डब्लुएचओ प्रमुखसमक्ष के भने स्वास्थ्यमन्त्रीले ?

'अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न सहयोग चाहियो'

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपालले स्वास्थ्य सेवाहरुमा सबैको समतामूलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तिय रणनीति तर्जुमा गर्ने योजना बनाएको बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयसससँग मन्त्रालयमा भएको भेटवार्तामा खतिवडाले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० पनि तर्जुमाको चरणमा रहेको बताए।

खतिवडाले सरकारले संक्रामक र नसर्ने रोगहरुको अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, हेरचाह, उन्मूलन र नियमनका लागि राष्ट्रिय स्तरमा एकीकृत संस्था स्थापना गर्ने योजना बनाएको र नेपालले मातृ तथा बाल मृत्यु न्युनिकरणमा प्राप्त गरेको उपलब्धी उल्लेखनीय भएको बताए।

उनले स्वास्थ्य संकटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका लागि डब्लुएचओको भूमिका अझै सुदृढ बनाइराख्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जिन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकोमा डब्लुएचओप्रति आभार व्यक्त गरे।

खतिवडाले डब्लुएचओले कोभिडविरुद्धको राष्ट्रिय खोप अभियान सुरु गर्न डब्लुएचओले सहयोग गरेको भन्दै महामारीका समयमा सबैखाले सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिए।

उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न सहयोगका लागि अनुरोध गरे।



Leave a Reply

Your email address will not be published.