लकडाउनका बेला असुरक्षित यौनसम्बन्धका कारण भारतमा ८५ हजार मानिस एचआइभीको शिकार

हेल्थपोस्ट नेपाल

काठमाडौं–लकडाउनका बेला असुरक्षित यौनसम्बन्ध राखेका कारण भारतमा ८५ हजारभन्दा बढी मानिस एचआइभी संक्रमणको शिकार भएका छन्।

सूचनाको हकबाट प्राप्त एक तथ्यांकअनुसार सबैभन्दा धेरै महाराष्ट्रमा १० हजार ४ सय ९८ जना संक्रमित भएका छन् भने आन्ध्रप्रदेशमा ९ हजार ५ सय २१, कर्नाटकमा ८ हजार ९ सय ४७ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

पश्चिम बंगालमा ३ हजार ७ सय ७५ र मध्यप्रदेशमा ३ हजार ३७ जनामा संक्रमण भेटिएको छ। यो सन् २०२०–२१ को तथ्यांक हो। एड्स नियन्त्रण संस्था (नाको) का अनुसार लकडाउनका बेला असुरक्षित यौनसम्पर्कका माध्यमबाट ८५ हजार २ सय ६८ जना एचआइभी संक्रमित भएको पाइएको हो। प्री तथा पोस्ट टेस्ट काउन्सिलङपछि संक्रमितहरुले आफैं यसबारे जानकारी दिएका हुन्।

भारतमा सन् २०११ र २०२१ को एक दशकको बीचमा १७ लाख ८ हजार ७ सय ७७ मानिसहरु एचआइभी संक्रमित भएका छन्। यद्यपि विगत १० वर्षमा एचआइभी संक्रमण दरमा निकै कमी आएको बताइएको छ।

असुरक्षित यौन सम्पर्कबाट २०११–१२ मा २ लाख ४० हजार जनामा एचआइभी भएका पाइएको थियो भने २०२०–२१ मा यो संख्या घटेर ८५ हजार २ सय ६८ भएको थियो। सन् २०२० सम्म एचआइभी संक्रमितको संख्या २३ लाख १८ हजार ७ सय ३७ रहेको छ, जसमा बालबालिकाको संख्या ८१ हजार ४ सय ३० छ।



Leave a Reply

Your email address will not be published.