जनकपुरधाममा २०० शय्याकाे अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

हेल्थपोस्ट नेपाल

धनुषा-जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याकाे अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ।

आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेशनका अध्यक्ष डा विनय शाहले जानकारी दिए।

डा शाहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए। उनले उहाँले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्ने जानकारी पनि दिए।

अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको जनाइएकाे छ। पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ। सन् २०२५ सम्ममा १०० श्ययाको भवन निर्माण गरिसक्ने पनि शाहले बताए। अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेका छन्।

बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । विगतमा, यीमध्ये धेरै बिरामीले क्यान्सरको उपचारका लागि आठ घण्टा वा बढी यात्रा गर्नुपथ्र्याे । यस्तो यात्राका लागि स्रोतसाधन नभएकाले उपचार नै पाउँदैनथे।

हाल जनकपुरधाम मा बिटिएफसिसीको २५ शय्याकाे अस्पताल सञ्चालनमा रहेको छ । जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन्।

डा शाहले यो दक्षिण एशियाकै आधुनिक अस्पतालकारुपमा स्थापित हुने दाबी गरे। ‘हामी क्यान्सरको उपचारमा २१औँ शताब्दीको अत्याधुनिक टेक्नोलोजीे प्रयोग गर्नेछौँ’, डा शाह भन्छन् ‘यस अस्पतालमा डाक्टर र अनुसन्धानकर्ताले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान त गर्ने नै छन्, त्यसका साथसाथै यो संस्था क्यान्सर निदानका लागि उच्चस्तरको रिसर्च सेन्टरकारूपमा पनि काम गर्नेछ।’

 



Leave a Reply

Your email address will not be published.