यस्ता छन् राप्रपाको चुनावी घोषणापत्रमा स्वास्थ्यका प्रतिबद्धता

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्रमा सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमाको प्रतिबद्धता जनाएको छ।
स्थानीय तह निर्वाचनका लागि शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले स्वास्थ्यका ९ वटा प्रतिबद्धता जनाएको हो।
जसअनुसार हरेक वडामा स्वास्थ्यचौकी र निःशुल्क, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम, प्रत्येक वडामा प्रसुती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजारका दरले मासिक भत्ता र स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तै, सिकलसेल एनिमियाजस्ता रोगका बिरामीलाई निःशुल्क उपचार, क्यान्सर, मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थनीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप र प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्थाको प्रतिबद्धता राप्रपाले जनाएको छ।