स्वास्थ्य मन्त्रालयले भन्यो–छिमेकी मुलुकमा संक्रमण बढ्यो, नेपालमा पनि सतर्कता अपनाऔं

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत लगायतका मुलुकहरुमा कोभिड १९ को संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाइएकी छन्।

‘कोभिड १९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यस विरुद्धको खोप अभियान संचालन गरिरहेको मन्त्रालयले जनाएको छ।

साथै कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने र जारी खोप अभियानमा निरन्तर साथ दिने सबैमा मन्त्रालयले आभार प्रकट गर्दै खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published.