त्यो बिहानी कति बेला आउला ?

देश पुरै चुनावमय भएको छ। समाचारमा चुनावी सरगर्मीले तताएर हेडलाइन्सजति चुनाव केन्द्रित छन्। भोट के होला, कसरी तान्ने होला भन्दै झण्डाहरु खिचातानी गरिरहेका छन्। मौन अवधि जारी छ। मौन रहँदा जसरी विचारहरुका ज्वारभाटा आउँछन्, त्यसरी नै चुनाव जित्ने मौन तिकडमहरुको बाढी पनि आउँदा हुन्। उम्मेदवारले नै जानुन् । मलाई त केवल बिहान कहिले हुन्छ भन्ने चिन्ता छ। त्यसैको पिरलो छ। रात नै कति लामो भएको महसुस हुन्छ।
(तत्व ज्ञान–समय वास्तवमै सापेक्ष कुरा रहेछ)

एक २० वर्षे महिला बच्चा जन्मेको ४ दिनमा स्या स्या गर्दै इमर्जेन्सीमा आएकी छन् । उनको स्वासदर नै ५० नाघेको छ। निकै अप्ठेरो महसुस भएको देखिन्छ। स्वा..स्वा..स्वा

एक पटक ५० पटक श्वास फेरेर विचार गर्नुहोस् त । कति गा・हो हुन्छ। कोभिडलाई जितेकाहरुले त कटु अनुभव नबिर्सेका होलान्। तर बिरामी नभएको व्यक्तिलाई मैले भनेका कुरा शब्दका अतिरन्जनामात्रै लाग्न सक्छ। छातिको एक्स–रेमा हेर्दा उनको मुटु सुन्नेको छ। यो डेलिभरीपश्चात् देखिने मुटुको समस्या हो, जसमा मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । जसलाई हर्ट फेलियर भनिन्छ । फोक्सोका श्वास फेर्ने प्रणालीमा पानी भरिएर अक्सिजन र कार्बन डाइअक्साइडको आदानप्रदान हुन सक्दैन। जसले गर्दा अक्सिजनको उच्च म्झबलम ले गर्दा श्वास छिटोछिटो फेर्न पर्छ। लामो समय सोही अवस्थामा रहँदा श्वास प्रणालीका मांसपेशी थाकेर आफ्नो कार्य गर्न छोड्ने अवस्था आउँछ। त्यसपछिको दृश्यमा स्वासको गति घट्छ। साथमा प्राणवायु पनि बिस्तारै छोड्दै जान्छ। स्वा…स्वा..स्वा..

(र, यो सबै देख्न बाध्य चिकित्सकलाई कस्तो छट्पटी हुन्छ होला ! कल्पना गर्नुहोस् त।)

कुनै ठूलो अस्पताल शिघ्र पठाउन मिल्ने सडक बाटो छैन। प्लेन सबेरै बिहान दैनिक एक पटक मात्रै उड्छ । मौसम खराब भए त्यो पनि उड्दैन। हेलिकप्टर लिफ्ट गर्न पनि महाभारत प्रक्रिया नै हुन्छ। उपचार गर्ने प्रयास गर्न मन छ । तर औषधि छैन। ज्ञान छ, तर प्रयोग गर्न श्रोत छैन। यस्तो अवस्थाका बिरामीलाई सहरतिर सघन कक्षमा राखेर उपचार गर्ने गरिन्छ । त्यो औषधि हरेक अस्पतालको इमर्जेन्सीमा हुनु आवस्यक हो । त्यस्ता औषधि दुरदराजका अस्पतालमा म्याद नाघेर सकिनु जायज हो। किनभने त्यस्तो जटिल अवस्थाको बिरामी यदाकदा आउने गर्छ।

जसरी मरुभूमिमा एक थोपा पानीको महत्व हुन्छ, त्यसरी नै त्यो समयमा त्यस्ता औषधि सबैभन्दा महत्त्वपूर्ण हुन्छ। प्रशासनले यो कुरा बुझ्न निकै जरुरी हुन्छ । त्यस्ता औषधिको म्याद सकिनु राम्रो हो। जनता त्यस्ता जटिल रोग लिएर नै आएनन् भनेर खुसी हुनुपर्छ। तर औषधिको प्रयोग नहुनु र म्याद सकिन्छ भनेर औषधि किन्न जाँगर नगर्नु अज्ञानता नै हो । नियमित रुपमा त्यस्ता औषधि खरिद गरिनुपर्छ।

भएको श्रोतसाधनको भरपुर प्रयोग गर्न खोज्दै छु । सबै प्रयास गर्दै छु। तर उनको स्वासदर देखेरै मन आत्तिन्छ। बेलाबेला घडी पनि हेर्छु। बल्ल ११ बजेछ भनेर त्यो लामो रातको कल्पना हुन्छ। लामो सुस्केरा लिन्छु। बिहानी हुन बाँकी रहेको समय हिसाब गर्छु । किनभने उनलाई विशेष उपचारको खाँचो छ। मसँग औषधि छैन । त्यो औषधिको गुण भएको स्थानीय स्तरमा पाइने कुनै प्राकृतिक तत्व छ कि भनेर पनि मनमा आउँछ। सम्झिन्छु–यार्सागुम्बा। खोज्छु गुगल गरेर।

तर यार्साको इश्वरीय स्थानका दुनियाँ ज्ञान भेटिन्छ। त्यो सब मलाई फिका लाग्छ। उनलाई छोड्न सकेको छैन । कतै श्वास नै बन्द हुने अवस्था आयो भने श्वासनलीमा पाइपसम्म छिराउने आँट गरेको छु। ४ दिने शिशु पनि भोकै छ। उसको भविष्य आमाको फेल भएको मुटु तंग्रने आशमा झुन्डिएको छ। मनमा जति छट्पटी भए पनि बिहानी कुर्नुको कुनै उपाय देख्दिन। साँच्ची ! त्यो मिर्मिरे बिहानी कति बेला आउला?

(कथाको परिवेश फोनमा प्रत्यक्ष सुनाइरहेका एक चिकित्सकको मनोभावको चित्रण गर्ने असफल प्रयास)



One thought on “त्यो बिहानी कति बेला आउला ?

Leave a Reply

Your email address will not be published.