कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

हेल्थपोस्ट नेपाल

सुर्खेत-कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ।

सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए। कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै यस अवधिमा स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको मुख्यमन्त्री शाहीले बताए। कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए।

शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि रु १५ करोड स्थानीय तहमा पठाइएको मुख्यमन्त्री शाहीले बताए। विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालमा पठाइएको, रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पताल तथा प्रदेशभरमा ६६ सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरी स्थानीय तहमार्फत काम भइरहेको उनले बताए।

कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रियासमेत अगाडि बढाइएको जनाइएकाे छ ।



Leave a Reply

Your email address will not be published.