स्वास्थ्य अनुसन्धानको क्षेत्रमा लगानी गर्न बागमती प्रदेश तयार छ: मुख्यमन्त्री पाण्डे

काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा लगानी गर्न लागेको बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलनको उद्घाटन गर्दै पाण्डेले अध्ययन अनुसन्धानको क्षेत्रमा उच्च शैक्षिक संस्था स्थापना गर्ने कार्यक्रम अगाडि बढाएको बताए।
उनले विज्ञान तथा प्रविधिसम्बन्धमा अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउन सरकारले नीति पास गरेको र त्यसका आधारमा ऐन बनाउने बताए। अनुसन्धानका क्षेत्रमा प्रदेश छुट्टै ढंगले अगाडि बढ्ने उनको भनाइ छ।
मुख्यमन्त्री पाण्डेले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा अनुसन्धान परिषद्सँग मिलेर अगाडि बढ्न र बजेट तथा कानुनी बन्दोबस्त गर्न पनि बागमती प्रदेश सरकार तयार रहेको पनि बताए। ‘त्यसका लागि म काउन्सिल अध्यक्ष र पूरै काउन्सिल परिवारलाई आमन्त्रण गर्न चाहन्छु,’ उनले भने।
उनले अनुसन्धानका क्षेत्रमा खर्च गर्ने बानी कम रहेको र अनुसन्धानमा भएको खर्चलाई फजुल खर्च मान्ने चलन रहेको उल्लेख गर्दै अनुसन्धानका क्षेत्रमा अरु ६ प्रदेशलाई बाटो देखाउन बागमती प्रदेश तयार रहेको बताए।
पाण्डेले नसर्ने रोगको स्थिति पत्ता लगाउन मुख्यमन्त्री स्वास्थ्य परीक्षण योजना चलाएको जानकारी दिँदै कोभिडका कारण रोकिएको उक्त योजनालाई अब निरन्तरता दिने बताए।