चुनावको मुखमा अर्बौंका टेण्डर स्वीकृत गर्दै स्वास्थ्यमन्त्री

हेल्थपोस्ट नेपाल

काठमाडौं–मुलुकमा वैदेशिक मुद्रा सञ्चिती निरन्तर ओरालो लागिरहेको छ। यहीकारण श्रीलंकामा जस्तै चरम आर्थिक संकट निम्तने आँकलन भइरहेको छ। तर यहीबीच केन्द्रीय तथा प्रदेश स्वास्थ्य मन्त्रालय भने लाखौं डलरको स्वास्थ्य उपकरण खरिद गर्ने ध्याउन्नमा छन्।

मन्त्रालयले हालै ७५ करोड रुपैयाँका स्वास्थ्य सामग्री खरिदका लागि टेण्डर आव्हान गरेको छ। स्वास्थ्य सामग्री खरिद प्रक्रियामा पूर्वस्वास्थ्य राज्यमन्त्री एवं हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका मन्त्री उमेश श्रेष्ठको संलग्नता रहेको दाबी स्रोतको छ। जसलाई स्वास्थ्यमन्त्री विरोध खतिवडाले सहयोग गरिरहेका छन्। ‘चुनाव खर्चको जोहो गर्ने गरी’ टेण्डर आव्हान भएको र सबै टेण्डर एक निश्चित आपूर्तिकर्तालाई जिम्मा दिनेगरी स्पेसिफिकेसन राखिएको स्रोतले दाबी गरेको छ।

संघीय स्वास्थ्य मन्त्रालय मातहत रहेको नारायणी अस्पतालका लागि भन्दै करिब ३१ करोड रुपैयाँका थ्रि टेस्ला एमआरआई मेसिन खरिदका लागि चैत २५ गते टेण्डर आव्हान गरिएको छ।

उक्त अस्पतालमा सीटी स्क्यान मेसिन ४ वर्ष प्रयोगपछि मर्मत नगरी बिग्रिएर फालेको अवस्थामा छ भने त्यसको स्थानमा गत वर्षमात्र ५ करोडको सीटी स्क्यान मेसिन जडान गरिएको छ। अहिले सोही अस्पतालका लागि भनेर ३१ करोडको एमआरआइ मेसिन किन्न खोजिएको छ।

‘१.५ टेस्लाको १५ करोडको मेसिनले काम गर्ने ठाउँमा चुनावको मुखमा त्योभन्दा बढी टेस्ला र रकमको मेसिन खरिद गर्न खोज्नु चुनाव खर्च उठाउनेबाहेक अरु होइन,’ स्रोत भन्छ, ‘अझ यसमा सबै चिनियाँ कम्पनीलाई टार्गेट गरिएको छ।’

उक्त टेण्डरको स्पेसिफिकेसनमा एमआरआइ मेसिनको बोर साइज (गोलाई, भित्री डायामिटर) ७५ सेमि तोकिएको छ। जबकि थ्रि टेस्लामा उक्त बोर साइजको एमआरआई मेसिन चिनियाँ कम्पनीसँग मात्र छ।

स्वास्थ्य सामग्री खरिदमा ‘सेटिङ’: स्पेसिफिकेसनका त्रुटि सच्याउन बागमती स्वास्थ्य मन्त्रालयको अटेरी

सिभिल अस्पतालले हालै ७० सेमि बोर साइजको थ्रि टेस्ला एमआरआई मेसिन किन्न २४ करोड रुपैयाँको टेण्डर आव्हान गरेको छ।

यस्तै, स्वास्थ्य सेवा विभागको व्यवस्थापन शाखाले चैत ७ गते १७८ पोर्टेबल अल्ट्रासाउण्ड मेसिन जडान गर्न ३० करोड रुपैयाँ (२१ लाख ९५ हजार ५ सय ९५ अमेरिकी डलर) को टेण्डर आव्हान गरेको छ। प्रदेशमा पठाइने भनिएको यी युएसजी मेसिनको स्पेसिफिकेसन पनि चिनियाँ कम्पनी केन्द्रीत छ।

सोही शाखाले चैत २१ गते ९ वटा मोबाइल डिजिटल रेडियोग्राफी (डिआर) मेसिन किन्न १४ करोडको टेण्डर आव्हान गरेको छ। यो पनि निश्चित आपूर्तिकर्तालाई नै हुने गरी स्पेसिफिकेसन बनाइएको छ। जसमा १० वर्षमा कम्तीमा ९ वटा डिआर युनिट आपूर्ति गरेको हुनुपर्ने उल्लेख छ।

कोरोना महामारीका बेला चीनबाट जीटुजी प्रक्रियाअन्तर्गत १० वटा डिआर मेसिन ल्याइएको थियो। सोही आपूर्ति कम्पनीलाई टार्गेट गरी यो स्पेसिफिकेसन राखिएको स्रोतको दाबी छ। अन्यथा मोबाइल डिआर मेसिन खासै प्रयोगमा नआउने बताइन्छ। एउटा मोबाइल डिआर मेसिनको १ करोड ६० लाख पर्छ भने योभन्दा उच्च गुणस्तरको फिक्स्ड डिआर मेसिन १ करोडमै आउने बताइन्छ।

अझै छन् पाइपलाइनमा छन् करोडौंका स्वास्थ्यसामग्री खरिद प्रक्रिया
स्रोतका अनुसार सुर्खेत अस्पतालमा एमआरआई मेसिन खरिदका लागि २८ करोड, शिक्षण अस्पतालका लागि न्युरो सर्जरी माइक्रोस्कोप खरिदका लागि ७ करोड, साढे ५ करोडको इण्डोस्कोपी, अन्य उपकरण तथा औजार १६ करोडको र फोहोर व्यवस्थापनका लागि ३६ करोडको टेण्डर आव्हान गर्ने तयारी गरिएको छ।

बागमती प्रदेशमा पनि धमाधम खरिद गरिँदै
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले पनि धमाधम करोडौंका स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ। निश्चित आपूर्तिकर्तालाई केन्द्रित गरी प्रदेश सरकारले हालै पौने अर्बका स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ। जसमा धेरै बजेटमा कमजोर स्पेसिफिकेसन राखि अनियमितता गर्ने प्रयास गरिएको छ।

चुनावअघि नै अर्बकाे स्वास्थ्य उपकरण किन्ने हतार, स्पेसिफिकेसनमै ‘सेटिङ’

 



Leave a Reply

Your email address will not be published.