आँखाका भावहरुलाई छोप्छ कालो चश्माले?

हेल्थपोस्ट नेपाल

काठमाडौं–‘जनताको प्रतिनिधि बन्न चाहने व्यक्तिका आँखाले आफूलाई मत दिने नागरिकका आँखासँग भावनाले कुरा गर्नुपर्छ। साउती गर्नुपर्छ। कालो चश्मा धारण गरेर तिमी जनताको मनभित्र पस्न सक्दैनौं बालेन शाह। जनताको नेता बन्नुछ भने पहिला तिम्रा आँखाका भावहरुलाई छोप्ने तिम्रो कालो चश्मा खोल।’

मदन पुरस्कारविजेता एवं केही समयअघिसम्म प्रहरीका उच्च अधिकारीसमेत रहेका महेशविक्रम शाहले केही दिनअघि आफ्नो फेसबुकमा लेखे।

काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह यतिखेर आफ्नो चुनावी अभियानमा छन्। राजनीतिक दलप्रति सर्वत्र निराशा व्यक्त भइरहेका बेला उनको उम्मेदवारलाई केहीले आशाको रुपमा लिएका छन्।

तर, चुनावी अभियानका क्रममा होस् या सञ्चारमाध्यमका अन्तर्वार्तामा उनी हरदम कालो चश्मामा देखिन्छन्। साहित्यकार शाहकाे जस्तै अधिकांशकाे जिज्ञासा हो, उनी किन सधैं कालो चश्मामात्र लगाइरहन्छन्?

मेयरको चुनावी अभियानमा रहँदा सबैभन्दा प्राथमिकताको विषय हो–नागरिकसँगको प्रत्यक्ष अन्तर्क्रिया। साहित्यकार शाहले भनेजस्तै नागरिकले उनले बोलेको कुरासँग उनको आँखा पढ्न खोज्छन्, उनको आँखाको भाव हेर्न खोज्छन्।

तर, उनी अधिकांश समय कालो चश्मामै रहन्छन्।

खासमा ‘आइ टु आइ कन्ट्याक्ट’ को महत्व कति छ ?
१. एक अर्काबीच सम्बन्ध जोड्छः अध्ययनअनुसार ‘आइ टु आइ कन्ट्याक्ट’ ले एक अर्काबीच भावनात्मक सम्बन्ध जोड्छ। यसले भावनात्मक व्यवहारलाई प्रभाव पार्ने मस्तिष्कको ‘लिम्बिक मिरर सिस्टम’ लाई सक्रिय राख्छ। यसको अर्थ हो आइ टु कन्ट्याक्टले दुवै जनाको मस्तिष्कमा रहेको न्युरोन एकै पटक सक्रिय हुन्छ र भावनात्मक सम्बन्ध बनाउँछ।

२. इमान्दारिता प्रस्तुत हुन्छः आइ कन्ट्याक्टले वार्तालापका बेला इमान्दारिता प्रस्तुत गर्छ। आँखा सांकेतिक भाषामा सञ्चार गर्ने अभिन्न अंग हो। शब्दले व्यक्त गर्न नसक्ने धेरै भावना आँखाले बोल्छ। र, इमान्दारिताले दुई व्यक्तिबीच विश्वास निर्माण गर्न सहयोग गर्छ।

३. प्रेरणा प्रदान गर्छः प्रत्यक्ष आइ कन्ट्याक्टले प्रेरणा प्रदान गर्छ। अरुलाई आफूप्रति आकर्षिक गर्ने सबैभन्दा महत्वपूर्ण सांकेतिक सञ्चार हो यो।

४. आपसमा समझदारी वृद्धि हुन्छः आइ कन्ट्याक्टले दुवै व्यक्तिबीच कुराकानी हुँदा केन्द्रित हुन, अनुहारका भाव पढ्न सघाउ पु¥याउँछ। यसले आपसी समझदारी वृद्धि हुन्छ।

५. सम्मान बढ्छः आइ कन्ट्याक्टले आपसी सम्मान बढ्छ, सम्बन्धप्रति सम्मान बढ्छ।

६. आइ कन्ट्याक्ट हुँदा आफूले भनेको कुरा अर्को व्यक्तिलाई स्मरण भइरहन्छ।

७. युनिभर्सिटी अफ पेरिसले गरेको अध्ययनअनुसार आइ कन्ट्याक्टले आत्म सचेतनाका लागि सहयोग गर्छ। यसको अर्थ के हो भने शरीरले के गरिरहेको छ भन्ने कुरामा सचेत हुन आइ कन्ट्याक्टले सहयोग पुर्‍याउँछ।

८. आकर्षण सिर्जना गर्छः अनुसन्धानका अनुसार आइ कन्ट्याक्टले मानिसलाई अरुप्रति आकर्षित पार्न मद्धत गर्छ।

सिद्धान्तहरु भन्छन्–कसैसँग आँखामा हेरेर कुरा गर्दा ५०-७० को सिद्धान्त अपनाउनुपर्छ। अर्थात् कसैसँग छलफलका क्रममा ५० देखि ७० प्रतिशत समय अर्को व्यक्तिको आँखामा हेर्नुपर्छ।



Leave a Reply

Your email address will not be published.