युरोप र अमेरिकाका बालबालिकामा देखियो रहस्यमय कलेजो रोग, अनुसन्धानमा जुटे विज्ञ

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्वका विभिन्न मुलुकमा बालबालिकामा रहस्यमय रुपमा कलेजोसम्बन्धी समस्या देखिएपछि स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका छन्। अमेरिका, बेलायत, स्पेन, आयरल्याण्डलगायतका मुलुकमा यस्तो समस्या देखा परेको हो। चिसोसँग सम्बन्धित एक भाइरसका कारण यस्तो भएको विज्ञको अनुमान छ।

यस्तो समस्या १ देखि ६ वर्षसम्मका बालबालिकालाई देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बेलायतका चिकित्सकहरु कलेजो सुन्निने समस्याले पीडित ७४ बालबालिकाको परीक्षण गरिरहेका छन्।

एक महिनायता यस्ता समस्या बढेपछि खोजी गर्दा बिरामीको संख्यामा वृद्धि भएको पाइएको थियो। अमेरिकाको अलाबामामा यस्ता समस्या देखिएका ९ बालबालिकाको पनि परीक्षण सुरु गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

अमेरिकामा पीडित बालबालिकाको कलेजो प्रत्यारोपण नै गर्नुपर्ने अवस्था देखिएको जनाइएको छ। युरोपमा ६ वर्षभन्दा बढी उमेरका बालबालिकामा पनि यस्तो समस्या भेटिएको छ।

स्कटल्याण्डमा जनवरी र मार्च महिनामा बिरामी भएका बालबालिकालाई परीक्षण गर्दा उनीहरुमा हेपाटाइटिस भएको फेला परेको छ। बेलायतमा कम्तीमा ६४ बालबालिकामा यस्ता समस्या पहिचान भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। तीमध्ये कसैको पनि मृत्यु नभए पनि कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको जनाइएको छ।

कलेजोले पोषकतत्वलाई शरीरका अन्य भागमा पठाउँछ, रगत फिल्टर गर्छ र संक्रमणसँग लड्ने काम गर्छ। कलेजोमा संक्रमण भएमा कमलपित्त, पेट दुखाईजस्ता लक्षण देखा पर्छन्। यदि समयमै उपचार नगरिएमा ज्यान जान पनि सक्छ।



Leave a Reply

Your email address will not be published.