‘सन् २०२१ अमेरिकी इतिहासमै घातक वर्ष’

हेल्थपोस्ट नेपाल

काठमाडौं–सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा घातक वर्ष साबित भयो र हालै सार्वजनिक नयाँ तथ्यांकहरुले कसरी घातक वर्ष बन्यो भन्ने जानकारी दिएका छन्। यसको मुख्य कारण थियो कोभिड १९।

सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले मार्च महिनामा मृत्युको तथ्यांक अपडेट गर्‍यो, जसमा २०२० मा ३ लाख ४६ हजार मृत्यु भएको थियो भने २०२१ मा उक्त संख्यामा ८० हजारले वृद्धि भयो।

२०२१ को सुरुवातमा केही विशेषज्ञ कोरोना पहिलो वर्षजति खराब नहुनेमा आशावादी थिए। किनकि, आंशिक रुपले भएपनि प्रभावकारी खोप उपलब्ध भसकेको थियो।

‘तर दुर्भाग्यवश हामी गलत थियौं,’ प्रिन्स्टन विश्वविद्यालयका अनुसन्धानकर्ता नोरेन गोल्डम्यानले भने। विशेषज्ञका अनुसार कोभिडबाट भएको मृत्युमा वृद्धि भएर २०२१ मा ४ लाख १५ हजारभन्दा बढी भयो। जब कोरोना भाइरसको नयाँ भेरियन्ट फैलियो र अप्रत्याशित रुपले अमेरिकीहरुले ठूलो संख्यामा खोप लगाउन अस्वीकार गरे र मास्क लगाउन संकोच माने।

सीडीसीको प्रारम्भिक तथ्यांकले क्यान्सरको मृत्युदरमा केही वृद्धि भएको देखियो। साथै, मधुमेह, कलेजोको दीर्घ रोग र स्ट्रोकको दरमा पनि वृद्धि भयो।

नसायुक्त औषधिको ओभरडोजबाट हुने मृत्युमा पनि वृद्धि जारी रह्यो। सीडीसँग अझै पनि सन् २०२१ मा ओभरडोजबाट हुने मृत्युको कुनै हिसाब छैन। किनभने, त्यसलाई पहिचान गर्न ल्याबको काम र परीक्षणमा हप्तौं लाग्न सक्छ। तर अक्टुबरको अन्तिम तथ्यांकबाट थाहा भयो–२०२१ मा कम्तीमा पनि ओभरडोजबाट हुने मृत्यु १ लाख ५ हजार थियो भने एक वर्षअघि ९३ हजार।

मंगलबार जारी गरिएको नयाँ तथ्यांकले १४ देखि १८ वर्षका किशोरकिशोरीबीच ओभरडोजबाट हुने मृत्युमा विशेष रुपमा वृद्धि देखियो।

अमेरिकन मेडिकल एशोसियनको जर्नलमा प्रकाशित रिपोर्टअनुसार विगत एक दशकमा किशोरहरुको मृत्यु संख्या लगभग ५ सय प्रतिवर्ष थियो, यो स्थिर आँकडा हो। तर २०२० मा यो संख्यामा दोब्बर वृद्धि भएर ९५४ भयो। अनुसन्धानकर्ताका अनुसार गत वर्ष कुल ११५० जनाको मृत्यु भयो।

अनुसन्धानकर्ता जोसेफ फ्रीडम्यानका अनुसार किशोरकिशोरीहरुको मृत्युदर अमेरिकामा १ प्रतिशतमात्र छ। तर समग्र जनसंख्याको तुलनामा मृत्युदरमा वृद्धिको अनुभव गरिएको अनुसन्धानकर्ताको भनाइ छ। यद्यपि सर्वेक्षणहरुले किशोरकिशोरीहरुले लागुपदार्थ कम प्रयोग गर्ने देखाएका छन्।

अमेरिकामा बढ्दो जनसंख्याका कारण मृत्युको संख्या बर्सेनि बढ्दो हुन्छ। तर २०२० र २०२१ मा ठूलो संख्यामा मृत्युको कारण कोरोना महामारी नै देखियो।

तर केही अपवादबाहेक अमेरिकी  सरदर आयु  (लाइफ एक्स्पेक्टेन्सी) बर्सेनि बढ्दै गएको थियो। तर दुई वर्षयता यो घटेको देखिन्छ। सीडीसीका अनुसार २०२० मा कूल जीवनदर ७७ वर्ष थियो, जुन २०१९ का तुलनामा डेढ वर्ष घटेको थियो। २०२१ मा पनि अघिल्लो वर्षको तुलनामा ५ या ६ महिना घट्यो। गोल्डम्यानका अनुसार दुई वर्षको बीचमा जीवनदर २ वर्षभन्दा कम भयो। केही विशेषज्ञहरुले  सरदर आयु वृद्धि हुने सम्भावना तत्काल नरहेको बताएका छन्।

अर्को अध्ययनमा अमेरिका र अन्य उच्च आय भएका १९ मुलुकबीच तुलनात्मक अध्ययन गरिएको थियो, जसमा पनि अमेरिकाको स्थिति खराब रहेको देखिएको थियो। किनभने, कोभिडले दीर्घकालीन समस्याहरुलाई बढाउने सम्भावना हुन्छ र त्यसले मृत्युलाई बढाइदिन्छ। टाइमबाट

 



Leave a Reply

Your email address will not be published.