जीप दुर्घटनामा स्याङ्जाका एकै गाउँका पाँचको मृत्यु

हेल्थपोस्ट नेपाल

वालिङ–स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आइतबार फिरफिरेमा दुर्घटना भएको हो।

दुर्घटनामा वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिए।

जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन्। घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन्।

घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो । मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ।



Leave a Reply

Your email address will not be published.