वैज्ञानिकको चेतावनी–कोरोना अझै सकिएको छैन, डेल्टा भेरियन्टले पुनः फैलाउन सक्छ महामारी

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोनाको डेल्टा भेरियन्ट र त्यसको उपभेरियन्टका कारण पुनः एकपटक कोरोना महामारी फैलने चेतावनी विज्ञहरुले दिएका छन्। हालै गरिएको एक अध्ययनबाट अनुसन्धानकर्ताहरुले यस्तो निस्कर्ष निकालेका हुन्।

एक इजरायली अध्ययनले कोरोना संक्रमण अझै समाप्त भइनसकेको र भविष्यमा डेल्टा भेरियन्टका कारण संक्रमणमा वृद्धि हुने देखाएको हो। इजरायलको बेन–गुरियन विश्वविद्यालयका अनुसन्धानकर्तारुले डेल्टा भेरियन्ट र त्यसको उपभेरियन्टका कारण कोरोना पुनः तीब्र हुने निस्कर्ष निकालेका हुन्।

डेल्टा भेरियन्टका कारण विश्वभर कोरोनाको दोस्रो लहर आएको थियो। यो निकै घातक रहेको र यसका कारण धेरैको ज्यान गएको पाइएको थियो। यो अध्ययन साइन्स जर्नल ‘द टोटल इन्भाइरोमेन्ट’ मा प्रकाशित गरिएको छ। अध्ययनमा डेल्टा भेरियन्ट कति खतरनाक छ भनेर केन्द्रित गरिएको थियो।

अध्ययनका अनुसार डेल्टा त्यसअघि अस्तित्वमा आएका सबै भेरियन्टभन्दा बढी संक्रामक र घातक भएको पाइएको छ। डेल्टापछि आएको ओमिक्रोन भेरियन्ट डेल्टाजति घातक थिएन। डेल्टा भेरियन्टबाट संक्रमित हुनेहरु अझै पनि भेटिने गरेकाले यसले फेरि टाउको उठाउन सक्ने चिन्ता वैज्ञानिकहरुले गरेका हुन्।

बेन–गुरियन विश्वविद्यालयमा फोहोर पानीको नमुना परीक्षण गरेर विभिन्न भेरियन्टबीच फरक बुझ्ने प्रयास गरिएको थियो। यो तरिकाबाट कोरोना भाइरस कहाँ–कहाँ सक्रिय छ भनेर पत्ता लगाउने प्रयास पनि गरिएको थियो। डिसेम्बर २०२१ देखि जनवरी २०२२ सम्मको तथ्यांक विश्लेषणका आधारमा यो निस्कर्ष निकालिएको हो। अनुसन्धानकर्ता एरियल कुश्मारो भन्छन्–यसपटक गर्मी मौसममा कोरोनाको अर्को लहर आउनसक्नेछ, जसको कारकमा डेल्टा वा अरु नै भेरियन्ट हुन सक्नेछन्।’



Leave a Reply

Your email address will not be published.