दुवाकोटमा वीर अस्पतालको ल्याब र एक्स-रे सेवा सुरु

काठमाडौं- वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब र एक्स-रे सेवा सञ्चालनमा ल्याएकाे छ। सेवाकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले उद्घाटन गरे।
दुवाकाेटमा क्लिनिक, ल्याब, प्रयोगशाला सञ्चालन गर्न एक चिकित्सकसहित ६ स्वास्थ्यकर्मी खटाइएको छ। ल्याब सेवा सुरु भएपछि त्यस क्षेत्रका नागरिलाई स्वास्थ्य सेवा पाउन सहज हुने भएको छ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले अब फार्मेसी पनि विस्तार गर्नुपर्ने बताए। ठिमी, कागेश्वरी र चागुनारायण बासिन्दालाई लक्षित गरेर सेवा संचालन गरिएको हो।
सचिव पोखरेलले तत्काल ल्याब र एक्सरे सेवा सुरु गरेकाे भन्दै हप्तामा २ देखि ३ दिन विशेषज्ञ सेवा संचालन गर्ने जानकारी दिए।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले यसबीचमा कामले गति लिन नसके पनि अब तिव्रताका साथ काम अघि बढ्ने बताए। प्याथोलोजीका साथै अल्ट्रासाउन्ड सेवा पनि तत्काल सुरु गर्ने उनले बताए।