अफिनले भन्यो–स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश स्वागतयोग्य

काठमाडौं–एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी जारी अध्यादेशको स्वागत गरेको छ।
पटक–पटक उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले यसपटक ‘जेल विदाउट बेल’ अर्थात् धरौटीमा रिहा नहुने व्यवस्था थप कडाइका साथ लागू गरेको भन्दै अफिनले स्वागत गरेको हो।
अध्यादेशमा ‘स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने’ मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ’ भन्ने प्रावधान थप गरिएको छ।
अफिनका अध्यक्ष वसन्त चौधरीले बुधबार विज्ञप्ति जारी गर्दै अध्यादेशमा गरिएको उचित र समयसापेक्ष कानूनी व्यवस्थाले देशभर रहेका ३५० भन्दा बढी निजी स्वास्थ्य संस्था तथा त्यसमा कार्यरत ५० हजारभन्दा बढी मेडिकल र प्यारामेडिकल जनशक्तिले निर्भिकतापूर्वक बिरामीको सेवामा समर्पित हुने वातावरण बनेको विश्वास लिएका छन्।
अध्यादेशको नेपाल चिकित्सक संघ, प्रजातन्त्रवादी चिकित्सक संघलगायतले स्वागत गरेका छन्।