दक्षिण कोरियाले उत्तरसँग कोभिड नियन्त्रणबारे वार्ता गर्ने

हेल्थपोस्ट नेपाल

साेल-छिमेकी देशमा काेराेना फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड-१९ राहत उपायहरूबारे छलफल गर्ने प्रस्ताव राखेकाे छ।

बिहीबार प्योंगयांगले देशमा कोभिड-१९ सङ्क्रमणको पहिलो लहर देखिएको जनाएको छ। थुप्रै नागरिकमा ओमिक्रोन बी ए सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले एक सरकारी अधिकारीलाई उद्धृत गर्दै आइतबार जनाएको छ। समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक-योलले शुक्रबार उत्तर कोरियालाई कोभिड–१९ को खोप र चिकित्सा उपकरण उपलब्ध गराउने प्रस्ताव राखेका छन्।

दक्षिण कोरियाली सरकारले उत्तर कोरियालाई अर्काे साताकाे सुरुमा आधिकारिक रूपमा कार्यस्तरीय बैठक आयोजना गर्ने प्रस्ताव गर्ने तयारी गरिरहेको जनाइएकाे छ।

यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले देशको राष्ट्रिय सुरक्षामा सुरक्षा शून्यता हुन नदिन सबै मोर्चा, वायु र समुद्री सीमामा कडा निगरानी गर्न आदेश दिएको पनि योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ। यसैगरी उत्तर कोरियाली अधिकारीहरूले नेताको निर्देशनमा सर्वोच्च आदेशको आपतकालीन एन्टि-इपिडेमिक प्रणाली चुस्त राखेकाे जनाएका छन्।

बिहीबार उत्तर कोरियाली नेताले मे ८ मा प्योंगयांगमा ओमिक्रोन को पहिलो सङ्क्रमण फेला परेपछि त्यसबारे छलफल गर्न वरिष्ठ सरकारी अधिकारीहरूसँग बैठक गरेका थिए। नेता किमले कडारूपमा बन्दाबन्दी र महामारी रोकथाम प्रणालीलाई परिचालन गर्ने आदेश दिएका थिए।



Leave a Reply

Your email address will not be published.