विश्वभर १० हजार भाइरस, जंगली जनावर मानव स्वास्थ्यका लागि ‘खतरा’

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्वभर १० हजारभन्दा बढी भाइरस जनावरमा फैलिएको र तिनीहरु मानव शरीरमा पनि प्रवेश गर्न सक्ने अनुसन्धानकर्ताहरुले जनाएका छन्। त्यस्ता भाइरस खासगरी जंगली जनावरमा पाइएको बताइएको छ।

‘नेचर’ जर्नलमा प्रकाशित अनुसन्धानअनुसार तापक्रम वृद्धिसँगै जंगली जनावरहरु अर्को स्थानमा स्थानान्तरण हुने क्रममा तिनीहरुमा भाइरस वृद्धि भएको हो। यही क्रम जारी रहे सन् २०७० सम्म जंगली जनावरमा १५ हजार भाइरस हुनसक्ने आँकलन विज्ञको छ।

जर्जटाउन विश्वविद्यालयका रोग विशेषज्ञ एवं अध्ययनका लेखक ग्रेगरी अल्बरीले भविष्यमा जनावरको संख्या मानवस्वास्थ्यका लागि खतरा हुनसक्ने चेतावनी दिए। ‘आगामी दशक तापक्रम वृद्धि हुनेमात्रै नभई रोग वृद्धिको दशक पनि हुनसक्छ,’ उनी भन्छन्।

५ वर्ष लगाएर यो अध्ययन गरिएको हो, जसमा ३ हजार १ सय ३९ जनावरका प्रजातिमा अध्ययन गरिएको थियो। अनुसन्धानकर्ताहरुले जलवायु परिवर्तन र त्यसले जनावरका गतिविधिमा पार्ने प्रभावबारे अध्ययन गरेका थिए।

भारत, पूर्वी चीन, इण्डोनेसिया, फिलिपिन्स तथा युरोपका बढी जनसंख्या भएका सहर यस्ता भाइरस संक्रमणको केन्द्र हुने चेतावनी उनीहरुको छ।

 



Leave a Reply

Your email address will not be published.