सीमा नाका र त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाउन इपिडिमियोलोजी महाशाखाको आग्रह

काठमाडौं–स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालको सीमानाका तथा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन र एन्टिजेन परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ।
महाशाखाका निर्देशक डा चुमनलाल दासले सीमा कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हेल्थ डेस्कलाई उक्त आग्रह गरेको छ।
भारतका विभिन्न राज्यमा कोभिडको बढ्दो संक्रमणलाई मध्यनजर गरी भारत र चीनसँग जोडिएका सीमा नाकाका हेल्थ डेस्क र त्रिभुवन विमानस्थल हेल्थ डेस्कमा भइरहेको कोभिड स्क्रीनिङ तथा परीक्षण कार्यलाई उच्च प्राथमिकता राख्न महाशाखाले अनुरोध गरेको छ।
यात्रुमा कोभिडको लक्षण देखिएमा, पूर्ण खोप प्राप्त नगरेकोमा र स्क्रीनिङका क्रममा कोभिडको शंका देखिएमा परीक्षण गराउन पनि इपिडिमियोलोजी महाशाखाले भनेको छ।
परीक्षणका क्रममा पोजिटिभ आएकाहरुको नमुना संकलन गरी प्रदेश जनस्वास्थ्यसँग समन्वय गरी जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले अनुरोध गरेको छ।