जिउँदै मानिसलाई शववाहनमा राखेपछि…

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोना संक्रमित बिरामीलाई जिउँदै शववाहनमा राखेको घटना सार्वजनिक भएपछि चिनियाँ सांघाइ जिल्ला प्रशासनले चार कर्मचारीलाई बर्खास्त गरेको छ।

आइतबार सार्वजनिक भएको एउटा भिडियोमा दुई कर्मचारीले संक्रमितलाई बडी ब्यागमा राखेर शवबाहनमा राखिरहेको देखिएको थियो। तीमध्ये एकले ब्याग पुनः खोलेको र अर्काले बिरामी अझै जिउँदै रहेछन् भनेको भिडियोमा सुनिएको छ।

बिबिसीका अनुसार यो घटनापछि चिनियाँ सामाजिक सञ्जालमा व्यापक आक्रोश व्यक्त गरिएको छ। सांघाइको पुटुओ जिल्ला प्रशासनले सोमबार अबेर घटना भएको पुष्टि गर्दै बिरामीलाई तत्काल अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताएको छ।

यसबारे पाँच अधिकारी र एक डाक्टरबारे अनुसन्धान भइरहेको जनाइएको छ। बर्खास्त हुनेमा स्थानीय नागरिक मामिला ब्यूरोका उपनिर्देशक र केयर होमका निर्देशकसहित चार जना बर्खास्त भएका छन्। चिकित्सकको भने लाइसेन्स निलम्बन गरिएको छ।

सांघाइमा कोरोना संक्रमण तीव्र भएपछि गत अप्रिलको सुरुबाट कडा लकडाउन जारी छ। लामो समयदेखि घरभित्रै थुनिनुपरेपछि स्थानीयहरुले विरोध जनाइरहेका छन्।



Leave a Reply

Your email address will not be published.