युरोपमा महामारी बन्यो मोटोपनाको समस्या

हेल्थपोस्ट नेपाल

काठमाडौं–मोटोपनाले युरोपमा महामारीको रुप लिइसकेको एक अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार युरोपका ५९ प्रतिशत वयस्क मानिसहरु मोटोपनाको शिकार भएका छन्। हरेक ३ बालबालिकामा एक जना मोटोपनाबाट पीडित छन्।

तथ्यांकअनुसार करिब २९ प्रतिशत बालक र २७ प्रतिशत बालिका बढ्दो तौल र मोटोपनाको शिकार भएका छन्। युरोपमा यो समस्या यति गम्भीर भइसकेको छ कि यसलाई अब महामारीको रुपमा हेर्न थालिएको छ। युरोपेली मुलुकका ५ वर्ष या त्योभन्दा कम उमेरका ७.९ प्रतिशत अर्थात् ४४ लाख बालबालिकाहरु मोटोपना र तौल वृद्धिको शिकार भएका छन्।

डब्लुएचओको युरोपियन रिजनल ओबेसिटी रिपोर्टका अनुसार यस क्षेत्रमा उच्च रक्तचाप, आहारसम्बन्धी जोखिम र सुर्ती सेवनपछि मोटोपना चौथो नसर्ने रोगको कारक बनिरहेको छ। साथै, यो युरोपमा विकलांगताका लागि प्रमुख जिम्मेवार मानिएको छ।

युरोपेली मुलुकमा गरिएको प्रारम्भिक अध्ययनबाट लकडाउनका बेला यो समस्या बढेको देखिएको छ। यो बेला किशोर र बच्चाहरुको औसत बडी मास इण्डेक्समा वृद्धि भएको पाइयो।

युरोपमा लामो समयदेखि बढेको मोटोपनाको समस्याबाट विकलांगता र मृत्युको खतरा बढी भएको बताइएको छ। एक अनुमानअनुसार यहीकारण युरोपमा हरेक वर्ष १२ जनाको मृत्यु हुने गरेको छ, जो यो क्षेत्रमा हुने कूल मृत्युदरको करिब १३ प्रतिशत हो।

विश्वका करिब १ अर्बभन्दा बढी मानिसहरु मोटोपनाको समस्या सामना गरिरहेका छन्, जसमा ६५ करोड वयस्क, ३४ करोड किशोर र ३.९ करोड बालबालिका छन्। डब्लुएचओका अनुसार यो आँकडा बढ्दै जाँदा सन् २०२५ सम्म मोटोपनाबाट पीडित १६.७ करोड मानिसहरु विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनेछन्।

इम्पेरियल कलेज लण्डन र डब्लुएचओबाट गरिएको एक अध्ययनमा पछिल्ला चार दशकमा विश्वव्यापी स्तरमा मोटोपनाबाट ग्रस्त बालबालिका र किशोर (५ देखि १९ वर्ष) को संख्या दश गुणा बढेको छ। र, आगामी समयमा यो समस्या अझ बढ्ने आँकलन गरिएको छ।

मोटोपनाका कारण कैयौं नसर्ने रोग लाग्ने जोखिम हुन्छ, जसमा टाइप टु डाइबिटिज, मुटु रोग, उच्च रक्तचाप, श्वासप्रश्वासको समस्या आदि पर्छन्। यतिमात्र नभई आवश्यकताभन्दा बढी तौलले १३ प्रकारका क्यान्सरको खतरासमेत बढाउँछ।

मोटोपनाले मुटु, मिर्गोला, जोर्नी र प्रजनन प्रणालीमा समेत असर पु¥याउँछ। मोटोपनाबाट ग्रस्त मानिसहरुमा कोभिड लागेमा अस्पताल भर्ना हुने सम्भावना तीन गुणा बढाउँछ।

खानपान र जीवनशैली प्रमुख कारक
शरीरमा आवश्यकताभन्दा बढी बोसो जम्मा भएमा मानिस मोटाउन थाल्छन्। यसले शरीरको स्वास्थ्य प्रणालीमा असर पु¥याउँछ। यसको कुनै निश्चित उपचार छैन। तर खानपान र जीवनशैलीमा ध्यान दिए यो समस्यालाई रोक्न सकिन्छ।

यतिमात्र नभई बालबालिकामा बढ्दो अनलाइन गेमका कारण पनि यो समस्या बढिरहेको छ। यस्तै बालबालिकालाई जंकफूड, फ्राइ गरेको खानाबाट जोगाउनुपर्छ। आफूसँगै खुला हावामा घुमाउनुपर्छ, पार्कमा खेल्न जान प्रेरित गर्नुपर्छ।



Leave a Reply

Your email address will not be published.