कोरोना खोप अभियान सफल भएको स्वास्थ्य मन्त्रालयको दाबी, पूर्ण डोज लगाउनेको संख्या ९० प्रतिशत

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियान सफल भएको बताएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले लक्षित वर्गमध्ये लगभग ९५ प्रतिशत नागरिकलाई पहिलो मात्रा र ९० प्रतिशतको हाराहारीमा पूर्ण मात्रा खोप लगाइएको बताए।
उनले आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याई अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे।

‘तोकिएको समयभित्र सबैलाई पूर्ण मात्रा खोप लगाउन सकेको भए राम्रो हुन्थ्यो। यद्यपि, पूर्ण मात्रा लगाउने जनसंख्या पनि ९० प्रतिशतकै हाराहारी पुग्न थालेको देखिन्छ। यसलाई हेर्दा हामीले लगभग लक्ष्य प्राप्ति गरेको भन्नुपर्ने हुन्छ,’ सहप्रवक्ता अधिकारीले भने, ‘चैत ३० गतेपछि नै हाम्रो खोप अभियान पूर्ण रूपमा बन्द हुने होइन। संक्रमणबाट बँच्नका लागि जतिसक्दो चाँडो बाँकी व्यक्तिहरूलाई खोपको दायरामा ल्याउनका लागि र खोप लगाएको व्यक्तिले दोस्रो मात्रा लगाउनका लागि हामीले यो अभियानलाई निरन्तर अघि बढाउनैपर्छ।’

सहप्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरूमा कोरोनाविरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए।

उनले हालसम्म सरकारले कोरोनाविरुद्धका खोपहरू खेर नफालेको दाबीसमेत गरे। अधिकारीले सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर यथोचित प्रयोग गरिरहेको बताए। उनले कोरोनाविरुद्धका केही खोपहरूको मिति सकिन लागेको भन्दै त्यसलाई सकेसम्म प्रयोग गर्ने तरिकाले खोप नपुगेका स्थानमा म्याद सकिन लागेका खोपहरू लगेर अभियान सञ्चालन गरिरहेको जानकारी दिए।

०७८ चैत मसान्तसम्म १८ वर्षमाथिका सबैलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको अधिकारीले बताए। उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेपछि चैत मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहलाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९ सय ६ जनाले खोपको एक मात्रा लगाएका छन् भने एक करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।

त्यस्तै, लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४ सय ८ बालबालिकामध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसबाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार पाँच सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोज खोप प्रयोग गरिएको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.