डाेल्पा अस्पतालको एउटा यथार्थ तस्बिरः टर्च बालेर बिरामीको उपचार

काठमाडौं–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले बुधबार दिउँसो फेसबुक स्टाटस लेखे–अहिले अँध्यारो छ, हामी बत्ती बालेर बसिरहेका छौं र डोल्पा जिल्ला अस्पतालका डाक्टरहरु कैयौं दिनदेखि अँध्यारोमै बिरामीको उपचार गरिरहेका छन्। अस्पतालले लोडसेडिङ खेप्नुपरेको छ भने जेनेरेटर बिग्रने, सधैं चलाउन नसक्ने समस्या छ। सम्बन्धित निकायको ध्यान जाओस्।’
डा रावलले साथमा एउटा तस्बिर शेयर गरेका छन्, जसमा स्वास्थ्यकर्मीहरु टर्च बालेर बिरामीको परीक्षण गरिरहेका छन्।
एक महिनाअघि डोल्पा सदरमुकाममा विद्युत आपूर्ति गर्दै आएको २ सय किलोवाटको जैरीगढ जलविद्युत आयोजना मर्मतका लाग भन्दै बन्द गरियो। त्यतिबेला डोल्पा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुले चित्त बुझाएका थिए ‘जलविद्युत आयोजनामै समस्या भएर बत्ती आएन’ भनेर। त्यतिखेर दिउँसो घाम लागेको समयमा सोलारले धान्थ्यो। राति टर्च र मोबाइलकै उज्यालोको सहारामा उपचार सेवा दिने गरिन्थ्यो।
जलविद्युत आयोजना पुनः सुरु भयो, बत्ती आयो। तर, विद्युत प्राधिकरणले अस्पतालमा पनि लोडसेडिङको तालिका राख्यो। अस्पताल प्रमुख डा अखण्ड उपाध्यायका अनुसार एक महिनादेखि अस्पतालमा पनि लोडसेडिङ हुँदा उपचारसेवा समेत प्रभावित भएको छ।
‘दिउँसो घाम लागेको बेला सोलारले धान्छ। तर रातिको समयमा भने टर्च, मोबाइलले काम चलाउनुपर्छ,’ डा उपाध्यायले भने, ‘एक्स–रे, अल्ट्रासाउण्ड गर्न पनि समस्या छ, अल्ट्रासाउण्ड गर्न बिरामीहरुलाई दिउँसो घाम लागेको बेलामा बोलाउनुपर्ने वाध्यता छ।’
अस्पतालमा ४० केभिएको एउटा जेनेरेटर छ। त्यसलाई चौबिसै घण्टा चलाउन न बजारमा पर्याप्त तेल छ, न अस्पतालको बजेट। जेनेरेटर चौबिसै घण्टा चलाउँदा १० हजार रुपैयाँको तेल लाग्छ, जुन खर्च गर्ने सामथ्र्य अस्पतालको छैन। डा उपाध्यायका अनुसार सिजेरियन डेलिभरीजस्तो आकस्मिक अवस्थाको शल्यक्रियाका लागि भनेर हालै ३० लिटर तेल ल्याएर राखिएको छ। अन्यथा नर्मल डेलिभरि पनि अँध्यारैमा गर्नुपर्ने बाध्यता छ।
‘बत्तीको समस्याबारे हामीले प्रशासन, विद्युत प्राधिकरण, स्थानीय तह सबैलाई भन्यौं, तर कसैले पनि समाधान निकाल्नु भएन,’ उनले भने। डा उपाध्यायले अस्पतालमा भएको पूरानो सोलार मर्मत गर्ने विकल्प भए पनि त्यो झन् खर्चिलो हुने देखिएको छ। ‘मर्मतभन्दा बरु नयाँ किन्दाको खर्च धानिने देखियो, तर नयाँ ल्याउन स्वास्थ्य कार्यालयमा बजेट छैन रे, त्यसैले बत्ती नहुँदा अँध्यारैमा काम गर्न बाध्य छौं,’ उनले भने।
उनका अनुसार निर्धारित तालिकामा पनि बत्ती आउने कुनै टुंगो छैन। झ्याप–झ्याप बत्ती जाने समस्या हुन्छ, पालोमा पनि बत्ती आउँदैन। सोलारको भर पर्नुपर्ने हुँदा युएसजी गर्न सकिए पनि रिपोर्ट प्रिन्ट गर्न समस्या रहेको उनले बताए।