नर्भिकका १४ विशेषज्ञ डाक्टर निःशुल्क ओपिडीमा, क्यान्सर स्क्रिनिङको ‘दुर्लभ’ अवसर

हेल्थपोस्ट नेपाल

काठमाडौं- नर्भिक अस्पतालले शनिबार विभिन्न १४ विशेषज्ञ चिकित्सकलाई एकैसाथ निःशुल्क ओपिडी सेवामा उपलब्ध गराउने भएको छ।

अस्पतालको २९औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध चार विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपिडी सेवामा उपलब्ध गराइने भएको हो।

नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्ने जनाएको छ। यसैको पूर्वतयारी स्वरूप अस्पतालले क्यान्सरसँग सम्बन्धित विशेष ओपिडी सेवा शनिबार पनि सञ्चालन गर्न लागेको हो।

शनिबार बिहान १० देखि मध्याह्न १२ बजेसम्म क्यान्सर स्क्रिनिङका लागि निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले जनाएको छ।

नर्भिकका अनुसार निःशुल्क क्यान्सर स्क्रिनिङ सेवामा डा. सुचित्रा तुलाधर, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा. श्वेता बराल, डा. विवेक खनाल, डा. एलिजा श्रेष्ठ, डा. बानिरा कार्की, डा. दीपक लामिछाने, डा. राजन कोजु र डा. सुदिप शाक्य उपलब्ध हुनेछन्। उनीहरू सबै क्यान्सर र त्यससँग सम्बन्धित विषयका विशेषज्ञ चिकित्सक हुन्।

यसैबीच वार्षिकोत्सवका अवसरमा क्यान्सरसँग सम्बन्धित तीनवटा हेल्थ प्याकेज पनि सार्वजनिक गरिएको छ। नर्भिकले ४० वर्षभन्दा माथिका महिलाका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ। यो प्याकेजको शुल्क बैशाखभरिलाई ३० प्रतिशत छुट गरी १४ हजार रुपैयाँ कायम गरिएको छ। यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञका विशेष परामर्श सेवा समेत समावेश गरिएको छ।

त्यस्तै ४० वर्ष वा कम उमेरका महिलामा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ। यो प्याकेजमा समेत बैशाखभरि ३० प्रतिशत छुट दिइएको छ। यसअन्तर्गत आठ विशेष परीक्षण तथा विशेषज्ञका परामर्श सेवा समावेश छन्। यो प्याकेजको अफर ११ हजार रहेको छ।

अस्पतालले ४० वर्ष वा बढी उमेरका पुरुषका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ। ५ हजार ५ सय ५ रुपैयाँको यो प्याकेज शुल्कमा वैशाखभरि ३० प्रतिशत छुट पाइन्छ। यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ।

यसैबीच निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिबार युरोलोजीका दुई टिमले समेत अलग–अलग सेवा दिनेछन्।

युरोसर्जरी विशेषज्ञ डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीलाई लक्ष्य गरी बिहान ८ देखि १० बजेसम्म निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्ने छ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ। शल्यक्रिया शुल्कमा विशेष सहुलियत उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

यसैगरी बिहान ९ देखि १०ः३० बजेसम्म युरोलोजी विशेषज्ञ प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिने छ।

मिर्गाैला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीले यो ओपिडीबाट लाभ लिन सक्नेछन्। निःशुल्क ओपिडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीलाई शल्यक्रिया शुल्कमा विशेष छुट व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गाैलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गाैलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ।
त्यस्तै दूरबिनको माध्यमबाट घाउ नबनाई प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत उपचार हुने गरेको छ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिकको कल सेन्टर नम्बर ५९७००३२ तथा ह्वाट्सएप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गर्न सक्ने अस्पतालले जनाएकाे छ।



Leave a Reply

Your email address will not be published.