भारतमा कोरोनाको चौथो लहरको संकेत, दिल्लीको संक्रमण दर बढ्यो

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली–भारतमा कोरोना संक्रमितको संख्या एक्कासी बढेसँगै चौथो लहरको संकेत देखिएको छ। नोइडा र गाजियावादको विद्यालयका विद्यार्थीमा ठूलो संख्यामा कोरोना देखिएकाले यसलाई चौथो लहरको संकेतका रुपमा लिन सकिने विज्ञहरुले बताएका छन्।

यस्तै, दिल्लीमा २४ घण्टामा थप २९९ मा संक्रमण देखा परेको छ। जुन २ दिनअघिको तुलनामा ११८ प्रतिशत बढी हो। दिल्लीमा कोभिड संक्रमण दर ०.५ प्रतिशतबाट बढेर २.७० प्रतिशत पुगेको छ। केन्द्रीय स्वास्थ्यमन्त्रीले कोभिड अझै समाप्त भइनसकेकाले आवश्यक सतर्कता र नियम पालना गर्न आग्रह गरेका छन्।

विज्ञहरुले भारतमा जुन र जुलाई महिनामा कोरोनाको संक्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने आँकलन गरेका छन्। यद्यपि अधिकांश मानिसले कोरोनाविरुद्धको बुस्टर डोजसमेत लगाइसकेकाले दोस्रो लहरजस्तो घातक नहुने विज्ञको भनाइ छ।

सामाजिक दूरी, हातको सरसफाई र मास्क लगाउनेजस्ता प्रमुख तीन सुरक्षा प्रोटोकल अपनाउन जारी राख्नपर्ने चिकित्सकहरुले सुझाव दिँदै आएका छन्। यसैसाताको सुरुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्नाटकाका स्वास्थ्यमन्त्रीले जुन जुलाई महिनामा चौथो लहर आउने उल्लेख गर्दै राज्यले थप क्षति हुन नदिन आवश्यक तयारी गरेको बताएका थिए।



Leave a Reply

Your email address will not be published.