आगामी ५ वर्ष काठमाडौंको स्वास्थ्य क्षेत्रमा काम गर्न चाहन्छौं : गगन थापा

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले ५ वर्षभित्र काठमाडौंको स्वास्थ्य क्षेत्रमा काम गर्न चाहेको बताएका छन्।

बिहीबार आयोजित सक्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले काठमाडौंमा स्वास्थ्य उपचार असाध्यै महंगो भएकाले त्यसमा काम गर्न चाहेको बताए।

कमाइ गर्ने मानिसलाई कडा रोग लागेमा घरखेतै जाने अवस्था भएको उनको भनाइ छ। ‘मेयरका उम्मेदवार एक जना साथीलाई मिर्गौलाको रोग लाग्यो, ठूलो नेता भएको भए उहाँलाई सरकारले पैसा दिएर भारत पठाउँथ्यो, तर उहाँ ठूलो नेता होइन, काठमाडौमा चार आनामा घर छ, अब उपचार गर्दा उहाँको घरखेत जान्छ,’ उनले भने।

महामन्त्री थापाले महानगरका जनताको खल्तीको पीर बुझेको मेयर भए जनतालाई सजिलो हुने भन्दै जनताका लागि सामान्य काम गरिदिए पुग्ने बताए।

उनले सामुदायिक विद्यालयका लागि सानो काम गरिदिए पनि हामी सबैले आफ्ना केटाकेटी सामुदायिक विद्यालयमा पठाउन सक्ने बताए। ‘ठूलो होइन, हामीलाई सामान्य काम गरिदिने मानिस चाहिएको छ,’ उनले भने।

 



Leave a Reply

Your email address will not be published.