‘हो मलाई क्यान्सर छ र म बाँच्न चाहन्छु’

हेल्थपोस्ट नेपाल

जिन्दगी र मृत्युबीच मात्र एउटा फरक छ–जिन्दगी जिएर हामी जो अनुभव हासिल गर्छौं, त्यसलाई व्याख्या गर्न सक्छौं। किनभने, त्यतिखेर हामी बाँचिरहेका हुन्छौं।

मृत्यु अनुभवको कथा अज्ञात नै रहन्छ। सासको आधार नै नरहने हुनाले मानिसहरुका सामु मृत्युको अनुभव नै हुँदैन। बस, मृत्यु आउँछ र मानिस निर्जिव हुन्छन्।

बाँचेकाहरुले मरेकाहरुको मृत्युको कथा भन्न सक्छन्। तर उनीहरु मृत्युपछि के हुन्छ भनेर भन्न सक्दैनन्।

तर कहिलेकाहीँ समाजमा मानिस मरेको केही समयमा ब्युँतेका कथा सुन्न पाइन्छ।

जब उनी दोस्रो पटक ब्यँुतिएका थिए, नङमा चामलको दाना, रातो सिन्दुर र उडहुलको फूल थियो। यस्तो कथा बिहारको गाउँमा सुनिइरहन्छ।

तर दोस्रोपटक जिउँदो भएका कुनै पनि मानिसले मृत्युको अनुभव सुनाएका उदाहरण छैनन्

सायद, मृत्यु डरलाग्दो हुन्छ। हामी मर्न चाहँदैनौं। बाँच्न चाहन्छौं, लामो समयसम्म। भारतजस्ता देशमा त अधिकांश मानिसहरु ७० वर्षको औसत आयु पूरा गर्छन्।

यदि, ५० वर्षभन्दा कम उमेरमा मृत्युले आक्रमण गर्‍यो भने के होला?

विश्वको खतरनाक रोगमध्ये एक
म ४६ वर्षको भएँ। जनवरी २०२१ मा क्यान्सर लागेको पत्ता लाग्नु केही दिनअघि मैले ४५ औं जन्मदिन मनाएको थिएँ। हल्का खोकी र ज्वरो थियो।

जचाउन गएँ। प्रारम्भिक परीक्षणमा मलाई फोक्सोको क्यान्सर लागेको पत्ता लाग्यो।

मलाई जाँचेका राँचीका डाक्टर निशिथ कुमारले भनेका थिए–यो अन्तिम स्टेजको क्यान्सर हुनसक्छ।’ क्यान्सर भएको ट्युमर र लिम्फ नोड्स फैलिएको देखिएको थियो।

त्यतिन्जेलसम्म यो सबै तस्बिरमा मात्र सीमित थियो। क्यान्सर र त्यसको स्टेजको पुष्टिका लागि मैले अब कैयौं परीक्षण पार गर्नुपर्ने थियो। त्यो दिन थियो ३० जनवरी। महात्मा गान्धीको पुण्यतिथि।

क्यान्सर विश्वका खतरनाक रोगमध्ये एक मानिन्छ। आमसर्वसाधरण क्यान्सर लागेपछि उसको कुनै पनि बेला मृत्यु हुने ठान्छन्।

यद्यपि यसबारे चिकित्सा विज्ञानले निरन्तर अनुसन्धान गरिरहेको छ, कैयौं महत्वपूर्ण थेरापी प्रचलनमा छन्।

औंसीको त्यो अँध्यारो रात
चिकित्सकहरु भन्छन्–यदि सुरुवाती अवस्थामा क्यान्सर पत्ता लाग्यो भने उपचार सम्भव छ। कैयौं मानिसहरुको यसको सफल उपचार पनि भएको छ।

तर दोस्रोपटक पुनः क्यान्सर लाग्ने आशंका, यसबाट हुने मृत्युको आँकडा र क्यान्सर उपचारका क्रममा हुने साइडइफेक्टका कारण मानिसहरु डराउँछन्।

र, यसको उपचार महंगो पनि छ।

क्यान्सर पत्ता लागेको भोलिपल्टै जब म उपचारका लागि मुम्बई पुगेँ, मेरो आँखाअगाडि औंसीको अँध्यारो रात खडा थियो।

त्यहाँको चर्चित टाटा मेमोरियल अस्पतालकी डाक्टर देवयानीले मेरो केही परीक्षण गराइन्। शरीरमा मोटा सूई रोपिन सुरु भयो। र, मलाई भर्ना गरियो।

अर्को दिन बायोप्सीसहित केही अत्यावश्यक परीक्षणपछि डाक्टरहरुले मेरो क्यान्सर अन्तिम अर्थात् चौथो स्टेजमा भएको बताए। मलाई लङ कार्सिनोमा मेटास्टेटिक भएको बताइयो।

यो यस्तो स्थिति हो, जब क्यान्सरका कोशिकाहरु आफ्नो प्राथमिक स्थानबाट दोस्रो स्थानमा फैलिन्छन्। यस्तो अवस्थामा क्यान्सरको उपचार सम्भव हुँदैन।

बाँकी जिन्दगी
चौथो स्टेजलाई अन्तिम किन पनि भनिन्छ भने डाक्टरले बिरामीको प्यालियेटिभ केयर उपचार गर्छन्।

अर्थात्, यस्तो उपचारबाट बिरामी निको हुँदैनन्। तर बिरामीलाई क्यान्सरका कारण हुने पीडा कम हुन्छ र जिन्दगीलाई दिन, महिला या वर्षसम्म बढाउन सकिन्छ।

यस्तो स्थितिमा डाक्टरले बिरामीलाई बाँकी आयुका बारेमा बताउँछन्, ताकि उनीहरुले आफ्ना योजना पूरा गर्न सकुन्।

यो यस्तो स्थिति हो, बिरामी मृत्युको डरका बीच बाँकी जिन्दगीका बारेमा सोच्न सक्छ। मेरो विचारमा यो एक सुविधा हो, किनभने जीवनमा के हुँदैछ भनेर कम्तीमा थाहा हुन्छ।

गत वर्षदेखि म यही स्थितिको भुक्तभोगी हुँ। टाटा मेमोरियलका डाक्टरहरुले मलाई कहिल्यै पनि ठीक हुँदैन भनेर भनिसकेका छन्। मसँग अब केही महिला या वर्षमात्र बाँकी छ।

तर मेरो उपचारका लागि कैयौं थेरापीहरु छन्, जसले मलाई बचाएर राख्नेछ।

केमोथेरापी र टार्गेटेड थेरापी
डाक्टर देवयानीपछि मेडिकल बोर्डले अब मलाई विशेष डाक्टर कुमार प्रभाष र उनको टिमकहाँ पठाइसकेको थियो।

म फेब्रुअरी २०२१ देखि उनीहरुले सुझाएअनुसार केमोथेरापी र टार्गेटेड थेरापी लिइरहेको छु।

अब हरेक २१ दिनमा हुने केमोथेरापी, हरेक तीन महिना अर्थात् केमोथेरापीको प्रत्येक चार डोजपछि मुम्बईस्थित अस्पतालको ओपीडी, त्यहाँको परीक्षण र अर्को तीन महिनाका लागि औषधिको निर्धारण मेरो दिनचर्या बनेको छ।

म हरेक पटक मुम्बईदेखि राँची फर्कन्छु र लगत्तै मुम्बईको आगामी यात्राको योजना बनाउन थाल्छु। मलाई लाग्छ, मुम्बईको अस्पताल हरेक तीन महिनाका लागि मेरो श्वासको अनुबन्ध बढाइरहेका छन्।
म यो अनुबन्धलाई चाँडो बढाउन चाहन्छु र केही वर्ष थप बाँच्न चाहन्छु। जसबाट केही अत्यावश्यक जिम्मेवारी पूरा गर्न पाउनेछु।

सपोर्ट सिस्टम
यो अन्त्य र आशाको बीचको अवस्था हो। मैले चाहने हो भने मृत्युको डरलाई त्रासमा बदलेर आफ्नो र परिवारको जीवन खराब गर्न सक्छु।

तर म भगवानप्रति धन्यवाद दिन्छु। किनभने, मैले डरलाई शब्दकोषको भार मानेर आफ्नो बाँकी जिन्दगीलाई खुसी र यादगार बनाउने बाटो रोजेको छु।

म पत्नी संगीता, छोरा प्रतिक र सबै मित्रप्रति अनुगृहित छु,जो म हिँडिरहेको बाटोमा सपोर्ट सिस्टमको रुपमा रहेका छन्।

हालै हामी उपचारका लागि मुम्बई गएका थियौं। २० केमो र सवा वर्षको टार्गेटेड थेरापीपछि यो मेरो पाँचौं फलोअप थियो।

सीटी स्क्यान र मेरो ओपीडीबीच चार रात र पाँच दिनको अन्तर थियो। मैले यो समय गोवामा बिताउने विचार गरेँ।

यो प्रस्ताव पत्नीसमक्ष राखेँ। सीटी स्क्यान गराएपछि हामी अस्पतालबाट सिधै एयरपोर्ट पुग्यौं। केही घण्टामै हामी गोवामा थियौं। किन थाहा छ ? म क्यान्सरको डरलाई त्रासमा परिवर्तन गर्ने विरुद्धमा छु।
जतिबेला जन्म भएको थियो, त्यतिबेला नै मृत्यु निश्चित थियो। अनि, जुन कुरा निश्चित छ, त्यसदेखि किन डर? यही डरलाई परास्त गर्न हामी गोवा गएका थियौं।

मलाई थाहा छ। टार्गेटेड थेरापीको साइडइफेक्टका कारण शरीरका विभिन्न स्थानमा अनगिन्ती घाउ छन्। ती दुख्छन्। तर यी पीडालाई म आफूमाथि हावी हुन दिन चाहन्न।

हामीले चार रात गोवामा मस्ती गर्दै बितायौं, औषधि खाने समय सम्झने बाहेक। यसबाहेक ममा क्यान्सर कतै थिएन। हामी गोवाको खण्डहरमा गयौं, चर्च र मन्दिरमा पनि।

समुद्रमा नुहायौं। समुद्रको किनारामा रात बितायौं। डिस्को गयौं। खुव खायौं।

मृत्यु यदि हाँस्दै आए…
मुम्बई फर्केर डाक्टरसँग के भन्ने भनेर योजना बनायौं।

गोवाको अरब सागरको निलो लहरमा प्यारासेलिङ (प्याराग्लाइडिङ) लगायौं। त्यतिबेला पत्नीले सोधिन्–माथि हावामा तपाईंको सास रोकियो भने? मलाई फोक्सोको क्यान्सर छ भनेर उनले यसो भनिरहेकी थिइन्।

मैले भनेँ–मृत्यु यदि हाँस्दै हाँस्दै आए, त्यो भन्दा राम्रो मृत्यु अरु हुनै सक्दैन। त्यसो त म यसै पनि मर्ने नै वाला छु। मलाई केही हुँदैन।

त्यो दिन हामी हाँस्दै हाँस्दै प्यारासेलिङ गर्‍यौं।

अब हामी पहाडमा जाने योजना बनाइरहेका छौं। हामीलाई थाहा छ मृत्युको कुनै अनुभव हुँदैन। अनुभव मात्र जिन्दगीको हुन्छ र हामी यो अनुभव सबैलाई सुनाउन चाहन्छौं, ताकि डर त्रासमा नबदलियोस्।

क्यान्सरसँग यसरी पनि रहन सकिन्छ मित्रहरु…।

बिबिसी हिन्दीबाट



Leave a Reply

Your email address will not be published.