किन आवश्यक छ मुखको सरसफाई?

हेल्थपोस्ट नेपाल

काठमाडौं–मुखको सरसफाई पनि सम्पूर्ण शरीरकै सरसफाईको एक भाग भएकाले यसलाई शरीरको सरसफाईबाट अलग गर्न मिल्दैन। दाँत माझ्नु भनेको शरीरका अन्य सरसफाईहरु मुख धुने, कपाल कोर्ने, नङ्ग काट्नेजस्तै हो। दाँतमा भएको फोहोर र किटाणुहरु हटाउन एवं दाँतमा फ्लोराइड लगाउनका लागि दाँत माझ्नु अति जरुरी हुन्छ। मुख स्वस्थ राख्न दिनमा कम्तिमा दुई पल्ट–बिहान खाना वा खाजा खाइसकेपछि र राति सुत्नु अघि दाँत माझ्नुपर्दछ।

यसरी दाँत माझ्नाले दाँतमा भएका फोहोर हट्नुका साथै राति सुत्दा र्‍याल कम हुँदा किटाणुले दाँतमा पु¥याउने क्रम पनि कम हुन्छ। त्यतिमात्र होइन दाँत माझ्नाले गिजाको रोग लाग्दैन र श्वास पनि गन्हाउँदैन। दाँत माझ्ने ब्रस नरम वा मध्यमखाले हुनुपर्छ। ब्रसलाई दाँत र गिजा छुने गरी (करिब ४५ डिग्रीको कोणमा) ढल्काउनुपर्छ र हलुकासँग गोलाकार चालमा चलाएर दाँतको भित्र, बाहिर र चपाउने सतहहरु माझ्नुपर्दछ।

दाँत माझ्दा केराउको दाना जति मात्राको फ्लोराइडयुक्त मञ्जनको प्रयोग गरे पुग्छ। ब्रस नभएमा दत्तिवनको प्रयोग गर्न सकिन्छ। तर मञ्जनको सट्टा खरानी, बालुवा, अंगार आदि प्रयोग गर्नु हुँदैन। व्यवस्थित तरिकाले दाँत माझ्ने बानी बसाल्नुपर्छ । यसरी दाँत माझ्नाले दाँतहरु पूर्ण रुपमा सफा हुन्छन्। दाँत माझ्दा माथिल्लो दायाँ कुनाबाट शुरु गरेर माथिल्ला बायाँतिर अनि तल्लो बायाँ हुँदै दायाँ कुनाका दाँतहरु तीन–तीन वटाका दरले क्रमैसँग माझ्दै जानुपर्छ ।

पहिला दाँतका बाहिरी सतह, त्यसपछि दाँतका भित्री अनि चपाउने सतह माझ्नुपर्दछ। यसरी माथि, तल, दायाँ, बायाँ सबैतिर माझिसके पछि मञ्जनको फिँज थुक्नुपर्छ। सम्भव नभए थोरै पानीले कुल्ला गर्नुपर्छ । यसो गर्नाले मञ्जनमा भएको फ्लोराइड लामो समयसम्म मुखमा रहन्छ र दाँत बलियो बनाउनमा मद्दत पुग्छ।

आमाहरुले आफ्ना साना बाल–बालिकाहरुका दाँत माझिदिनु पर्छ । नवजात शिशुहरुका मुखमा हानिकारक किटाणुहरु हुँदैनन्। पछि आमाले म्वाइ खाँदा वा खानेकुराहरु चाखेर वा चपाएर खुवाउँदा आमाबाट आफ्ना शिशुमा किटाणुहरु सर्न सक्छन् त्यसैले दाँत उम्रन थालेदेखि नै शिशुहरुका दाँत माझ्न थाल्नुपर्दछ । साना बाल–बालिकाहरुका दाँत माझ्दा अभिभावक उनीहरुको पछाडि बसेर माझिदिनुपर्दछ। बाल–बालिकाहरुले थुक्न सक्ने भएपछि सानो केराउको दाना जति फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्नुपर्छ । बाल–बालिकाहरु ६–७ वर्ष मुनिका भए वा आफै दाँत माझ्न सक्ने नभएसम्म अभिभावकको निरीक्षणमा दाँत माझ्न सिकाउने र सघाउन गर्नुपर्छ।

पोषण र खानेकुरा दाँत स्वस्थ्य राख्न महत्वपूर्ण हुन्छन्। क्याल्सियम र फस्फोरसजस्ता खनिज पदार्थहरु दाँत बन्दै गर्दा र बलियो बनाउन नभइ हुँदैन र दूध र दूधबाट बनेका खाद्यपदार्थहरु, अण्डा, फलफुल र ताजा हरिया तरकारीहरुले दाँत मात्र नभइ सम्पूर्ण शरीर नै स्वस्थ्य राख्नमा सहयोग पुर्‍याउँछ। दाँतमा कीरा लाग्नबाट बचाउन गुलियो खानेकुरा वा पेयको मात्रा र पटक दुवै कम गर्नुका साथै गुलियो खानेकुरा खाइसकेपछि कुल्ला गर्ने वा सम्भव भए दाँत माझ्ने गर्नुपर्छ ।

फ्लोराइड प्राकृतिक रुपमा माटो, पानी, चिया, माछा आदिमा पाइने एक खनिज पदार्थ हो जसले शरीरको वृद्धिमा सहयोग पु¥याउँछ । यसले दाँतमा कीरा लाग्नबाट पनि बचाउँछ । नेपालको पिउने पानीमा फ्लोराइडको मात्रा कम भएकोले दाँतमा कीरा लाग्नबाट बँच्न फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्न अति जरुरी छ । त्यसैले मन्जन किन्दा जहिले पनि १००० पि पि एम फ्लोराइड लेखिएको मन्जन किन्नुपर्दछ।

व्यक्तिगत आनि–बानी, खैनी, सुपारी मद्यपान, धुम्रपानजस्ता लत स्वास्थ्यका लागि हानिकारक छन्। यस्ता बानीहरुले मुखको क्यान्सरजस्तो डरलाग्दो रोग लाग्न सक्छ । त्यसैले यस्ता बानीहरु भए छोड्ने गर्नुपर्छ ।

मुखको स्वास्थ्य परीक्षण नियमित गर्नुपर्छ। मुखको स्वास्थ्य परीक्षण गर्नाले समस्याहरु समयमै थाहा पाउन सकिन्छ र उपचार गर्न सजिलो हुन्छ । दाँतमा कीरा लागेर प्वाल परेमा, गिजाबाट रगत आएमा वा मुखमा कुनै पनि समस्या भएमा तुरुन्तै दन्त चिकित्सक वा स्वास्थ्यकर्मीसँग जँचाइहाल्नु पर्छ । समस्या ठूलो र पीडादायी हुञ्जेलसम्म पर्खनु हुँदैन । कम्तिमा ६-६ महिनाको अन्तरालमा दाँत तथा मुखको जाँच गराउनुपर्छ।

विशेष समूहका लागि मुखको स्वास्थ्य शिक्षा
विगत केही दशकमा बालबालिकाहरुको मुखको स्वास्थ्यमा सुधार देखिए पनि रोकथाम गर्न सकिने मुखसम्बन्धी रोगहरुबाट धेरै जसो जनसमुदाय पीडित भएको पाइन्छ । रोकथामका उपायहरु पर्याप्त मात्रामा अपनाएको भए मानव दाँत जीवनभरिका लागि बचाउन सकिन्छ ।

यो उद्देश्य प्राप्तिका लागि रोकथामका उपायहरु सानै उमेरमा शुरु गरी जीवनभरी नै व्यवहारमा ल्याउनुपर्दछ । तसर्थ मुखको स्वास्थ्य सेवा विशेष समूहहरुमा विस्तार गर्नुपर्छ र यो समूहमा गर्भवती महिला, शिशु, विद्यालयका बाल बालिकाहरु, अशक्तहरु एवं वृद्धहरु पर्दछन्। वास्तवमा गर्भधारण गर्न सक्ने (१५–४५ वर्ष) सबै महिलाहरुलाई यस समूहमा समेट्न सकिन्छ। शिशुहरु पनि यसै समूहमा पर्दछन् किनभने आमाहरुले नै ती शिशुहरुको स्याहार सुसार गर्दछन् ।

तिनीहरुलाई स्वास्थ्यकर्मीद्वारा मातृ शिशु क्लिनिकमा स्वास्थ्य शिक्षा दिन सकिन्छ । विद्यालयमा गएर विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा दिनाले समाजका विभिन्न वर्ग जस्तै- व्यक्ति विशेष, परिवार, विद्यालय, समुदाय र देश नै लाभान्वित हुनसक्छ। बालबालिकाहरुलाई विद्यालयमा दिएको स्वास्थ्य शिक्षाले उनीहरुको वयस्क अवस्थासम्म प्रभाव पार्दछ।



Leave a Reply

Your email address will not be published.