एक डाक्टर, जो गरिबका लागि चलाउँछन् ‘एक रुपैयाँको क्लिनिक’

हेल्थपोस्ट नेपाल

भारत उडिसाको सम्बलपुर जिल्लाको बुर्लास्थित सुरेन्द्र साईं इन्स्टिट्युट अफ मेडिकल साइन्समा सहायक प्राध्यापकको रुपमा कार्यरत छन् डा शंकर रामचन्दानी। उनी बिहानदेखि साँझसम्म कलेजमा जागिर खान्छन्। तर साँझको समयमा गरिब नागरिकका लागि ‘एक रुपैयाँको क्लिनिक’ चलाउँछन्। यो क्लिनिकमार्फत् उनले थुप्रै यस्ता मानिसको उपचार गरिसकेका छन्।

उनी भन्छन्, ‘समाजका लागि केही गर्नुपर्छ भन्ने मेरा बाबुआमाको सपना थियो। जसरी हुन्छ उहाँहरुले हामी सबै सन्तानलाई पढाउनुभयो। परिवारको इच्छा थियो डाक्टर बनेपछि मैले परिवारका लागि केही गर्न सकुँ।’

‘बाबुको इच्छा पनि गरिबका लागि निःशुल्क नर्सिङ होम सुरु गर्ने थियो। तर आजकालको जमानामा निःशुल्क उपचार केन्द्र खोल्न समस्या छ। यसका लागि निकै पैसा आवश्यक पर्छ। त्यसैले मैले एक रुपैयाँ क्लिनिक खोल्ने निर्णय गरेँ,’ उनले भने।

उनी बिहानैदेखि साँझसम्म कलेजमा जागिर खान्छन्। त्यसपछि क्लिनिक पुग्छन्, जहाँ हरेक दिन ३० देखि ३५ बिरामी जाँच्छन्। ज्वरो, हाइपरटेन्सन, मधुमेहजस्ता रोगका बिरामीहरु उनीसँग उपचार गराउन आउँछन्।

उनी भन्छन्, ‘उपचार सम्भव भएकै रोगबाट बिरामीको मृत्यु हुनु दुःखद हो। यसको कारण नै किफायती स्वास्थ्य सेवाको कमी। यसैले यो क्लिनिकको माध्यमबाट कम्तीमा हामी केही मानिसलाई सही उपचार दिनसक्छौं।’

डा रामचन्दानी स्वास्थ्य परीक्षण र उपचार गरेवापत बिरामीसँग एक रुपैयाँमात्र लिन्छन्। यदि कोही औषधि किन्न नसक्ने अवस्थामा हुन्छन् भने उनी औषधि पनि आफैं किनिदिन्छन्।

एक रुपैयाँ शुल्क लिएको बारे उनी भन्छन्, ‘मानिसहरुलाई सबै कुरा निःशुल्क पाइरहेको छु भन्ने महसुस हुन नदिन एक रुपैयाँ लिन्छु। उनीहरु राम्रो उपचार चाहन्छन् र उनीहरुसँग शुल्क लिएकाले सही उपचार गर्नु मेरो पनि कर्तव्य हो। फिस कति हो, त्यसले के फरक पार्छ र ?’

मेडिकल कलेजमा रेजिडेन्टको रुपमा कार्यरत रहँदा उनले नियमअनुसार क्लिनिक खोल्न पाउँदैनथे। तर जब सहायक प्राध्यापक पदमा बढुवा भयो, उनले एउटा भाडाको स्थानमा क्लिनिक सुरु गरे। जहाँ गरिबका लागि आर्थिक सहयोग गर्थे।

गत वर्षदेखि उनी कुष्ठरोगबाट ग्रसित मानिसको सेवा गरिरहेका छन्। स्थानीय भन्छन्, ‘डा रामचन्दानीको सहयोगबाट थुप्रै कुष्ठरोगीले राम्रो अस्पतालमा उपचार पाइरहेका छन्। कुष्ठरोगका बारेमा मानिसमा जागरुकता फैलिइरहेको छ। डा रामचन्दानीको सहयोगले कुष्ठरोगप्रति समाजको दृष्टिकोण परिवर्तन भइरहेको छ।’

उनी यो सेवाका लागि आफ्नो कमाई प्रयोग गरिरहेको र यसमा पूरा परिवारको पनि सहयोग रहेको बताए। उपचारका क्रममा केही मानिसले आर्थिक सहयोग गर्ने प्रस्ताव पनि गरेको तर, आफूले आफैं सेवालाई निरन्तरता दिन सक्ने जवाफ दिएको उनले बताए। तर आवश्यक परेको अवस्थामा उनीहरुसँग सम्पर्क गर्ने पनि उनले बताए।



Leave a Reply

Your email address will not be published.