अनुसन्धानका नाममा आउने ७५ प्रतिशत रकम पुनः फर्कन्छ विदेशतिरै

हेल्थपोस्ट नेपाल

काठमाडौं–राष्ट्रिय योजना आयोगका सहसचिव डा वासुदेव शर्माले अनुसन्धानका नाममा हाल ५६ वटा विकास साझेदारले नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लगानी गरिरहेको बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारदेखि गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनको दोस्रो सत्रमा बोल्दै शर्माले अनुसन्धानका नाममा गरिएको खर्चको ७५ प्रतिशत रकम उनीहरुले नै लैजाने गरेको बताए।

‘७५ प्रतिशत रकम उनीहरुले नै लैजान्छन्, बाँकी ७५ प्रतिशत रकमको पनि अनुसन्धानका लागि केही संयोजन छैन,’ उनले भने।

उनले विकसित देशमा कूल गार्हस्थ उत्पादनको २ प्रतिशत रकम अनुसन्धानमा खर्च गर्ने गरिएको उल्लेख गर्दै नेपालमा भने पूर्वाधारमै रकम माग गर्ने गरिएको बताए।

‘जीडीपीको यति प्रतिशत रकम विकासका लागि चाहियोमात्रै भनिन्छ, कुनै पनि निकायले हालसम्म अनुसन्धानका लागि यति बजेट चाहियो भनेर भनेका छैनन्,’ उनले भने।

‘तथ्य र प्रमाण अनुसन्धानबाटै आउँछन्, तर कुनै अनुसन्धान नहुने गरेकाले आएका योजना तथ्यअनुरुप छन् कि छैनन् भनेर हेर्ने सामथ्र्य हामी राख्दैनौं,’ डा शर्माले भने।

हाल नेपाल श्रीलंकाजस्तै हुन लागेको भन्ने गरिए पनि त्यो कुनै तथ्यअनुसार नभनिएको उल्लेख गर्दै उनले यसबारे अनुसन्धान गरिएको भए अर्कै तरिकाबाट मिडियामा आउने बताए।

राष्ट्रिय अनुसन्धान प्रतिष्ठान बनाउन भनेर प्रस्ताव तयार भए पनि कस्तो मानिसले त्यसको नेतृत्व गर्ने भनेर तय नहुँदा प्रस्ताव नै धेरैपटक फेर्नु परेको उनको भनाइ थियो। अनुसन्धानका लागि एकीकृत नीति हुनुपर्ने उनले बताए। हाल नेपालमा विभिन्न मन्त्रालयअन्तर्गत अनुसन्धानहरु हुने भएपनि ती सबै आ–आफ्ना स्वार्थअनुसार हुने गरेको र व्यवस्थित नभएको सम्मेलनका सहभागीहरुको भनाई छ।



Leave a Reply

Your email address will not be published.