डब्लुएचओ प्रमुख टेड्रोस, जसले इथियोपियाको स्वास्थ्यमा गरेका थिए व्यापक सुधार

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस यतिखेर तीन दिने भ्रमणका क्रममा नेपालमा छन्। उनी राजनीतिक भेटघाटमा व्यस्त छन्। अफ्रिकी मुलुक इथियोपियाका एक जनस्वास्थ्यकर्मी उनी कसरी डब्लुएचओ प्रमुख बन्न सफल भए?

डब्लुएचओ प्रमुख बन्नुअघि उनी इथियोपियाका दुई शक्तिशाली पदमा थिए। सन् २००२ देखि २०१२ सम्म स्वास्थ्यमन्त्री थिए भने २०१२ देखि २०१६ सम्म विदेशमन्त्री थिए। उनलाई टाइम पत्रिकाले सन् २०२० का प्रभावशाली १०० व्यक्तिको सूचीमा राखेको थियो।

उनी तत्कालीन इथियोपियन साम्राज्यको भागको रुपमा रहेको आस्मारामा जन्मिएका थिए। सन् १९८६ मा उनले आस्मारा विश्वविद्यालयबाट विज्ञानमा स्नातक गरे। लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा पढे र १९९२ मा युनिभर्सिटी अफ लण्डनबाट इम्युनोलोजी अफ इन्फेक्सियस डिजिज विषय लिएर विज्ञानमै स्नातकोत्तर गरे। सन् २००२ मा युनिभर्सिटी अफ नटिङघमबाट समुदाय स्वास्थ्यमा पिएचडी गरे। पिएचडीमा उनले ‘टिग्रे क्षेत्रमा मलेरिया संक्रमणमा बाँधको प्रभाव’ विषयमा अनुसन्धान गरेका थिए।

१९८६ मा स्नातक गरेपछि उनले कनिष्ट जनस्वास्थ्य विज्ञको रुपमा इथियोपियाको स्वास्थ्य मन्त्रालयमा जागिर सुरु गरे। उनी टिग्रे पिपल्स लिबरेशन फ्रन्टका सदस्य थिए। सन् २००१ मा पिएचडी गरिसकेपछि उनी टिग्रे क्षेत्रीय स्वास्थ्य कार्यालय प्रमुखको रुपमा नियुक्त भए।

यस्तै, २००३ मा उनी स्वास्थ्य राज्यमन्त्री नियुक्त भए। सो पदमा एक वर्षमात्र रहे। सन् २००५ मा उनलाई प्रधानमन्त्री मेलेस जेनावीले स्वास्थ्यमन्त्री नियुक्त गरे। उनी त्यतिबेला स्वास्थ्यमन्त्री भएका थिए, जतिबेला इथियोपिया गरिबी, कमजोर पूर्वाधार र आर्थिक संकटमा फसेको थियो।

उनी स्वास्थ्यमन्त्री भएपछि २००५ देखि २००८ को बीचमा उनले १.९ अर्ब डलर सहयोग ल्याउन सफल भए, जसले समुदाय र केन्द्रीय स्वास्थ्यप्रणालीबीच सम्बन्ध बनाउन कार्यक्रमहरु सञ्चालन ग¥यो। स्वास्थ्य जनशक्ति सुधारको रणनीति डिजाइन गरे, जसको परिणामस्वरुप हजारौं डाक्टर, नर्स, फार्मासिस्ट, ल्याब प्राविधिक र स्वास्थ्य अधिकृतलाई तालिम दिएर कार्यक्षेत्रमा खटाउने काम गरे।
यो कार्यक्रमअन्तर्गत ४ हजार स्वास्थ्य केन्द्र निर्माण भए । ३० हजार स्वास्थ्य कार्यकर्ता तालिम दिएर कार्यक्षेत्रमा खटाइए। हेल्थ एक्स्टेन्सन प्रोग्राम (हेप) अन्तर्गत अस्पताल व्यवस्थापनजनशक्ति तयार पारिए।

सन् २०११ सम्म आइपुग्दा इथियोपियाका स्वास्थ्य सूचकमा निकै सुधार भएको देखिएको थियो। शिशु मृत्युदर २००६ मा प्रति १ हजार १२३ रहेकोमा २०११ मा ८८ मा झरेको थियो।

सन् २०१० मा अमेरिकी विदेशमन्त्रालयले युएस ग्लोबल हेल्थ इनिसियटिभ्स प्लस मुलुकहरुमा इथियोपियालाई पनि समावेश गर्‍यो, जसअनुसार इथियोपियाले जनस्वास्थ्य परियोजनाका लागि स्रोतमा वृहत पहुँच पायो। स्वास्थ्यमन्त्री रहँदा उनी विश्व स्वास्थ्य पहलमा निकै सक्रिय भए। इन्टरनेशनल हेल्थ पार्टनरसिपमा सम्झौता गर्ने इथियोपिया पहिलो मुलुक बन्यो। उनी रोलब्याक मलेरिया पार्टनरसिप (२००७–२००९) को अध्यक्ष, युएनएड्समा प्रोग्राम कोअर्डिनेटिङ बोर्डमा सदस्य (२००९–२०१०) र एड्स, मलेरिया र टिबीका लागि ग्लोबल फन्ड (२००९ देखि २०११) लगायतका थुप्रै विश्व स्वास्थ्यका संस्थामा सक्रिय रुपमा रहे।

उनले इथियोपियामा मातृ तथा शिशु स्वास्थ्य, क्षयरोग, मलेरिया, एड्स, परिवार नियोजनका सूचकमा व्यापक सुधार गरे।

मातृ तथा शिशु मृत्युदर घटाउन केन्द्रित रहेर ३० हजार स्वास्थ्य कार्यकर्ता परिचालन गरेको कार्यक्रमकै प्रभावस्वरुप इथियोपियामा बाल मृत्युदरमा २००५ देखि २०११ को बीचमा ३० प्रतिशतले कमी आयो। नवजात शिशु मृत्युदरमा प्रतिहजारमा ७७ बाट घटेर ५९ भयो। ५ वर्षमुनिका बालबालिकाको मृत्युदरमा प्रतिहजार १२३ बाट २३ प्रतिशत घटेर ८८ मा आयो।

यस्तै, मलेरियाबाट हुने मृत्युदर २००५ देखि २००७ को बीचमा ५० प्रतिशतले घट्यो। मलेरियापीडितहरु अस्पताल भर्ना हुने दर सो अवधिमा ५४ प्रतिशतले कमी आयो। स्वास्थ्यमन्त्रालयले मलेरियाप्रभावित क्षेत्रमा २००५ देखि २००८ को बीचमा १ करोड जनसंख्यालाई २ करोड ५ लाख विषादीयुक्त झुल वितरण गर्‍यो।

टेड्रोसले स्वास्थ्यमन्त्रालय सम्हाल्नुअघि इथियोपियाले अफ्रिकी मुलुकमै सबैभन्दा एचआइभी संक्रमित थपिने रेकर्ड कायम गरेको थियो। तर उनी मन्त्री भएपछि यो संख्यामा नाटकीय कमी आयो। सन् २००२ देखि २०१२ को बीचमा एचआइभी संक्रमणदरमा ९० प्रतिशतले कमी आयो। एड्सका कारण हुने मृत्युमा पनि ५३ प्रतिशतले कमी आयो। यो बीचमा स्वास्थ्यमन्त्रालयले एचआइभी प्रभावितलाई व्यापक रुपमा औषधि वितरण र जनचेतनाका कार्यक्रम सञ्चालन गर्‍यो।

टेड्रोस सन् २०१२ मा विदेशमन्त्री भए र सो पदमा २०१६ सम्म रहे। विदेशमन्त्रीको रुपमा उनले २०१३–२०१६ को इबोला महामारीका समयमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

सन् २०१६ को मे २४ मा उनले डब्लुएचओ प्रमुखको उम्मेदवारी घोषणा गरे। उनको उम्मेदवारीलाई अफ्रिकी युनियनले समर्थन ग¥यो। उनले त्यतिखेर ‘टुगेदर फर अ हेल्दियर  वर्ल्ड’ नारा दिएका थिए। २०१७ को जनवरीमा भएको १४० औं बैठकमा डब्लुएचओले ६ जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गर्‍यो। दुई चरणमा मतदान भए। दुवै चरणमा उनले बहुमत ल्याए। उनलाई अफ्रिकी र एशियाली मुलुकको समर्थन थियो। उनी २०१७ मे २३ मा डब्लुएचओ प्रमुख भए। यो पदमा पुग्ने उनी पहिलो अफ्रिकी र पहिलो गैरमेडिकल डाक्टर हुन्। जुलाई १, २०१७ देखि उनको कार्यकाल सुरु भएको थियो।



Leave a Reply

Your email address will not be published.