बाँकेलाई औलोरहित जिल्ला बनाउने तयारी

हेल्थपोस्ट नेपाल

नेपालगञ्ज-बाँकेलाई औलोरहित जिल्ला बनाउनका आवश्यक तयारी तीव्र रुपले अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। सन् २०२५ सम्ममा नेपालबाटै औलो उन्मुलन गर्ने तयारी भए पनि बाँकेको खासगरी नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा औलोका बिरामी देखापरेपछि सम्बन्धित पालिका र स्वास्थ्य कार्यालय बाँकेले आवश्यक तयारी अघि बढाएको छ।

बाँकेको नरैनापुरमा सबैभन्दा बढी केस देखापरेपछि स्थानीय पालिकाले त्यसको निगरानी राख्नुका साथै उपचारसँगै जनचेतनाका लागि पहल गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए। उनले भारतको महाराष्ट्रमा रोजगारी गर्न जानेहरू उतैबाट संक्रमित भएर आउने गरेको कारण नरैनापुरमा संक्रमित संख्या बढी देखिएको बताए।

उनले भने, ‘देखिएको केस नरैनापुरको स्थानीय होइन। भारतमा रोजगारीका लागि गएर फर्केकालाई ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा औलोको संक्रमण देखिएकाे हाे ।’

उनले चालु आर्थिक वर्षको चैत्रसम्ममा नरैनापुरका ४२ जनामा औलोको संक्रमण देखिएको बताए। उनले पालिकाले सचेतनाको लागि विभिन्न कार्य गर्दै आएको साथै झुल वितरण गर्ने, लामखुट्टेको लार्भा मार्नको लागि विषादी छर्ने जस्ता कार्य भएको बताए।

औलोबाट बाँकेको नरैनापुरको वडा नं २ र ३ मा सबै भन्दा बढी संक्रमित पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६१ जना, ०७६/०७७ मा ५६, ०७७/०७८ मा ४२ र चालु आर्थिक वर्षको २१ चैतसम्मको ८० वटा केस रिर्पोटिङ भएका छन् । न्युज कारखाना



Leave a Reply

Your email address will not be published.