१० दिनदेखि उठेन काठमाडौंको फोहोर, संक्रामक रोग फैलन सक्ने विज्ञको चेतावनी

काठमाडौं-कालोपत्रेको माग राख्दै नुवकोटाको तीनपिप्लेका बासिन्दाले सडक अवरुद्ध गरेपछि १० दिनदेखि काठमाडौंको फोहोर उठ्न छाडेको छ।

गत फागुनमा पनि स्थानीय बासिन्दाले सडक निर्माणको माग गर्दै २५ दिन फोहोर विसर्जनमा अवरोध गरेका थिए। त्यसपछि ठेकेदार कम्पनी, सडक विभाग, काठमाडौं महानगर र स्थानीयबीच चैत १५ भित्र काम सक्ने सहमति भएको थियो।

तर यो अवधिमा कुनै पनि काम अघि नबढेको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन्। काठमाडौंको फोहोर २०६२ देखि नुवाकोटको सिसडोलमा विसर्जन गरिँदै आएको छ।

सुरुमा सरकारले यहाँ ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्ने बताएको थियो। तर १६ बर्ष हुँदा पनि यसको स्थायी समाधान हुन सकेको छैन। अहिले काठमाडौंका सडक, पेटीमा जताततै फोहोरका डंगुर देखिन थालेका छन्।

महानगरका प्रवक्ता इश्वरमान डंगोलले फोहोर नउठेको १० दिन भएको बताए।

महानगरको वातावरण विभाग फोहोरमैला व्यवस्थापन शाखाकी प्रमुख सरिता श्रेष्ठले चैत १५ गतेभित्र सडक निर्माणको काम सक्ने गरि सम्झौता भएको र लगत्तै स्थानीयको अवरोध हटेको बताइन्।

संक्रामक रोग फैलने खतरा
फोहोरका कारण गर्मी समयमा संक्रामक रोग फैलन सक्ने चेतावनी विशेषज्ञहरुले दिएका छन्।

ज्वरो, झाडापखाला, हेपाटाइटिस बी, जन्डिस फैलिन सक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले बताए। ‘मौसम परिवर्तनको समयमा आफैँ पनि सरुवा सरुवा रोग फैलिन्छ,’ डा. पुनले भने, ‘त्यसैमाथि फोहोर व्यवस्थापनमा चुक्यौ भने अरु थप रोग फैलिने सम्भावना रहन्छ र यो कुरा हामीले विगतमा पनि देख्दै आइरहेका छौं।’

चिसो मौसम समय सकिएर गर्मी मौसम सुरु हुदैछ। मौसम परिवर्तन हुँदा मानवस्वास्थ्यमा विभिन्न खालका स्वास्थ्य समस्याहरु देखा पर्ने चिकित्सकहरु बताउँछन्।

सडक छेउमा रहेका फोहोरमा बस्ने झिँगा, लाम्खुट्टेहरु भान्सासम्म पुग्ने भएकाले कारण सरुवा रोग फैलन सक्ने सम्भावना रहेको डा पुनको भनाइ छ।

सडक खुलाउने निरन्तर छलफल

महानगरले भने पासाङल्हामु राजमार्गमा पर्ने तीनपिप्ले सडक खुलाउनको लागि निरन्तर छलफल गरिरहेको फोहोरमैला व्यवस्थापन प्रमुख श्रेष्ठले बताइन्। सडक कालोपत्रेको माग राख्दै अवरुद्ध भएको सडक अहिले खुलाउने प्रयास भइरहेको श्रेष्ठको भनाइ छ।

‘सडक खुलाउनका लागि स्थानियबासिन्दा, सडक विभाग र स्थानीय प्रशासनसँग निरन्तर गुहार गरिरहेका छौं’, श्रेष्ठले भनिन् ‘कहिलेसम्म फोहोर उठ्छ भन्ने निश्चित छैन। तर पनि हामी जतिसक्यो चाडो फोहोर उठाउने तरिकाले छलफल गरिरहेका छौ।ं’

 



Leave a Reply

Your email address will not be published.