तीस वर्षदेखि जनकपुरमा चुनावी मुद्दा बनेको मच्छर

‘पानी सुकेर खिङ्ग्रिङ्ग हुन लागेका ती तलाउमा अहिले त फोहोरको डङ्गुरमात्रै देखिन्छन्। आफ्नै छायाले झुक्क्याइदिने त्यो ‘कञ्चन’ जल त अहिले पाउनु कहाँ?’

२०७७ फागुनमा जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा आयोजना भएको मैथिली लिट्रेचर फेस्टिभलमा पूर्वराष्ट्रपति डा.रामवरण यादवले व्यक्त गरेको अभिव्यक्ति हो, यो।

जनकपुरधामको पोखरी र तलाउहरूको चर्चा गर्दै भनेका थिए–ती त अचेल मच्छरका ‘दामी’ घर भएका छन्। भुनभुनाउँदै भयंकर लाग्ने।

जनकपुरधाम–९ मा घर भएका पूर्वराष्ट्रपति यादवलाई बढ्दै गरेको मच्छर ‘आतंक’ ले ज्यादै पिरोलेको थियो। पवित्र तलाउलाई फोहोरको डङ्गुर बनाउँदै गएपछि जनकपुरधाम मच्छरको सहरको चिनारी पाउन थालेको चिन्ता उनमा देखिन्थ्यो।

अनि उनले भनेका थिए,‘ती मच्छरहरू त तपाईं हाम्रै लापरबाहीका उत्पादन हुन्। तलाउ मास्ने। भएको पानी मास्ने। अनि ढल मिसाउने। ती पवित्र सागर त अचेल फोहोरका डङ्गुर भएका छन्। दिनदिनै तलाउको डिलमा हिँड्छु। देख्दा मन चसक्क हुन्छ।’

बोल्दाबोल्दै डा.यादवले मुख्यमन्त्री लालबाबु राउतको नामै लिएर भनेका थिए,‘जानकीको पवित्र भूमिलाई पुज्न आउने हाम्रा पाहुनलाई हामीले यही मच्छर उपहार दिने?’

पूर्वराष्ट्रपति यादवबाट ‘मच्छर–पीडा’ को यो भोगाइ १४ महिनाअघिमात्रै अभिव्यक्त भएको हो। तर, जनकपुरवासीले मच्छरको समस्या दशकौंदेखि भोग्दै आइरहेका छन्।

त्यसैले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका हरेक उम्मेदवारका लागि जनकपुरधामको मच्छर प्रमुख मुद्दा बनेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका मेयरदेखि वडाध्यक्षसम्मका उम्मेदवारहरूले मच्छर निमूर्लीकरणलाई प्रमुख मुद्दा बनाइरहेका छन्।

छिमेकी मुलुक भारतको बिहार राज्यका कतिपय सहरहरू ‘मेट्रो’ सहरको रूप लिँदै विकासमा फड्को मारिरहेको छ। सहरभित्र ठूला–ठूला ‘फ्लाइ ओभर’ बनरिहेका छन्। रिङ्ग रोड र आउटर रिङ्ग रोडहरू निर्माण भइरहेका छन्।

तर, देशकै जेठो नगरपालिकामध्येका एक जनकपुरधाम ‘मच्छर’ कै मुद्दामा बल्झिएको छ। दिउँसै हैरान पार्ने मच्छरको टोकाइबाट आजित जनकपुरवासीलाई पनि लागेको छ– त्यस्तो जनप्रतिनिधि आइदिए हुन्थ्यो जसले मच्छरलाई जडैबाट निर्मूल पारिदिओस्।

र, यसैको फाइदा उठाउँदैछन् पाँच वर्षका लागि निर्वाचित भएर आउने सम्भावित जनप्रतिनिधिहरू– आ–आफ्नो घोषणापत्र र प्रतिवद्धतापत्रमा मच्छर समस्यालाई अन्त्य पार्ने वचन दिएर।

मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका निर्माण व्यवसायी बलराम महतोले मंगलबार ‘जनकल्याण प्रतिबद्धतापत्र’ सार्वजनिक गरे।
उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा जनकपुरधामको समग्र विकासका कुरा त गरेका छन् नै। मच्छर र फोहोर व्यवस्थानलाई प्रमुख समस्याको रूपमा उठान गरेका छन्।

महतोलेमात्रै होइन अरू उम्मेदवारहरूले पनि प्राथमिकतामा पनि मच्छर नियन्त्रणलाई नै राखेका छन्। कतिपयले निर्वाचित भएर आएको एक वर्षभित्र कतिले दुई वर्षभित्र जनकपुरबाट मच्छर पूर्ण रूपले निर्मूल पारिदिने दाबी गरेका छन्।

जनकपुरवासीका लागि मच्छरको यो समस्या नयाँ होइन। प्रजातन्त्र पूर्नवहालीपछि २०४९ मा पहिलोपटक भएको स्थानीय निर्वाचनका बेला पनि राजनीतिक दल र उम्मेदवारहरूका लागि मच्छर प्रमुख चुनावी मुद्दा बनेको थियो। २०४९ अघि पञ्चायतकालमा भएका निर्वाचनहरूमा पनि, प्रमुख मुद्दा त्यही थियो।

२०५४ मा दोस्रोपटक भएको निर्वाचनपछि स्थानीय तह कर्मचारीको हातमा पुग्यो। त्यतिबेला पनि जनकपुरका नगरवासीहरू मच्छर नियन्त्रणको माग राख्दै पटक–पटक आन्दोलनमा उत्रिए।

तीन दशकभन्दा बढीदेखि एउटै विषय चुनावी मुद्दा बनिरहे पनि मच्छरको समस्या ज्यूँकात्यूँ छ, जनकपुरधाममा। हुँदाहुँदा जनकपुरवासीको नजरमा अब यो एउटा चुनावी मुद्दाबाहेक अरू केही पनि रहेन। त्यसैले चुनावका बेला कुनै उम्मेदवारले ‘मच्छर नियन्त्रण’ गर्ने बाचा गरिरहँदा त्यहाँका स्थानीयले अब पत्याउनसमेत छाडिसकेका छन्।

‘चुनावका बेला मच्छर नियन्त्रण मुद्दा बनेको यो पहिलोपटक होइन, वर्षौंदेखि यही कुरा सुन्दै आएका छौं,’ स्थानीय अरुणकुमार झा भन्छन्,‘नारा र मुद्दामा मात्र सीमित भइसकेको छ। अब यस्ता नारा सुन्दा विश्वास लाग्नसमेत छोडिसक्यो।’

मच्छर नियन्त्रणका लागि जनप्रतिनिधिहरूले पटक–पटक गरिरहेका प्रतिवद्धता र वाचालाई जनकपुरवासीले अब ‘मजाक’ का रूपमा हेर्न थालेका छन्। ‘जनकपुरधाम धार्मिक स्थल हो। धर्म कमाउन तिर्थालु यहाँ आउने गरेका छन्। तर, मच्छरले नटोक्दासम्म पूण्य नै हुँदैन,’ एक होटल व्यवसायी व्यङ्ग्य गर्दै भन्छन्,‘मच्छरको टोकाइ त भगवानको प्रसाद भइसक्यो अब।’

२०७४ को स्थानीय तह निर्वाचनमा पनि राजनीतिक दल र उम्मेदवारहरूका लागि ‘मच्छर नियन्त्रण’ प्रमुख मुद्दा बन्यो। त्यतिबेला मेयरमा उम्मेदवारी दिएका लालकिशोर साह, मनोजकुमार साहलगायतका उम्मेदवारहरूले फोहोर व्यवस्थापन र मच्छर नियन्त्रणलाई मुद्दा बनाए। अहिले फेरि लालकिशोर र मनोज मेयरको प्रतिपस्पर्धामा छन्।

मतदाताको भारी मत पाएर लालकिशोर साह मेयरमा निर्वाचित भए। मतदातासामू आफूले गरेको वाचाअनुसार मच्छर नियन्त्रण उनको लागि ठूलो चुनौती थियो।

मच्छर नियन्त्रण गर्नकै लागि उपमहानगरले केही दिन साँझको समयमा बजार क्षेत्रमा ‘इन्सेक्टिसाइड’ छर्कन लगायो।

चार वर्षको आफ्नो कार्यकालमा ७० प्रतिशतभन्दा बढी मच्छर नियन्त्रण भएको निवर्तमान मेयर लालकिशोरको दाबी छ। तर, उनको यो दाबीलाई जनकपुरवासीले पत्याइरहेका छैनन्।

गएको तीन वर्षमा उपमहानगरले मच्छर नियन्त्रणकै लागि ५१ लाख ७७ हजार ८५६ रूपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०७६–०७७ देखि चालू आर्थिक वर्षसम्म मच्छर नियन्त्रका लागि उपमहानगरले यो रकम खर्च गरेको हो। त्यसअघिका वर्षहरूमा पनि मच्छर नियन्त्रणको शीर्षकमा उपमहानगरले खर्च गरेको छ।

मच्छर नियन्त्रकै लागि उमहानगरले लाखौं खर्च गरेको भनिरहे पनि समस्या ज्यूँकात्यूँ रहेको स्थानीयवासीको भनाइ छ।

किन हुँदैन मच्छर नियन्त्रण?

ढल र नालाको समूचित व्यवस्थापन हुन नसक्दा मच्छर नियन्त्रणमा समस्या देखिएको विज्ञहरू बताउँछन्।

मधेस प्रदेस स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झा ‘फ्याक्ट्री नै खोलेपछि मच्छर कहाँबाट नियन्त्रण हुन्छ?’ बताउँछन्।
जतिबेला पनि ढल र नालामा फोहोर जम्मा भइरहने भएकाले मच्छर नियन्त्रण हुन नसकेको उनको भनाइ छ।

‘मच्छरको फ्याक्ट्री खोलेर राख्यौं भने मच्छर नै उत्पादन हुने हो, नालाको पानी बगेको छैन, सबै ठाउँमा पानी जमेको अवस्था छ,’ आयोमेलसँग झाले भने,‘ढल र नालाको पानी नै बगेन भने मच्छर उत्पादन हुने भइहाल्यो। लामखुट्टे ब्रिडिङको सबैभन्दा राम्रो स्थान भनेकै नालाको फोहोर पानी हो।’

उनकाअनुसार जमेको पानी मच्छरले फुल दिने सबैभन्दा उपयुक्त स्थान हो। ‘बगिरहेका पानीमा मच्छरले फुल दिनसक्दैन, त्यसैले ढल र नालाको पानीलाई चलायमान बनाउन सकियो भने त्यसको उत्पादनलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने।

उपमहानगरले ढल र नाला सफाइतर्फ बढी चासो नदिएर मच्छर नियन्त्रणका लागि बेला–बेला किटनाशक औषधि छर्कने गरेको छ।
तर, इन्सेक्टिसाइड छर्कनु लामखुट्टे नियन्त्रणको समाधान नरहेको झा बताउँछन्।

‘औषधि छर्कनु लामखुट्टे नियन्त्रणको समाधान हुँदै होइन, त्यो त इन्सेक्टिसाइड हो। वातावरणका साथै मानव स्वास्थ्यमा पनि असर पार्छ,’ आफू जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको प्रमुख छँदा २०६५ सालमा नगरसभामा भनेको कुरा स्मरण गर्दै उनले भने,‘मैले त्यतिबेला पनि भनेको थिएँ, ‘स्पे्र’ समाधान होइन। नियन्त्रणका लागि फोहोर व्यवस्थापन र पानीको उचित निकास हुनुपर्छ भनेर।’

जनकपुरमा मच्छर नियन्त्रण हुनुमा त्यहाँ रहेका पोखरीहरू पनि एउटा कारण हुनसक्ने अनुमान गरिन्छ। सहरभित्र र बाहिरगरी जनकपुरमा दर्जनौं पोखरीहरू छन्। ती पोखरीहरूका कारण पनि मच्छर नियन्त्रण हुन नसकेको कतिपयको तर्क छ।

निर्देशक झा सफा पोखरीमा मच्छरले फुल दिन नसक्ने बताउँछन्। ‘पहिलो कुरा पोखरीको पानीमा कुनै नकुनै तरिकाले मुवमेन्ट भइरहन्छ अर्को कुरा पोखरी सफा छ भने मच्छरले फुल दिनसक्दैन,’ उनी भन्छन्,‘पोखरीकै कारण मच्छर नियन्त्रण हुन नसक्ने होइन।’

पोखरीको पानीलाई सफा र चलायमान बनाइराख्ने हो भने त्यसमा मच्छरले फुल दिन नसक्ने उनको भनाइ छ।

‘पोखरीकै कारण मच्छर उत्पादन हुन्छ भन्ने कुरा होइन,’ उनले भने,‘मूल कुरा ढल र नालाको पानी जम्नु भएन, पानी बगिरहनु पर्‍यो। मच्छर आफैं नियन्त्रण हुन्छ।’

 



Leave a Reply

Your email address will not be published.