कोरोना मृत्युको तथ्यांकबारे भारतले किन उठायो डब्लुएचओमाथि प्रश्न?

हेल्थपोस्ट नेपाल

बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै चीनका केही सहरमा कडा खालको लकडाउन गरिएको छ। भारतमा पनि संक्रमण वृद्धिका खबर आइरहेका छन्। यहीबीच कोभिडका कारण भएको मृत्युको गणना गर्ने तरिकाका विषयमा विश्व स्वास्थ्य संगठनमाथि प्रश्न उठेको छ।

शनिबार भारतले कोभिडका कारण हुने मृत्युको गणनामा डब्लुएचओले अपनाएको तरिका भारतको सन्दर्भमा ठीक नरहेको बताएको छ। भारतजस्तो ठूलो जनसंख्या भएको मुलुकमा डब्लुएचओको फर्मुला अपनाउनु ठीक नरहेको भारतको भनाइ छ।

कसरी यस्तो प्रश्न उठ्यो?
न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा कोरोना संक्रमणका कारण हुने मृत्युको सही संख्या जारी गर्नमा भारतले डब्लुएचओको सहयोग नगरेको आरोप लगाइएको थियो।

यो लेख प्रकाशित भएपछि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मृत्युको गणनाका विषयमा ६ पटकसम्म पत्र पठायो। यस्तै खालको प्रतिक्रिया चीन र बंगलादेशले पनि दिए।

न्युयोर्क टाइम्समा १६ अप्रिलमा ‘इण्डिया इज स्टलिङ डब्लुएचओज इफोर्ट टु मेक ग्लोबल कोभिड डेथ टोल पब्लिक’ (भारत कोरोना संक्रमणका कारण भएको मृत्यु संख्या सार्वजनिक गर्ने डब्लुएचओको प्रयासमा अवरोध गरिरहेको छ) भनिएको थियो।

लेखमा भनिएको छ,‘विश्व स्वास्थ्य संगठनका अनुसार महामारीको चपेटामा परी करिब डेढ करोड मानिसको मृत्यु भएको छ। यो आँकलन पहिले गरिएका अनुमानभन्दा धेरै गुणा बढी हुन्। तर अहिलेसम्म गणना सार्वजनिक गरिएका छैनन्।’

कोरोना भाइरस महामारीका कारण विश्वस्तरमा भएका मृत्युको गणना गर्ने प्रयासका क्रममा मृतककोसंख्या पहिलेभन्दा धेरै बढी भएको पाइएको लेखमा उल्लेख थियो।

तर भारतको आपत्तिका कारण महामारीको यस परिणामलाई सार्वजनिक गर्न नसकिएको लेखमा दाबी गरिएको थियो।

यसपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले यो विषयमा भारतले डब्लुएचओका साथ नियमित र गहन प्रविधि आदानप्रदान गरिरहेको बताएको थियो।

भारतका अनुसार डब्लुएचओको यो विश्लेषणमा मृत्युको तथ्यांक टियर १ मा सामेल देशअनुसार गरियो। जबकि गणना गर्ने सूत्र टियर २ मा समावेश देशअनुसार लगाइयो। टियर २ मा भारत पनि समावेश छ। भारतले यसको परिणामसँग नभई अपनाइएको तरिकासँग आपत्ति रहेको जनाएको थियो।

भारतले चीन, इरान, बंगलादेश, सिरिया, इथियोपिया र इजिप्टजस्ता अन्य देशका सम्बन्धमा अपनाइएको कार्यप्रणाली र अनौपचारिक तथ्यांक उपयोग गर्नेबारेमा प्रश्न उठाएको छ।

भारतको अर्को आपत्ति भौगोलिक स्थिति र जनसंख्याको घनत्वलाई लिएर हो। भारतजस्तो भौगोलिक तथा जनसंख्याको हिसाबले ठूलो मुलुकका लागि सांखिकीय मोडल परियोजनाको अनुमान लगाउन नसकिने भारतको भनाइ छ। डब्लुएचओले अपनाएको तरिका कम जनसंख्या भएको मुलुकका लागि भएको बताइएको छ।

केमा भारतको विरोध?
डब्लुएचओले अपनाएको मोडलअनुसार प्रत्येक महिनाको तापमान र औसत मृत्युदरबीच विपरीत सम्बन्ध मानिएको छ र यी दुईबीच सम्बन्ध स्थापित गर्नका लागि कुनै वैज्ञानिक तथ्य प्रस्तुत गरिएको छैन।

यस्तै, भारतका १८ राज्यको तथ्यांकका आधारमा राष्ट्रिय स्तरको मृत्युदरको अनुमान सांखिकीय हिसाबले प्रमाणित नहुने भारतको भनाइ छ। किनभने, भारतमा कोभिड संक्रमण दर कुनै पनि समय देशभर समान थिएन।

भारतको प्रतिक्रियाबारे अहिलेसम्म डब्लुएचओले केही बताएको छैन।

मृत्युमा राजनीति
यो विषयमा कांग्रेस नेता राहुल गान्धीले सरकारको आलोचना गरेका छन्।

उनले न्युयोर्क टाइम्सको लेखको स्क्रीनसट राख्दै ट्वीट गरेका छन्, ‘मोदीजी न सत्य बोल्छन्, न बोल्न दिन्छन्। उनी अझै अक्सिजन कमीका कारण कसैको पनि मृत्यु भएको छैन भनेर झुट बोलिरहेका छन्। मैले पहिले पनि भनेको थिएँ, कोभिडमा सरकारको लापरवाहीका कारण ५ लाख होइन, ४० लाख भारतीयको मृत्यु भएको छ। कर्तव्य निभाउनुहोस् मोदीजी, हरेक पीडित परिवारलाई ४ लाखको क्षतिपूर्ति दिनुहोस्।’

वरिष्ठ पत्रकार हिमानी चन्द्राले पनि सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भारत सरकारका अनुसार कोरोनाको मृत्युको आँकडा ५.२ लाख छ, जबकि डब्लुएचओका अनुसार यो आँकडा ४० लाख छ। न्युयोर्क टाइम्सलाई भारतको भएको अत्यधिक मृत्युको आँकडा प्राप्त भयो, तर उनीहरु अन्य देशका आँकडा आँकलन गर्न सफल भएनन्, यो आश्चर्यजनक कुरा हो।’ बिबिसी हिन्दीबाट
०००



Leave a Reply

Your email address will not be published.