जिब्रो भन्छ : गुलियो-चिल्लो, मुटु भन्छ : नाइँ

‘आहा, रसबरी कस्तो मीठो! कति रसिलो! अझै त्यो स्वाद गा’छैन।’, जिब्रो एक्लै बोल्दै थियो। हड्डी नै नभएको ज्यानलाई कहिले तालुमा चिप्काउँदै, कहिले गालामा नचाउँदै, दाँतको कुनाकाप्चा चहार्दै खुसी भइरहेको थियो जिब्रो। ‘अझ त्यो मासुको झोलसँगको भात त जत्ति खाए नि नपुग्ने’ मासुको स्वाद सम्झँदै ओठ फेरि एकपटक चाट्यो जिब्रोले।

‘त्यो मोरो पेटले ठाउँ छैन भन्यो र पो! नत्र त अर्को एक थाल खान्थें नि!’, जिब्रो खुसी भएर बोलेको अलिक मुनि रहेको मुटुले सुन्यो। जिब्रो र मुटुको धनी मनुवा भने बिन्दास घुरिरहेको थियो। टन्न भोज खाएर आएको शरीर, मस्त सुतिराखेको थियो।

फोक्सो, मुटुजस्ता अंग सधैं झैं जागै थिए। जिब्रो खुसी हुँदै बरबराइरहेपछि मुटुले झपार्‍यो, ‘के फतफताइरा, नसुती!’ जिब्रो पनि कड्कियो, ‘तँ सुत् न!’

‘तँजस्तो हो, मनुवा सुत्नासाथ आराम पाउने। म नि निदाएर ढुकढुक गरिनँ भने त यो मनुवा चेट हुन्छ। तँ नि फतफत गर्न पाउँदैनस्’, मुटुले सही कुरा बोल्यो।

‘साँच्ची, तँ सुतिस् भने त हामी सबै सुइँकिन्छौं होला’, रिस अलि थामिएपछि मुटुले जिज्ञासा राख्यो, ‘अघिदेखि के बरबराउँदै थिइस्?’

जिब्रोले गमक्क पर्दै भन्यो, ‘हैन, आज यो मनुवा भोजमा गा’थियो। स्वादिलो खाना मस्तले खान पाइयो। मैले त बजाएँ, सब थरीका खाना। मासु नै पाँच थरी। त्यो स्वाद सम्झेर बस्या।’

‘स्वादिलो थियो भनेर धेरै खानुपर्छ त?’ मुटुले गाली गर्‍यो।

‘अनि मीठो भएपछि खानुपरेन त ?’, जिब्रोले भन्यो।

‘तैंले धेरै खाए हामीलाई गाह्रो पर्छ नि!’, मुटुले भन्यो।

‘हँ? के भन्छ यो? मैले धेरै खाँदा तँलाई किन गाह्रो? गाह्रो भए पेटलाई हुन्छ नि!’ जिब्रोले अनभिज्ञता प्रकट गर्‍यो।

‘पेटलाइ त एक्कै छिन हो नि! पेटबाट तल पुगेपछि यी गुलिया, चिल्ला, मीठामीठा खानेकुरा मसिनो हुँदै आन्द्राबाट सोसिन्छन्। त्यही सोसिएको खानेकुरा नै रक्तनली हुँदै कलेजो र शरीरका सबै भागमा पुग्ने हो। आवश्यकता अनुसार ठीक्क मात्रामा शरीरमा पुगे अमृत, धेरै मात्रामा पुगे त्यही बोसो भई जम्नाले रक्तनली साँघुरिएर विषजस्तै हुने त हो नि!’, मुटुले बेलीविस्तार लगायो।

‘हो र?’, जिब्रो छक्क पर्‍यो।

‘खानेकुरामा पाइने पोषण तत्त्वहरू प्रोटिन, कार्बोहाइड्रेट, फ्याट (चिल्लो), भिटामिन, मिनरल (खनिज पदार्थ), पानी सबैको मात्रा मिले शरीरलाई राम्रो। आवश्यकताभन्दा धेरै भयो भने नराम्रो’, मुटुले भन्यो।

‘अनि?’, जिब्रोले चाख मानी सुन्न थाल्यो।

‘ती पोषण तत्त्वमध्ये धेरैले आवश्यकताभन्दा बेसी खानेचाहिँ कार्बोहाइड्रेट र फ्याट नै हो। त्यहीचाहिँ धेरै भयो भने शरीरलाई खराब हुन्छ’, मुटुले भन्यो।

‘त्यही कार्ब र फ्याटचाहिँ धेरै किन खान्छन् त?’, जिब्रोले सोध्यो।

‘तँलाई त्यही मन पर्छ’, मुटुले जवाफ दियो।

‘मतलब ?’, जिब्रोले प्रश्न तेर्स्यायो।

‘तँलाई मिठाई, जेरी, रसबरी मन पर्दैन? मासु मन पर्दैन? भात, मैदा, आलुको परिकार, गुलियो पेय पदार्थ मन पर्दैन? घिउ, तेल बेस्सरी हालेर तारेको मन पर्दैन? बिस्कुट, जंक फुड मन पर्दैन?’, मुटुले सोध्यो।

‘त्यही त मीठो हुन्छ’, जिब्रोले भन्यो।

‘त्यसैमा त धेरै कार्ब र फ्याट हुन्छ नि! तँ त्यस्तै मीठोमीठो धेरै खान्छस्, सागसब्जी हेर्दैनस् र शरीरलाई रोगको पोको बनाउँछस्’, मुटुले भन्यो।

‘हो नि!’, जिब्रोले स्वीकार गर्‍यो।

‘त्यहीचाहिँ भएन। मिठाईमा हुने कार्ब, भात, मैदाबाट बन्ने खानामा हुने कार्ब, मासुमा हुने चिल्लो र अरू चिल्लोबाट पाइने फ्याट, तयारी खाना, जंक फुड, गुलियो पेय पदार्थ आदि जत्ति धेरै खाइन्छ, त्यति धेरै हानि हुन्छ,’ मुटुले सम्झायो।

‘अनि मलाई त्यही मीठो लाग्छ,’ जिब्रो लाचारी प्रकट गर्‍यो।

‘तेरै मीठो स्वादको लोभले त सबै बिग्रिरा छ,’ मुटु कड्कियो।

‘त्यस्तो खाँदा खराब हुन्छ चाहिँ के त?’, जिब्रोले सोध्यो।

‘केचाहिँ हुन्न भन् न। प्रेसर बढ्दैन कि? चिनी रोग हुने चान्स बढ्दैन कि? मुटु रोगको सम्भावना बढ्छ। मृगौला खराब हुनसक्छ। पक्षाघात हुनसक्छ। आँखा खराब हुनसक्छन्। कलेजोलाई असर पर्छ’, मुटुले भन्यो।

‘हो र?’, जिब्रो आत्तियो।

‘यति मात्र हो र, योसँग सम्बन्धित अरू धेरै रोग नि छन्। हुँदाहुँदा, धेरै खाएर धेरै मोटा भएकाहरूमा बच्चा पेटमा आउन गाह्रो हुनेसम्म पनि हुन सक्छ’, मुटुले भन्यो।

‘हैट! अब म खान्नँ यस्ता कार्बसार्ब, फ्याटस्याट भा’खानेकुरा’, जिब्रोले भन्यो।

‘तँलाई खाँदै न’खा कल्ले भन्या छ र? धेरै नखा पो भन्या। भोजभतेरमा धेरै न’खा, गुलियो पेय न’खा अनि भात, रोटी, मिठाई धेरै न’खा पो भन्या त! तैंले धेरै खान मन नगरे शरीर मोटो हुँदैन, शरीर हल्का हुन्छ, स्वास्थ्य पनि राम्रो हुन्छ’, मुटुले भन्यो।

‘अब म कार्ब र फ्याट धेरै खान्नँ। गुलियो पेय त पिउँदै पिउँदिनँ’, जिब्रोले वाचा गर्‍यो।

‘बरु त्यसको सट्टा सागसब्जी, फलफूलमा ध्यान दे’, मुटुले भन्यो।

‘हुन्छ। म अब सागसब्जीले पहिला सन्तुष्ट हुन्छु। साग, मूला, काँक्रो, गाजर, बन्दालाई प्राथमिकता दिन्छु। भात अथवा रोटी अथवा चिउरा अथवा ब्रेड थोरै मात्र खान्छु। बरु मकै, कोदोको परिकार केही खान्छु। मासु पनि थोरै खान्छु’, जिब्रोले भन्यो।

‘त्यसो गरे त हामीलाई नि राम्रो हुन्छ’, मुटुले भन्यो।

‘स्वाद मलाई नै चाहिने हो। मैले नियन्त्रण गरे त भैहाल्यो नि। रह्यो मनको कुरा, मनलाई म सम्झाइहाल्छु,’ जिब्रोले भन्यो।

यी दुईका कुरा मृगौलाले सुनिरहेको थियो। जिब्रोको सुध्रिने कुरा सुनेर उसले भन्यो, ‘क्या गज्जबको कुरा! लौ छिटो व्यवहारमा उतार।’

पेटले दंग पर्दै भन्यो, ‘ल अब मलाई नि राम्रो हुने भो।’

आन्द्रा झन् मक्ख पर्‍यो। ‘सबैभन्दा खुसी त मै हुन्छु होला। हरेक बिहान मलाई सजिलो हुन्छ। एकै छिनमा हल्का हुन पाउँछु।’

गिदी र आँखा पनि दंग परे।

सबै खुसी भएको देखेर जिब्रोलाई अचम्म लाग्यो। सोच्यो- यिनीहरू सबैलाई दुःख त मैले पो दे’को रै’छु। आफू लोभी बनेर सबैलाई अप्ठ्यारामा पार्दै आएकामा उसलाई सरम पनि लाग्यो। र सबैले सुन्ने गरी घोषणा गर्‍यो, ‘अबदेखि म धेरै कार्ब र फ्याट भा’को खानेकुरा खान्नँ। सागसब्जीमा ध्यान दिन्छु। पानी पनि आवश्यक मात्रामा पिउँछु।’ झट्ट सम्झिएर उसले सोध्यो, ‘चुरोट चैं के गर्नु नि?’

सबैले एकस्वरमा गाली गरे, ‘धत्, त्यो नि सोध्ने हो? छोडिहाल्।’ फोक्सो आक्रोशित भएर बोल्यो, ‘तेरो त्यही अम्मलले गर्दा म सबै कालो भैसकें। अचेल कस्तो सास फुल्छ! अझ क्यान्सर होला भन्ने कत्रो पीर छ! छोडिहाल्।’

‘पक्का छोड्छु,’ जिब्रोले भन्यो।

यस्तैमा ठूलो भुँडी भएको मनुवा कोल्टे फेर्‍यो।

जिब्रोले स्वादमाथि नियन्त्रण गर्दै गएपछि, उसले प्रण नभुलेपछि ठूलो भुँडी घट्दै गयो। शरीर स्वस्थ भयो। अंग–प्रत्यंग स्वास्थ्य झन्झटबाट टाढा हुँदै गए।

(कार्डियोलोजिस्ट प्रो. डा. राजेन्द्र कोजु धुलिखेल अस्पतालमा कार्यरत छन्।)



One thought on “जिब्रो भन्छ : गुलियो-चिल्लो, मुटु भन्छ : नाइँ

  1. Written in very useful 👌way. One should read and follow this real story of own health.
    Thank you Dr. Rajendra koju. We are waiting for next. God bless you all!

Leave a Reply

Your email address will not be published.