इथियोपियाको टिग्रेमा भोकमरीबाट ५ वर्षमुनिका १९०० बालबालिकाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडाैं-इथियोपियाको टिग्रे क्षेत्रमा भोकमरीबाट एक वर्षमा ५ वर्षमुनिका १९०० बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। यो तथ्यांक सन् २०२१ को जुनदेखि २०२२ को अप्रिल १ सम्मको हो।
यातायात कठिनाईका कारण बालबालिकालाई स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन नसकेको कारण अझै धेरैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

टिग्रे पिपल्स लिबरेशन फ्रन्टका लडाकूहरुले गत जुन महिनादेखि टिग्रेका अधिकांश भागमा कब्जा जमाएका कारण उक्त क्षेत्र इथियोपियाका अन्य क्षेत्रसँग सम्पर्कविहीन छ। उक्त क्षेत्रबाट केन्द्रीय फौज फिर्ता भइसकेको छ।

टिग्रे क्षेत्रमा बैंक सेवा, फोन लाइन र सडकसहितका सबै सुविधा बन्द गरिएको छ । इथियोपिया सरकारले टिग्रेका नागरिकलाई निशाना बनाएर कुनै कारबाही नगर्ने जनाउँदै लडाकूलाई आत्मसमर्पण गर्न आग्रह गर्दे आइरहेको छ।

राष्ट्रसंघका अनसार टिग्रेका ५५ लाख मानिसहरुलाई मानवीय सहायता आवश्यक छ भने १ लाख १५ हजार बालबालिकाहरु कुपोषणबाट ग्रसित भएका छन्।

यस्तै, सो क्षेत्रका सरकारी कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् भने बैंक बन्द भएका कारण मानिसहरुसँग खाना र अन्य सामग्री किन्न पैसा छैन। खेति गरेर खाने जमिन नभएका कारण सहरी क्षेत्रमा बस्ने बालबालिकाहरु कुपोषणको खतरामा रहेको राष्ट्रसंघले जनाएको छ।

टिग्रे क्षेत्रमा रहेका ७ लाख मानिसहरु भोकमरीको समस्यामा छन्, त्यहाँ राष्ट्रसंघले कुनै सहयोग पुर्‍याउन सकेको छैन।

इथियोपियाको संघीय सरकारले टिग्रे क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि गत मार्च २४ मा एकपक्षीय युद्धविराम गरेको छ। तर एक महिनाको बीचमा जम्मा ८० ट्रक खाद्यान्न बोकेका ट्रकमात्र प्रवेश गरेका छन्। तर, अधिकारीका अनुसार त्यहाँका लाखौं मानिसको आवश्यकता पूर्ति गर्न एक सातामा कम्तीमा २ हजार ट्रक खाद्यान्न पुर्‍याउनुपर्छ।



Leave a Reply

Your email address will not be published.