झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

हेल्थपोस्ट नेपाल

दाङ–झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चारजना बिरामी परेका छन्। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए। अनमोललाई उपचारका लागि मंगलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएका र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिए। उनका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर छ।

बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ। बिरामी सबै एकैघरका भएको इन्चार्ज केसीले बताए। बिरामी उपचारका लागि ढिला गरी हिजो बेलुका मात्र अस्पतालमा आएको बताइएको छ। गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको बताइएको छ।



Leave a Reply

Your email address will not be published.