त्रणमा जीवनशैली व्यवस्थापनलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने देखाएका छन् ।

बढी भएको तौल १० केजी कम गर्दा ५ देखि २० एमएम एचजी सिस्टोलिक प्रेसर कम हुन्छ । आहारमा फलफूल तथा सागपातको पर्याप्त सेवन र चिल्लो कम गर्दा ८ देखि १४ एमएम एचजी प्रेसर कम हुन्छ । नुनको मात्रा कम गरेर २ देखि ८ एमएम एचजी, व्यायाम गरेर ४ देखि ९ एमएम एचजी र अल्कोहल बन्द वा न्यून गरेर २ देखि ४ एमएम एचजी सिस्टोलिक प्रेसर कम गर्न सकिन्छ ।

१) तौल नियन्त्रण
तौल सामान्य राख्नुपर्छ अर्थात् बिएमआई (तौल/उचाइ (मि.) स्क्वायर) १८.५ देखि २४.९ सम्म हुनुपर्छ । दैनिक खाने आहारमा पाइने जम्मा क्यालोरी र शरीरलाई आवश्यक क्यालोरी हिसाब गरी सन्तुलित आहारको मेनु बनाउनुपर्छ । शरीरलाई आवश्यक क्यालोरीको ५० देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट, १० दखि १५ प्रतिशत प्रोटिनबाट र २० देखि ३० प्रतिशत चिल्लोबाट पूर्ति गर्नुपर्छ ।

आरामदायी जीवन जिउने पुरुषलाई २ हजार ३ सय २० किलो क्यालोरी, औसत सक्रिय जीवन जिउनेलाई २ हजार ७ सय ३० किलो क्यालोरी र कडा परिश्रम गर्ने पुरुषलाई ३ हजार ४ सय ९० किलो क्यालोरी शक्ति दिने आहार दैनिक चाहिन्छ ।

त्यस्तै, आरामदायी जीवन जिउने महिलालाई १ हजार ९ सय किलो क्यालोरी, औसत श्रम गर्ने महिलालाई २ हजार २ सय ३० किलो क्यालोरी र कडा परिश्रम गर्ने महिलालाई २ हजार ८ सय ५० किलो क्यालोरी दैनिक आवश्यक हुन्छ । कार्बोहाइड्रेटले ४ किलो क्यालोरी प्रतिग्राम, प्रोटिनले ४ किलो क्यालोरी प्रतिग्राम र फ्याटले ९ किलो क्यालोरी प्रतिग्राम शक्ति दिन्छन् ।

शरीरका लागि आवश्यक क्यालोरीको ५० देखि ७० प्रतिशत मुटु, फोक्सो, मस्तिष्क, मिर्गौला आदि अंगहरूको काममा खर्च हुन्छ । १५ देखि ३० प्रतिशत शारीरिक श्रममा र बाँकी तापक्रम सन्तुलित राख्न उपयोग हुन्छ । शरीरलाई आवश्यकभन्दा बढी खपत गरिएको क्यालोरीले शरीरको तौल बढाउँछ ।

बढी भएको शरीरको तौल कम गर्न क्यालोरीको खपत कम गरेर र खर्च बढी गरेर क्यालोरी डिफिसिट गराउनुपर्छ । प्रतिहप्ता ३ हजार ५ सय किलो क्यालोरी नेगेटिभ क्यालोरी ब्यालेन्स भएमा ०.४५ केजी तौल कम हुन्छ । एकैपटक अधिक क्यालोरी खर्च गर्ने वा धेरै तौल घटाउने वा लामो समय निराहार बस्ने कुरा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त हुँदैन ।

प्रतिहप्ता आधा केजी तौल कम गर्नु राम्रो मानिन्छ, जुन न्यून क्यालोरीयुक्त आहार सेवन र नियमित शारीरिक व्यायामबाट गर्न सकिन्छ । अमेरिकन कलेज अफ स्पोट्र्स मेडिसिन गाइडलाइनले महिलाले न्यूनतम १ हजार २ सय किलो क्यालोरी र पुरुषले १ हजार ८ सय किलो क्यालोरी आहार सेवन गर्न सुझाएको छ ।

२) शारीरिक सक्रियता
स्वस्थ मानिसले दैनिक ३० मिनेट मध्यम शारीरिक व्यायाम गर्नुपर्छ । बढ्दो रक्तचाप वा उच्च रक्तचाप भएमा थप ३० मिनेट व्यायाम गर्नुपर्छ । बिहान र साँझ छिटो–छिटो हिँड्नु (ब्रिस्क वाकिङ), दौडनु, पौडी खेल्नु, साइकल चलाउनु, नाँच्नु, आउटडोर गेम खेल्नु, योग तथा प्राणायाम गर्नु, शारीरिक श्रम गर्नु आदि व्यायामका विभिन्न रूप हुन् ।

व्यक्तिको उमेर, अवस्था, रोग र क्षमताअनुसार व्यायामको स्वरूप फरक–फरक हुन सक्छन् । शारीरिक रूपमा सक्रिय रहँदा क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रण गर्न सघाउ पुग्छ । हिँड्दा २ किलो क्यालोरी, छिटो–छिटो हिँड्दा ४ किलो क्यालोरी र दौडँदा ८ किलो क्यालोरी प्रतिमिनेट खर्च हुन्छ ।

सामान्यतया न्यून क्यालोरी सेवनबाट घट्ने तौलको २० प्रतिशत अतिरिक्त तौल व्यायामबाट घटाउन सकिने अनुसन्धानले देखाएको छ । एकपटक घटेको तौललाई सोही अवस्थामा स्थिर राख्न वा तौलको वृद्धिदर कम गर्न व्यायामले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने पाइएको छ ।

त्यस्तै, नियमित योग एवम् प्राणायामले रक्तचाप र तनाव नियन्त्रण गर्न सहयोग गर्ने अनुसन्धानहरूले देखाएका छन् । ओमलगायतको मन्त्रोच्चारण, जगिङ, सूर्यनमस्कार, सेतुबन्धासन, भुजंगासन, चन्द्रभेदी प्राणायाम, शीतली प्राणायाम, सीत्कारी प्राणायाम, भ्रामरी प्राणायाम, योगनिद्रा आदि अत्यन्त प्रभावकारी छन् ।

३) स्वस्थकर आहार
दैनिक रूपमा फलफूल एवम् सागपात सेवन गर्नुपर्छ । खानासँगै वा अघि सलाद प्रयोग गरेर खाना÷भातको मात्रा कम गरी क्यालोरी घटाउन सकिन्छ । खाजाका रूपमा फलफूल सेवन गर्न सकिन्छ । त्यस्तै, खानामा हरियो सागपात छुटाउनुहुुँदैन । आफैँले करेसाबारी वा कौसीमा आवश्यक तरकारी उत्पादन गरेमा झनै स्वस्थकर हुन्छ ।

चिल्लोको मात्रा कम गर्नुपर्दछ । बजारमा पाइने तयारी खाना एवम् होटेलका परिकारहरूमा चिल्लो बढी प्रयोग हुने भएकाले सेवन गर्दा सही परिकार छनोट र सकभर कम सेवन गर्नुपर्छ ।

अव्यवस्थित जीवनशैलीबाट हुने भएकाले रोकथाम एवम् उपचार जीवनशैली व्यवस्थापनबाटै गर्नुपर्छ । उचित आहार, विहार, विचार र व्यवहारले उच्च रक्तचाप र त्यसबाट हुन सक्ने जटिलता कम गरी व्यक्तिलाई स्वस्थ सहन र उत्पादनशील एवम् गुणस्तरीय जीवन जिउन सघाउँछ ।

४) नुनको मात्रा कम गर्ने
परिकारहरू तयार गर्दा नुन कम प्रयोग गर्नुपर्दछ वा नुन नराखी तयार गरेर पछि खानेवेलामा थोरै राख्न सकिन्छ । नुन प्रयोग नगर्दा स्वाद फरक लाग्छ भने कागती र अन्य मसलाहरूको प्रयोगबाट स्वाद कायम राख्न सकिन्छ । सोडियमको मात्रा भान्छाको खानाभन्दा बजारको तयारी खानाबाट बढी प्राप्त हुने भएकाले सेवन गर्दा त्यसको खोलमा उल्लेखित सोडियमको मात्रा हेर्नुपर्छ ।

प्रति १०० ग्राम तयारी परिकार (जकंफुड)मा ०.२ ग्रामभन्दा बढी सोडियम भएमा त्यस्तो तयारी परिकार सेवन नगर्नु बुद्धिमानी हुन्छ । त्यस्तै, सोडा, सस, अजिनोमोटो (मोनो सोडियम ग्लुटामेट)को प्रयोग नगर्दा वा कम गर्दा राम्रो हुन्छ ।

५) रक्सीजन्य पदार्थको सेवन र धूमपान नगर्ने
रक्सीजन्य पदार्थको सेवन र धूमपानले मुटुलाई हानि गर्ने भएकाले सेवन गर्नुहुँदैन । यी दुवै कुलत छाड्न आत्मविश्वास र प्रतिबद्धता चाहिन्छ । चिकित्सक वा परामर्शदातासँग सल्लाह लिन सकिन्छ । यसको सेवनबाट स्वास्थ्यमा, आर्थिक अवस्थामा, पारिवारिक एवम् सामाजिक सम्बन्धमा पर्ने प्रभावहरूको मूल्यांकन गरी बेफाइदाहरू मनन गर्नुपर्दछ, जसबाट मद्यपान र धूमपानप्रति वितृष्णा पैदा हुन्छ ।

सेवनको मात्रा बिस्तारै घटाउँदै निश्चित समयसीमा तोकेर बन्द गर्नुपर्दछ । काममा व्यस्त रहने, धूमपान र मद्यपान गर्नेहरूको संगत नगर्ने र तलतल मेट्न अन्य वैकल्पिक उपायहरू अपनाउने गर्नुपर्छ ।

६) औषधि एवम् चिकित्सकको परामर्श
रक्तचापको अवस्थाअनुसार उपचारका लागि जीवनशैली परिवर्तन र औषधि चिकित्सकले सिफारिस गर्ने गर्दछन् । यसर्थ, चिकित्सकको नियमित सम्पर्कमा रही रक्तचाप मापन र अन्य आवश्यक परीक्षण गर्नुपर्छ । रक्तचाप सामान्य रहेमा र अन्य कुनै रिक्स नभएमा औषधिको मात्रा घटाउँदै चिकित्सकको निगरानी र सल्लाहमा बन्द गर्न पनि सकिन्छ ।

तर, आफैँले औषधि परिवर्तन वा बन्द गर्नुहुँदैन । चिकित्सकसँगको भेटमा बिरामीले रक्तचापको हालको अवस्था, हुनुपर्ने रक्तचाप, आफ्नो तौलको अवस्था, उचित आहारको छनोट, शारीरिक व्यायाम, औषधिको नाम, मात्रा, साइडइफेक्ट, अपनाउनुपर्ने सावधानी, औषधि सेवनको समय र तरिका आदिबारे पूरा जानकारी लिनुपर्छ र त्यसको पालना गर्नुपर्छ ।

निष्कर्षमा भन्नुपर्दा उच्च रक्तचाप जनस्वास्थ्यको जल्दोबल्दो समस्या हो । यो अव्यवस्थित जीवनशैलीबाट हुने भएकाले रोकथाम एवम् उपचार जीवनशैली व्यवस्थापनबाटै गर्नुपर्छ । उचित आहार, विहार, विचार र व्यवहारले उच्च रक्तचाप र त्यसबाट हुन सक्ने जटिलता कम गरी व्यक्तिलाई स्वस्थ सहन र उत्पादनशील एवम् गुणस्तरीय जीवन जिउन सघाउँछ। पुन: प्रकाशित



Leave a Reply

Your email address will not be published.